अब असल संसदीय अभ्यास कसले सिकाउँछ ?

अदालतले ‘संसद् विघटन असंवैधानिक’ भनेर फैसला सुनाएपछि उनले भने- यो असंवैधानिक नै थियो, तर बाध्यता आइलाग्यो । यद्यपि मैले प्रधानमन्त्रीजीलाई नगरौँ भनेर सल्लाहचाहिँ दिएकै थिएँ ।

नेपालभ्युज

अब असल संसदीय अभ्यास कसले सिकाउँछ ?

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ व्यवस्थापिकामा एक अब्बल नाम हो । संविधान, कानूनको पालनामा उनी सधैँ दृढतापूर्वक उभिन्थे ।

प्रधानमन्त्रीको हैसियतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई ‘अपवाद’ मान्ने हो भने संविधान, कानूनको पालनामा पनि उनी त्यति चुकेनन् । त्यसबारे पत्रकारहरूले सोधिरहँदा उनले भन्ने गर्थे— यसबारे अदालतले फैसला सुनाएको दिन बोल्छु ।

नभन्दै पछि बोले पनि । अदालतले ‘संसद् विघटन असंवैधानिक’ भनेर फैसला सुनाएपछि उनले भने— यो असंवैधानिक नै थियो, तर बाध्यता आइलाग्यो । यद्यपि मैले प्रधानमन्त्रीजीलाई नगरौँ भनेर सल्लाहचाहिँ दिएकै थिएँ ।

मान्यज्यू अब तपाईं प्रश्नविहीन हुनुभयो, म जवाफविहीन भएँ !

जे होस् नेम्वाङले असल संसदीय व्यवस्था सिकाउँथे, संसदीय व्यवस्थालाई पालना गर्दै नयाँ गर्न प्रयास गर्नेहरूलाई हौसला दिन्थे । पछिल्लो समय पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई हौसला दिइरहन्थे । सुमना श्रेष्ठ, सोविता गौतमलगायतले गरेको मेहनत (अध्ययन) को प्रशंसा गरिरहन्थे ।

त्यसो त जुनसुकै दलबाट निर्वाचित सांसदहरू होऊन्; उनी संसदीय अभ्यास, विधि, पद्धति र प्रक्रिया सिकाउन अग्रसर हुन्थे । संसदीय अप्ठ्यारो आइपर्दा सभामुखहरूले समेत उनैलाई सोध्थे । पूर्वसभामुखहरू ओनसरी घर्तीमगर, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा लगायतले नेम्वाङसँगै कतिपटक संसद्‌भित्रै अनौपचारिक छलफल गरेका छन् । सल्लाह-सुझाव मागेका छन् ।

उनका सल्लाह-सुझावले कतिपय संसदीय अवरोध हटेका सत्य हुन् । क्वीन्टल सुन प्रकरणलाई लिएर पछिल्लोपटक उनकै दल नेकपा (एमाले) ले गरेको संसद् अवरोधलाई पनि ‘कानूनसङ्गत छैन’ भनेर भनेका थिए ।

जे होस्— उनी संविधान र कानूनको पालनामा तलमाथि हुनुहुन्न भन्ने धारणा राख्थे । राजनीतिक दलको अङ्कुशमा नपर्ने हो भने उनी यो मामिलामा एक इञ्च पनि तलमाथि हुनुहुन्न भन्ने मान्छे भने पक्कै हुन् ।

सर्वकालीन सभामुख : अन्तिमसम्म सक्रिय रहे, शानले अस्ताए

यो कुरा उनकै सहपाठी तथा कांग्रेस नेता राधेश्याम अधिकारी स्वीकार्छन् । उनी नेम्वाङ व्यवस्था बलियो बनाउन सधैँ लागिरहने नेता भएको बताउँछन् ।

“उहाँले आफ्नो ठाउँबाट सधैँ कसरी संसदीय व्यवस्थालाई बलियो बनाउने, कानूनी व्यवस्थालाई कसरी बलियो बनाउने भनेर नै भूमिका खेल्नुभयो । संविधान, कानून मिच्नुहुन्न भन्नेमा उहाँ सधैँ स्पष्ट हुनुहुन्थ्यो । कहिलेकाहीँ राजनीतिक फन्दामा परिन्छ, राजनीतिक व्यक्ति भएपछि । यसलाई कसरी स्वीकार्ने, व्यक्तिपिच्छेका कुरा हुन्,” अधिकारी भन्छन् ।

संसद्‌को सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका एमाले नेता ऋषिकेश पोखरेल नेम्वाङको निधनबाट राष्ट्रले अपूरणीय क्षति बेहोर्नुपरेको बताउँछन् ।

“उहाँको निधनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र असल संसदीय अभ्यासमा राष्ट्रले अपूरणीय क्षति बेहोरेको छ । यो निकै दुखद् कुरा हो । यसले राष्ट्रलाई क्षति गरेको छ,” पोखरेल भन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved