सर्वकालीन सभामुख : अन्तिमसम्म सक्रिय रहे, शानले अस्ताए

संविधानसभा अध्यक्षको हैसियतमा संविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिकालाई भावी पुस्ताले संविधानको आलोकमा नै स्मरण गर्नेछ। उनको ‘आइकनिक’ जस्तो लाग्ने सभामुखको व्यक्तित्वको प्रशंसा चीरकालसम्म भइराख्नेछ।

सर्वकालीन सभामुख : अन्तिमसम्म सक्रिय रहे, शानले अस्ताए

काठमाडौं। दोस्रो संविधानसभाले ६ महिना २२ दिन काम गरेपछि नयाँ संविधान निर्माणको काममा उल्झन आयो।  राजनीतिक घटनाक्रम ‘रिभर्स’ हुँदै २०६९ जेठ १ को विन्दुमा पुग्यो। जबकि, त्यतिबेला शीर्ष नेताहरूले संविधान लेख्ने काम ९० प्रतिशत सकिएको दाबी गर्दथे।

तर, अवस्था दलहरूले दाबी गरेभन्दा फरक भयो । पहिलो संविधानसभामा राज्यको पुनर्संरचना, शासकीय स्वरूप, न्याय र निर्वाचन प्रणालीजस्ता मूलभूत राजनीतिक विवाद समाधान भएका थिएनन्।

दोस्रो संविधानसभाले त्यही यक्ष प्रश्नमा सहमति होइन सम्झौता खोजिरहेको थियो। अघिल्लो विघटित संविधानसभाको सहमतिको असफल प्रयासबाट पाठ सिक्दै !

२ जेठमा आफैँले हस्ताक्षर गरेको सहमतिबाट माओवादी पछि हटेको थियो। एमाले अर्को अडानको रटानमा थियो। कांग्रेसको धारणा फरक थियो भने मधेसवादी र पहिचानवादी दलको आफ्नै लाइन थियो। सभाबाहिर स्वार्थ समूहहरूको चौतर्फी विरोध थियो।

पटक-पटकको म्याद थप्दा पनि पहिलो संविधानसभाको जहाज डुबिसकेको थियो । दोस्रो संविधानसभाको हालत पनि त्यही त हुँदैन भन्ने खतरा थियो। सधैंको दलीय द्वन्द्वमा ‘सहमति, हुनुपर्छ र सहमतिको विकल्प छैन’ भनिरहन्थे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ।

नेम्वाङले सम्भवतः सबैभन्दा धेरै दोहोर्‍याउने शब्द थियो– ‘सहमति’। उनको त्यो भनाइलाई कतिपयले सभामुखको कमजोरी भन्दै आलोचना पनि गर्थे।

संविधान लेखनका हरेक बुँदामा दलहरूबीच नयाँ–नयाँ द्वन्द्व जन्माइरहेको त्यो जटिले परिस्थितिमा सभाध्यक्ष नेम्वाङकै ‘सहमति’को रटानले काम गर्‍यो। समन्वय र सहकार्यको कुरा तब परिणाममुखी भयो, जब उनले दलहरूबीच समझदारी गराएर एक ठाउँमा ल्याउन सफल भए।

संविधानसभामा चर्को बहसमा भएका अरू विषयहरू न्यायप्रणाली, नागरिकता, राज्यको शासकीय स्वरूप निर्धारण, निर्वाचन क्षेत्र निर्धारणमा जनसङ्ख्या कि भूगोललगायतका विषयमा तमाम विमति थिए। त्यसमा पनि ‘सँगै बसेर छलफल गरौँ’, ‘सहमति गरौँ,’ भन्नु पनि चानचुने काम थिएन। त्यो चुनौतीपूर्ण काम गरेका थिए, सभाध्यक्ष नेम्वाङले।

शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण पक्ष माओवादी लडाकुको व्यवस्थापन र समायोजन लगायतको विषयले सदनलाई जुनसुकै बेला तरङ्गित बनाउन सक्थ्यो। त्यसलाई सहजरूपमा सम्हालेर थेग्राउन सफल भएका थिए नेम्वाङ ।

संविधान निर्माणमा उनको समन्वयकारी भूमिका त्यति मात्रै थिएन। दोस्रो संविधानसभामा उनको सक्रियता पहिलेभन्दा बढ्ता थियो। सभासद्हरूलाई भन्ने उनको एउटै उक्तिले दबाब दिन्थ्यो, ‘‘विदेश नजाऊ, जिल्ला नधाऊ। संविधानमा ध्यान लगाऊ।’’

नेम्वाङले दलहरूलाई कहिले फर्काए, कहिले धम्क्याए। ‘सहमति नभए संविधानसभाको प्रक्रिया नियमानुसार अगाडि बढाउने’ चेतावनी दिन्थे।

नयाँ संविधान दिने राजनीतिक प्रतिबद्धता पूरा गर्न नेतृत्वदायी भूमिकाका निम्ति सांसदहरूलाई दबाब मिल्थ्यो। यो सूत्रले काम गरेपछि संविधान निर्माण प्रक्रियाले स्पिड लिएको थियो।

फलत: ३ असोज २०७२ मा संविधान जारी हुन सफल भयो। नेपाली राजनीतिको त्यो मुद्दा, जसले ६ दशकपछि मूर्तरूप लिन सफल भयो।

०००

प्रत्येक मानिसले बाँचेको समय नै उसका लागि एउटा युग हुन्छ । त्यो युगलाई पूर्ण र अपूर्ण कसरी छोड्यो भन्ने व्यक्तिमा निर्भर रहन्छ । सभाध्यक्ष नेम्वाङको हकमा भन्ने हो भने उनले संविधान निर्माणमा निर्बाह गरेको भूमिकाले नै त्यसको मापन गर्छ, जसमा उनी सफल भएका छन् ।

उनी कुनै ‘लिगेसी’ वा ‘विरासत’बाट होइन, क्षमताका आधारमा स्थापित भएका हुन्। निर्वाचन क्षेत्रका जनताको समर्थनका साथ अविराम पाँचपटक सांसदमा निर्वाचित भएका नेता हुन्।

नेम्वाङको बारेमा सम्झिने धेरै प्रसङ्ग छन्। तर, इतिहासले सम्झिरहने उनको सबभन्दा ठूलो योगदान संविधानसभाको त्यही नेतृत्व हो। संविधानसभामा भएका बहुरूपी र बहुमुखी दलहरूलाई एकै कित्तामा मिलाउन भगीरथ प्रयत्नको संयोजन गर्नु नै थियो। संविधान बनाएर जारी गर्ने ‘अर्जुन दृष्टि’ मा लागिरहेका थिए।

तीनै संविधानसभा सदस्य नेम्वाङले आफ्नो लौकिक यात्रा मध्यरातमा बिसाएर महाप्रस्थान गरे। करिब पाँच दशक नेपाली राजनीतिमा बिताएका नेम्वाङ मात्रै त्यस्ता पात्र हुन् जसलाई कम्युनिस्ट मात्र नभइ कांग्रेस र अरू राजनीतिक धारका राजनीतिज्ञ-अगुवा समेतले शिर निहुराउँछन्।

सिङ्गो राष्ट्र तथा नेपाली समाजले अपार श्रद्धा र कृतज्ञता जनाउँदै उनको बिदाइ गर्ने क्रम जारी छ।

सुवासिलो राजनीतिक योगदान

नेम्वाङले चार कार्यकाल संसद्को नेतृत्व गरेका थिए। सभामुखका रूपमा उनको पहिलो कार्यकाल २०६३ वैशाखदेखि २०६३ को माघसम्म थियो।

दोस्रो कार्यकाल २०६३ माघदेखि २०६५ साल जेठसम्म थियो। त्यसबेला उनी पुनर्स्थापित संसद्को सभामुख बनेका थिए। तेस्रो र चौथो कार्यकाल उनले संविधानसभा अध्यक्षका रूपमा संसद्को नेतृत्व गरेका हुन्।

उक्त भूमिकामा उनी २०६५ साल साउनदेखि २०६९ साल जेठसम्म थिए। दोस्रो सभामा २०७० साल फागुनदेखि २०७२ सालको असोजसम्म रहेको थियो।

समन्वयकारी छवि भएकै कारण नेम्वाङले दुई–दुई पटक संविधान सभाको अध्यक्ष हुने मौका पाए, त्यो पनि सर्वसम्मतिमै। त्यो अवसर आफैँमा ऐतिहासिक थियो। अरू पदजस्तो नभइ कहिल्यै ‘पूर्व’ अर्थात् विगत नहुने संविधानसभा अध्यक्ष उनका निम्ति चीर स्थायी पद बनेको छ।

उनी मन्त्री पनि नबनेका होइनन्। विसं २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा उनी कानुन, न्याय तथा संसदीय मामिला राज्यमन्त्री पनि थिए। पछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बने। तथापि, उनले मन्त्रीभन्दा सभामुख हुँदा बढी सम्झिनयोग्य काम गरेको चर्चा हुने गर्छ।

अझ भुल्न नहुने कुरा नेम्वाङ तिनै व्यक्ति थिए जो सार्वजनिक लेखा समिति सभापति बन्दा सरकारको अनियमिततामा धावा बोलेका थिए। ०५६ को चुनावपछि उनी संसद्को सार्वजनिक लेखा समिति सभापति बनेका थिए। तत्कालीन बहुमतका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लाउडा विमान प्रकरणमा आच्छुआच्छु पार्ने नेम्वाङ नै थिए।

उनी २०५६ सालयता अविराम इलाम २ बाट चुनाव जित्दै आएका थिए। विसं २०४८ यता उनी दुईपटक राष्ट्रिय सभामा निर्वाचित भएका थिए। २०५६ यताका पाँचवटै चुनावमा निर्वाचित बने। विसं २०५६ मा उनी संसद्को लेखा समितिको सभापतिमा निर्वाचित भएका थिए। गतवर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी इलाम–२ बाट निर्वाचित भए। एमालेको लागि पनि यी अवसर ऐतिहासिक गौरवका विषय हुन्।

उनले मृत्युपछि पनि सदा बाँचिरहने योगदान दिएका छन्। असल संस्कृतिको जगमा भेटिने नेम्वाङको राजनीतिक योगदान सुवासिलो छ। एमालेकै नेताहरूमा अशिष्ट र हिंस्रक राजनीतिक दाउपेच बढ्दै जाँदा उनमा रचनात्मकता थियो।

उनी बहुआयामिक व्यक्ति हुनाले राजनीतिक, प्राध्यापक र कानुन व्यवसायीसमेत थिए। उनले राष्ट्रलाई लगाएको गुन र उनको योगदानको कदर गर्दै सरकारसँगै अनेक संस्थाबाट सम्मानित र पुरस्कृत भएका थिए। राज्यले उनलाई संविधानसभा पदक र राष्ट्र गौरव पदकबाट सम्मानित गरेको थियो।

सभामुखको ‘आइकनिक’

राज्यमन्त्री, मन्त्री तथा संसदीय समितिका सभापति बनिसकेका नेम्वाङ सभामुख तथा संविधानसभा अध्यक्ष पनि भए। उनका निम्ति उक्लिनका निम्ति दुईवटा ठूला राजकीय पद मात्रै बाँकी थिए– एक प्रधानमन्त्री, अर्को राष्ट्रपति। यी पदमा पुग्न भने उनलाई मौका जुरेन।

प्रधानमन्त्रीको उम्मेदवारको विकल्पको रूपमा हेरिएको उनलाई राष्ट्रपतिमा उम्मेदवार बनाइएको थियो। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा उनले गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग हार व्यहोरे।

जे होस्, संविधानसभा अध्यक्षको हैसियतमा संविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिकालाई भावी पुस्ताले संविधानको आलोकमा नै स्मरण गर्नेछ। उनको ‘आइकनिक’ जस्तो लाग्ने सभामुखको व्यक्तित्वको प्रशंसा चीरकालसम्म भइराख्नेछ।

निर्मम तर सत्य– नेम्वाङको महाप्रस्थान भइसक्यो। उनी जति बाँचे– सक्रिय बाँचे, सार्थक बाँचे । र उनले राष्ट्रका लागि पुर्‍याएका अतुलनीय योगदान पनि सधैं बाँचिरहनेछन् । हामी सम्झिरहनेछौं ।

सर्वकालीन सभामुखको महायात्रा ‘सुगम’ रहोस्। सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved