सम्पादकीय

कृपया युद्ध रोक !

सुन्नुहोस्

के राज्यहरूको जन्म नै युद्ध गर्न र मान्छे मार्न भएको हो ? के संसारको हरेक मान्छे उत्तिकै अधिकार प्राप्त भगवानको सिर्जना हैन ? के मान्छे यति सस्तो चिज हो कि राज्यले, राजनीतिले, सन्काहा शासकले, युद्ध सरदारहरूले सजिलै मार्न मिल्ने ? मारिदिन सक्ने ? यही हो मानवता ? यही हो धर्म ?

नेपालभ्युज

कृपया युद्ध रोक !

रुस-युक्रेन युद्ध समाप्त नहुँदै अर्को युद्ध भड्किएको छ, इजरायल–प्यालेस्टाइन । युद्धको ४ दिनभित्रै दुवैतर्फ गरी झण्डै दुई हजारको मृत्यु भइसकेको छ । ५ हजारभन्दा धेरै घाइते भएका छन् । गाजापट्टी क्षेत्रबाट लाखौं मानिस विस्थापित हुँदै छन् । निरन्तरको रकेट तथा हवाई आक्रमणले आवास र भौतिक पूर्वाधारको ठूलो विनाश भएको छ ।

युक्रेन युद्ध लम्बिँदै जाँदा त्यसका दुष्परिणामले विश्वलाई नै प्रभावित गरिरहेको थियो । सिंगो विश्व युक्रेन–युद्धको पक्ष र विपक्षमा ध्रुवीकृत भयो । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले रुसी आक्रमणविरुद्ध प्रस्ताव पारित गर्‍यो । तर, चीन, भारतजस्ता ठूला र शक्तिशाली देश त्यसमा सामेल भएनन् । भारत युक्रेन युद्धमा तटस्थ जस्तो देखियो, तर चीनले भित्रभित्रै रुसलाई नै समर्थन र सहयोग गर्‍यो ।

विश्व समुदायको यस्तो व्यवहारले एक गम्भीर प्रश्न खडा गर्दछ । त्यो के भने–राष्ट्रहरूको सार्वभौमसत्ता भनेको के हो ? किन र के कारणले राष्ट्रहरूको जन्म भएको हो ? किन राज्य बनेका हुन् ? के युक्रेन एक सार्वभौम देश थिएन ? यदि, थिएन भने हिजो विश्वका सबै देशले उसको सार्वभौमसत्तालाई मान्यता किन दिएका थिए ? यदि, युक्रेन सार्वभौमसत्ता सम्पन्न देश हैन भने बाँकी को हुन् ? को हैनन् भन्ने मानक के हो ?

यदि, युक्रेन एक सार्वभौमसत्ता सम्पन्न देश थियो भने रुसले युक्रेनमाथि आक्रमण गर्ने अधिकार राख्थ्यो ? यदि, राख्दैनथ्यो भने विश्व समुदाय विभाजित हुन जरुरी थियो ? युक्रेन युद्ध करिब दुई वर्ष पुग्न लागेको छ । तर, अहिलेसम्म कुनै निकास देखापरेको छैन । यति लामो र अमानवीय युद्ध किन र केका लागि ?

राजनीतिक शक्ति सन्तुलन र ध्रुवीकरणको पाटोलाई छोडेर हेर्ने हो भने युक्रेन युद्धले पुर्‍याएको आर्थिक तथा मानवीय क्षति भयावह देखिन्छ । दुवैतर्फ गरी ५ लाखभन्दा बढी सेना र सर्वसाधारणको मृत्यु भएको छ । करोडौं मानिस शरणार्थी भएका छन् ।

विश्वव्यापी रूपमा महँगी बढेको छ । आर्थिक मन्दी छाएको छ । धेरै देशका अर्थतन्त्र संकटमा परेका छन् । खाद्य तथा ऊर्जा संकट चुलिएको छ । एक अनिश्चित विश्व, पूर्वानुमान गर्न नसकिने अस्थीर र भद्रगोल विश्व सबैका सामु स्थिर छ । यसबाट कसलाई खै के फाइदा भयो ? स्वयं रुसलाई के फाइदा भयो ? कसैलाई फाइदा नहुने शर्तमा यति ठूलो नोक्सानी मानव जति र सभ्यताले कसका लागि भुक्तान गरिरहेको हो ?

एउटा युक्रेन युद्ध नै भारी भइरहेको थियो सिंगो विश्वलाई । अब इजरायल–प्यालेस्टाइन युद्ध थपिएको छ । सबैलाई थाहा छ कि, इजरायल–प्यालेस्टाइन द्वन्द्व र संघर्ष दशकौं मात्र हैन, शताब्दी लामो हो । यसका जरा यसको इतिहासमै अन्तर्निहित छन् । जसका नाममा वालफोर घोषणा यताका १०६ वर्षमा, इजरायल स्थापना यताको ७५ वर्ष दर्जनौं साना–ठूला युद्ध भए । जसरी ती युद्धले कुनै परिणाम दिएनन्, समस्यालाई थाँती राखेर लम्ब्याए मात्र, त्यसैगरी यसपटकको युद्धले पनि कुनै परिणाम दिने छैन । त्यसो भए युद्ध केका लागि ? धनजनको अनावश्यक क्षति केका लागि ? भूराजनीतिक ध्रुवीकरण र अर्थतन्त्रको तवाही केका लागि ?

के राज्य र राजनेताहरूको धर्म यही हो ? के राज्यहरूको जन्म नै युद्ध गर्न र मान्छे मार्न भएको हो ? के संसारको हरेक मान्छे उत्तिकै अधिकार प्राप्त भगवानको सिर्जना हैन ? के मान्छे यति सस्तो चिज हो कि राज्यले, राजनीतिले, सन्काहा शासकले, युद्ध सरदारहरूले सजिलै मार्न मिल्ने ? मारिदिन सक्ने ? यही हो मानवता ? यही हो धर्म ?

धर्म केका लागि ? विनाशका लागि ? झगडाको अन्तहीन तथा सदावहार बिउका लागि ? के फरक धार्मिक समुदायले एक-अर्काबीच झगडा, लडाइँ वा युद्ध गर्नै पर्छ ? यदि, त्यसो हो भने शान्तिपूर्ण विश्व कहिले बन्छ ? स्थिर विश्व कहिले आउँछ ?

यो सत्य हो कि, पश्चिम एसियाका धेरै देशमा इस्लामिक कट्टरतावादको लामो परम्परा छ । राज्य–राज्य बीचको द्वन्द्व, संघर्ष वा युद्ध भनिए पनि त्यसको अन्तर्यमा धार्मिक तथा सामुदायिक कट्टरताको भावना नै बलियो देखिन्छ। मुस्लिम ब्रदर्स हुड, हिज्जबुल्लाह, अलकायदाजस्तो संगठनले अरब जगतको अतिवादीकरणमा भूमिका खेल्दै आएका छन् ।

तर, यसको अन्तिम परिणाम स्वयं अरब जगतकै लागि सकारात्मक छैन । सिरिया र इराक दशकौंदेखि बेहाल छन् । अफगानिस्तान र यमनले ठूलो द्वन्द्वको सामना गर्नु परिरहेको छ । इजिप्टको राजनीति कहिल्यै स्थिर हुन सकेको छैन । केही समयका लागि मोहम्मद मुर्सी आए पनि उनले अपदस्थ हुनुपर्‍यो । इरानको धार्मिक सत्ता मानव तथा महिला अधिकारका लागि सर्वथा चुनौतीपूर्ण बनेको छ । इस्लामिक धार्मिक कट्टरतावादको राजनीतिले अरब जगतका धेरै देशलाई बाँकी विश्वबाट अलग-अलग मात्र गरेको छ, त्यसले स्वयं ती देश र जनतालाई कुनै फाइदा भएको छैन ।

यो पनि उत्तिकै ठूलो सत्य हो कि, यहुदी समुदाय विश्वमै सर्वाधिक अपमान, पीडा, दमन र नरसंहारको सामना गरेको समुदाय हो । दोस्रो विश्व युद्धमा मात्र नाजी जर्मनले ६० लाखभन्दा बढी यहुदीको सुनियोजित हत्या गरेको थियो । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने यो नरसंहारका लागि मुस्लिम बहुल राज्य जिम्मेवार थिएनन् । नाजी पार्टी कुनै इस्लामिक पार्टी नभएर फाँसीवादी थियो । हिटलर क्रिश्चियन धर्म मान्थे, तर आर्य नश्लको सर्वोत्कृष्टता चाहन्थे ।

जेरुसेलम वरपर यहुदी समुदायको बसोवास संकेन्द्रण भएको आज हैन, अटोमान साम्राज्यकै पालादेखि हो । उनीहरूले त्यो बन्जर मरुभूमिलाई एक स्वर्गजस्तो देश बनाए । त्यसमा उनीहरूको रगत, पसिना र ज्ञान विज्ञानको अभूतपूर्व सिंचन छ । स्थापनाको ७५ वर्षमा एउटा सानो देश र जनसंख्याले जे-जस्ता उन्नति गरेको छ, त्यो इजरायल र यहुदीहरूको मात्र हैन, मानव जातिकै एक नमुना हो । तर, यसको अर्थ इजरायलले प्यालेस्टाइनी संवेदनशीलतालाई अस्वीकार गर्न मिल्दैन । प्यालेस्टाइन एक सानो र कमजोर राज्य अवश्य होला तर त्यसमाथिको आक्रमण वा अत्याचारले सिंगो अरब जगतलाई उत्तेजित गर्दछ । फलतः सिंगो विश्व नै ध्रुविकृत हुन पुग्दछ । प्यालेस्टाइनको समर्थनमा तेहरान, अंकारा र इस्तानबुलमा मात्र हैन, लन्डन, न्युओर्क र वासिङगटनमै नाराजुलुस हुन थाल्दछन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पछिल्लो समयमा आन्तरिक राजनीतिमै विवादास्पद हुँदै गएका थिए । आन्तरिक राजनीतिका समस्यालाई ओझेल पार्न उनले प्यालेस्टाइनमाथि जुन कुनै बेला हमला गर्ने, सम्पूर्ण वेस्ट बैंक र गाजापट्टीलाई इजरायलमा मिलाउने र जेरुसेलमलाई विभाजित गर्ने धम्की दिँदै आएका थिए । प्रधानमन्त्री नेतान्याहूका यस्ता अभिव्यक्तिले पनि हमासलाई उत्तेजित गरेको हुन सक्दछ ।

त्यो भिन्नै कुरा हो कि, यसपटक हमासले पहिले आक्रमण गर्‍यो । गाजा क्षेत्रमा सन् २००७ यता हमासको नियन्त्रण थियो । तर, वेस्ट बैंकको इस्लाम समुदायले पनि हमास आक्रमणको विरोध गरेन । यसले के देखाउँछ भने यो समग्र प्यालेस्टाइनी मनोविज्ञान हो, केबल हमासको मात्र कुरा हैन ।

प्यालेस्टाइन र इजरायल दशकौं लामो विवाद र बेला-बेलाका युद्धमा फस्नुभन्दा वार्ता र संवादमार्फत् कुनै शान्तिपूर्ण सम्झौतामा पुग्नु उचित हुन्छ । अमेरिकालगायत बाँकी विश्वले पनि इजरायललाई यसतर्फ प्रेरित गर्नुपर्दछ । अरब लिगले हमासलाई शान्ति र स्थिरताका लागि प्रेरित गर्न सक्दछ ।

रुस- युक्रेन होस वा प्यालेस्टाइन–इजरायल युद्ध, । यसको पराकाष्ठा र नियति मानव जातिले यस अघिका दुई ठूला विश्व युद्धमै भोगिसकेको छ । त्यसको पुनर्परीक्षण गर्न जरुरी छैन । त्यसैले, युद्ध रोक्नैपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved