आलेख

वैकल्पिक शक्ति र नागरिक पलायनको समस्या

विकासका नाममा अंग्रेजी माध्यमबाट पढाइयोस् वा इन्टरनेटको सुविधा गाउँ-गाउँ पुर्‍याइयोस्, बनेका बाटा हुन् वा एयरपोर्ट यी सबैले नागरिकलाई देश छोड्न सहज बनाएका छन् । अनलाइनबाट पुलिस रिपोर्ट भरिने व्यवस्था गरियोस् वा नो अब्जेक्सन लेटर दिने व्यवस्था नै, यिनले देश छाड्ने प्रक्रियालाई तीव्र बनाउने बाहेक अरू केही हासिल गर्न सकेका छैनन् ।

वैकल्पिक शक्ति र नागरिक पलायनको समस्या

पछिल्लो दशक वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहसमा बितेको छ । यद्यपि, अहिले अवस्था कस्तो छ भने वैकल्पिक शक्ति निर्माण गरौं भन्नेहरूले नै ‘अहिलेसम्म यो किन सम्भव भएन ?’ भनेर उत्तर दिनुपर्ने भएको छ । भन्नुको मतलब वैकल्पिक शक्ति आफैँमा प्रश्न बनेको छ । अब यसको उत्तर नदिई वैकल्पिक शक्ति बन्दैन ।

वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ भन्नेहरूबीचको टुटफुट नै वास्तवमा प्रश्नहरू मध्येको पहिलो प्रश्न हो । भन्नका लागि विचार नमिलेर यस्तो भएको हो भन्न सकिएला, तर छलफल नै नभएको त होइन । मिल्दै जानुपर्ने विचार किन मिलिरहेको छैन ? यसरी त नयाँ शक्ति बन्दैन । वैकल्पिक बहसले अब यसको उत्तर खोज्नुपर्ने भएको छ ।

विचारमा दिवालियापन नेपाली राजनीतिको जुन समस्या छ त्यो वैकल्पिक बहसले पूर्ति गर्न सकिरहेको छैन । देशमा पुराना सिद्धान्तमाथि गहन छलफल गर्न सक्ने न त प्रशस्त विद्वान छन् न त वातावरण नै । वास्तवमा देशलाई नयाँ विचार जरुरी छ । त्यो झन कसरी सम्भव होला ? यो कुरालाई मनन नगरी गरिएको वैकल्पिक बहसमा आफ्नो विचार सोह्रैआना ठीक भन्ने भाव पनि देखिन्छ । त्यसले सहमतिभन्दा विमति बढाइरहेको छ ।

संविधानको कार्यान्वयनका समस्या, आर्थिक परनिर्भरता, सुधार गर्नुपर्ने शिक्षा र स्वास्थ्यको गुणस्तर, विद्यमान जातीय विभेद र भूमिहीनको समस्याजस्ता केही गम्भीर प्रमुख समस्या देशका अगाडि छन् । यी समस्या छन् भन्नेमा कसैको मतभेद पनि छैन । यद्यपि, कुनै पनि पुराना वा नयाँ वा बन्दै गरेका दलहरूले यी समस्या किन हुन् भनेर छलफल गरेको देखिँदैन । प्रसंगमा सबै कुरा गर्ने तर कुनै पनि एजेन्डालाई सफलतामा पुर्‍याउन लगातार प्रयास नगर्ने समस्या छ ।

वास्तवमा यो लेख विकासको स्वदेशी मोडलको अभावलाई नागरिक पलायनको समस्यासँग जोडेर विश्लेषण गर्नका लागि लेखिएको हो । यसरी एक–एक एजेन्डामा कुरा गरेर नयाँ विकासको मोडल वा विचार दिन खोज्नु लामो प्रक्रिया हो । यद्यपि, माथि उल्लेखित चुनौतीका कारण मात्रै होइन पंक्तिकारको क्षमतानुसार पनि एजेन्डामार्फत विचारमाथिको बहस उपयुक्त हुन्छ भन्ने लागेको छ ।

हुन त, सामान्यतः पहिला सैद्धान्तिक परिकल्पना गरेर मुद्दाको निर्माण यसैको दिशानिर्देशअनुसार गरिन्छ । त्यो प्रक्रिया बुझ्न अलि जटिल भएकाले यसलाई सहज बनाउनका लागि पनि मुद्दामार्फत सिद्धान्तको सान्दर्भिकता स्थापना गर्नु उपयुक्त होला । अवश्य पनि यस लेखमा नयाँ राजनीतिक दल वा वैकल्पिक शक्तिले उठाउनुपर्ने ती सबै प्रमुख एजेन्डाको विश्लेषण सम्भव छैन । क्रमशः छुट्टाछुट्टै रूपमा गर्दै गइनेछ । यस लेखमा नागरिक पलायनको समस्यालाई वैकल्पिक विकासको दृष्टिकोणले छोटोमा विश्लेषण गरिने छ ।

वैकल्पिक मोडल भनेको के हो ?

वैकल्पिक विकासको मोडल भनेको नेपालका पुराना बाटोघाटो तथा पाटीपौवा र चौतारीको पुनर्निर्माण मात्रै होइन । अवश्य पनि पुरानो ढाँचाका घर, स्वादका खाना र रूपका कपडाको नवीकरण जरुरी छ । यद्यपि, त्योभन्दा महत्त्वपूर्ण गर्नुपर्ने कुरा के छ भने स्थानीय परिचय बोक्ने, यहीको जलवायु र आवश्यकता अनुसारका ‘हाम्रा’ ज्ञान र सीपका आधारहरू किन नष्ट भए ? यो प्रश्नको जवाफ खोज्नुपर्नेछ । अन्यथा, न त आत्मसम्मान सम्भव छ न त विकास नै ।

यस पंक्तिकारका अनुसार स्थानीयपन र मौलिकपन हराउनुका प्रमुख दुई कारण छन् । पहिलो, आत्मसम्मानको अभाव हो । स्थानीय समाजले साम्राज्यवाद तथा पुँजीवादको हस्तक्षेपविरुद्ध प्रतिरोध गर्न सकेन । युद्धमा पराजय (सुगौली सन्धी) पश्चात् यस समाजमा नौला मूल्य मान्यता लादिँदै गए । यसरी सयौं वर्ष बित्यो । बन्दुकको डरमा साम्राज्यवादीको गुलामी गरेर टिकेको नेपालको सत्ताले आफ्नो आत्मसम्मान गुमाउनु स्वाभाविक थियो । उक्त परिस्थितिमा साम्राज्यवादी शक्तिले उनीहरूका राम्रा-नराम्रा सबै कुरालाई फैलाउने एकलौटी अवसर पाए भने स्थानीय समाजले आफ्ना उपयोगी कुरा पनि अगाडि बढाउन सकेन ।

बरू साम्राज्यवादको नक्कल गर्दा बाँच्न सजिलो हुने ठानेर आफ्ना सबै छाड्यो र त्यतैतर्फ लाग्यो । यसले नवऔपनिवेशिक मानसिकताको जन्म र विकास गर्‍यो । अहिले पनि कथित विकसित देशले जे गरे पनि राम्रो मान्ने र त्यसैको नक्कल गर्ने चलन नेपालको राजनीतिमा छ । यो हिनताले ग्रस्त मानसिकता हो । यसले आफ्नो कुरामा गर्वसम्म त गर्न सक्दैन भने समृद्ध गर्ने कुरै रहेन ।

यस्तो मानसिकतालाई स्थानीय कुनै कुरा राम्रो छ भने पनि अरूले भनिदिनुपर्दछ । मतलब यो यस्तो मानसिकता हो जसलाई आफैँप्रति विश्वास छैन । वास्तवमा यो समस्या नेपालको मात्रै भने होइन । यो विश्वका अन्य देशमा पनि वैकल्पिक मोडलको विकासका लागि सबैभन्दा ठूलो तगारो बनेको छ । यस मानसिकताका विरुद्ध संघर्ष गर्न नसक्ने राजनीतिले विकल्प दिन सक्दैन । नेपालमा खाँचो यस्तै राजनीतिक शक्तिको हो जसले आफ्नोमा गर्व गर्ने र त्यसलाई समृद्ध गर्न सक्ने ज्ञान, सीप र आत्मविश्वास राख्दछ ।

दोश्रो कारण हो, स्थानीय संस्कृति र परम्पराको समयानुकूल पुनर्व्याख्या नहुनु । जातीय, लैगिंक, क्षेत्रीय लगायतका विभेदमा अल्झेर यो समाजले आफ्नो सम्भावनालाई वास्तविकतामा ल्याउन सकिरहेको छैन । ती समस्याको समाधानका उपाय मात्रै होइन विश्वव्यापी वातावरणीय परिवर्तन, आर्थिक संकट, वर्गीय समस्या तथा बढ्दो युद्धको तनावजस्ता चुनौतीलाई समाधान गर्ने उपाय पनि स्थानीय परम्परागत ज्ञानमा नभएको होइन । अवश्य छन् ।

यद्यपि, त्यसलाई समयानुकूल व्याख्या गर्न सक्ने विद्वानहरू र प्रयोग गर्न सक्ने राजनीतिक नेतृत्वको अभावका कारण यो हुन सकिरहेको छैन । सयौं वर्षंदेखि अहिलेसम्म पुँजीवादको दबाब र नक्कल गर्दै हुर्केको समाजले आफ्ना परम्परागत मूल्य मान्यतालाई पुनर्जागृत गर्न नसक्ने गरी क्षमता गुमाउनु पनि खासै अनपेक्षित भने होइन ।

यी माथि उल्लेखित दुई चुनौतीको समाधान गर्न सके नेपालमा वैकल्पिक मोडलको आवश्यकता किन र यसको विकास कसरी गर्ने भन्ने औचित्य स्थापित हुन सक्दछ । वैकल्पिक विकास मोडलको कुरा गर्दा के कुरामा ध्यान दिनु जरुरी छ भने यो बेलायतको ठाउँमा अमेरिका, अमेरिकाको ठाउँमा जापान वा जापानका ठाउँमा दक्षिण कोरिया अथवा सिंगापुर बनाउने मोडल होइन ।

ती देशहरूको विकास कुनै भन्दाभिन्दै मोडलमा आधारित होइन । यी पुँजीवादभित्र विशिष्ठ रणनीति अपनाएर विकास गरिएका एउटै पाठका उपशीर्षक मात्रै हुन् । यिनको विकल्प खोज्ने मोडल मात्रै वैकल्पिक मोडल हो । वैकल्पिक विकासको मोडलले अहिले विश्वसामु देखिएका चुनौतीको विश्लेषण गर्दै नयाँ संस्कृति र उच्च मानवीय नैतिकताको विकास गर्न सक्नुपर्दछ ।

एजेन्डाको उठान

हुन त, मानिसहरू एक देशबाट अर्को देश र खासगरी पुँजीवादको केन्द्रतर्फ बसाइँ सर्नु यो व्यवस्थाको स्वाभाविक परिणाम हो । पुँजीको केन्द्रीकरणसँगै अवसर र सुविधा पनि केन्द्रीकृत भएपछि यसो हुनु कुनै अचम्म होइन । यद्यपि, नेपालको सन्दर्भमा यो अलि अस्वाभाविक देखिन्छ । वास्तवमा देश छोडि विदेसिने नागरिकको संख्या बढ्दै जानु नेपालका लागि राष्ट्रिय समस्या बनेको छ । नेपालको यो अवस्थालाई हेरेर के पनि भन्न सकिन्छ भने पुँजीवादले राष्ट्र–राज्यहरूलाई कमजोर बनाउँदै लगेको छ ।

वैकल्पिक राजनीतिको कुरा गर्दा के कुरामा हामीले ध्यान पुर्‍याउन जरुरी छ भने राजनीतिमा दल नयाँ र पुरानो यसको नेतृत्वको उमेर र स्थापनाको मिति हेरेर हुँदैन । यो दलले बोक्ने एजेन्डाका आधारमा तय हुने हो । दलले आफू देशका लागि सान्दर्भिक छ भनेर जनतासामु प्रस्तुत गर्न सक्नु नै नयाँ हुनु हो । त्यसकारण नागरिक पलायनको समस्या एक नयाँ राष्ट्रिय समस्या भएकाले यसलाई सम्बोधन गर्न सक्ने दल नै देशका लागि नयाँ दल हो । अर्थात्, आवश्यक दल हो ।

नागरिक पलायनको समस्या गहिरिँदै छ । करिब तीन करोड जनसंख्या भएको देशमा दिनहुँ हजारौं खास गरी युवाले देश छाड्ने प्रक्रिया वर्षौंदेखि चलिरहेको छ । देश छोड्नेको दर, देशको जन्मदर र देशमा नागरिकताको प्रावधान हेर्दा उक्त खाल्डो बढ्दै जाने देखिन्छ । आत्मसम्मानको खोजीमा एकाध व्यक्ति र बुढ्यौली लागेपछि बाध्यताले फर्कने केहीबाहेक सकेसम्म कोही फर्कन चाहँदैन बरू परिवार र सम्पत्ति लिएर जान चाहन्छ ।

पछिल्लो समय विदेसिने प्रक्रिया तीव्र हुनमा नेपालको कथित विकासले भूमिका खेलेको छ । यसलाई ‘दलाल विकास’ भन्न सकिन्छ । किनकि, यसले व्यवसायको नाममा दलाली गर्ने वातावरण बनाएको छ भने नागरिकलाई देश छाड्नका लागि बाध्य पारिरहेको छ । यहाँ नाफामुखी कुनै पेशा छ भने त्यो विदेश पठाउने नै हो । अथवा, अन्य यस्तै प्रकारका ठगी, बेइमानी वा भ्रष्टाचार नै हुन् ।

विकासका नाममा अंग्रेजी माध्यमबाट पढाइयोस् वा इन्टरनेटको सुविधा गाउँ-गाउँ पुर्‍याइयोस्, बनेका बाटा हुन् वा एयरपोर्ट यी सबैले नागरिकलाई देश छोड्न सहज बनाएका छन् । अनलाइनबाट पुलिस रिपोर्ट भरिने व्यवस्था गरियोस् वा नो अब्जेक्सन लेटर दिने व्यवस्था नै यिनले मात्रै देश छाड्ने प्रक्रियालाई तीव्र बनाउने बाहेक अरू केही हासिल गर्न सकेका छैनन् । अवस्था कस्तो छ भने राज्यले सक्दो लगानी गरेर पढाउँछ । उच्च शिक्षा हासिल गर्दै गर्दा वा उक्त उमेरको विद्यार्थीले देश छाडिदिन्छ ।

यसरी विदेसिनकै लागि नै पढाउने भन्ने मानसिकता विश्वविद्यालयमा धुवाँसरी फैलिरहेको छ । कोर्षको डिजाइन पनि अब आर्थिक सहयोगलाई हेरेर र सहयोगकर्ताको स्वार्थानुसार हुन थालेको छ । संक्षेपमा भन्दा अवस्था कस्तो देखिन्छ भने देशमा भएको भनिएको विकासले पनि देशको भलो नभएर विदेशीलाई नै फाइदा गरिरहेको छ । औपनिवेशिक समयमा बेलायतजस्ता साम्राज्यले रेलको निर्माण गरेर उपनिवेशका कुनाकन्दरासम्म पुगी श्रोतहरूको दोहन गर्दथे । नेपालमा भएको विकास पनि त्यही रेलको विकासभन्दा गुणात्मक रूपले फरक देखिँदैन।

किन यस्तो हुन गयो त ? यसको मुखे उत्तर दिन त सकिन्छ – विकासको मोडल नै त्रुटिपूर्ण छ भनेर । यो नयाँ औपनिवेशिक समय भएकाले यस्तो भएको हो भन्न पनि सकिन्छ । जुन विकास भएको भनिएको छ यसको मोडलदेखि आर्थिक श्रोत, प्रविधि र कामदारसम्म विदेशबाट नै आयात गरी गरिएको हो । त्यसकारण यस्तो भएको हो भन्दा पनि हुन्छ । यद्यपि, यस्तो त्रुटिपूर्ण विकास मोडलको विकल्प दिन भने त्यति सहज छैन ।

बाहिर जानेको लर्को देखेर भर्खरै अत्तालिनु जरुरी छैन तर यसको समाधान वा न्यूनीकरणका लागि काम भएन भने यसले भविष्यमा भयानक संकट खडा गर्नेछ । वास्तवमा अहिले नै यसले राष्ट्रका अगाडि ठूलो धर्मसंकट खडा गरेको छ । जस्तो, यो विकासलाई अगाडि बढाउने हो भने झन् छिटो नागरिक पलायन हुने छन् । यदि, नबढाउने हो भने असन्तुष्टि बढ्दै जाँदा राजनीतिक अस्थिरता र हिंसामा देश फस्न सक्दछ । त्यसो भए नेपालले के गर्ने त ? यो प्रश्नको उत्तर वैकल्पिक विकासको मोडलले मात्रै दिन सक्दछ ।

अहिले नेपालमा के भइरहेको छ ?

प्रश्न छ, किन नेपाली देश छोडी कहिल्यै नआउने गरी विदेसिएका छन् ? माथि भनिएजस्तै सजिलो सबैले दिने उत्तर हो देशमा विकास नभएकाले । यो उत्तरले नेपाल पनि अमेरिका जस्तो भए मानिस देश छोडेर जाँदैनन् भन्ने धारणा राख्दछ । अमेरिका जस्तो नभए पनि सिंगापुर वा दक्षिण कोरिया जस्तो भए हुन्छ भन्ने पनि छ ।

उदाहरणका लागि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिन सकिन्छ । माओवादी ‘जनयुद्ध’ गरेका कम्युनिस्ट पृष्ठभूमिका प्रचण्डले नेपाललाई सिंगापुर बनाउने नारा दिएका थिए । एक कम्युनिस्ट नेताले अन्य देशका भ्रष्टचारीको कालो पैसालाई संरक्षण गर्ने ‘ट्याक्स हेभेन’को रूपमा परिचित सिंगापुर जस्तो विकृत पुँजीवादी मोडलको सिको गर्ने कुरा किन गरे होलान् ? पछिल्लो चरणमा उनी अझै विकृत चीनको मोडलतर्फ आकर्षित भएको देखिन्छ । यसले के देखाउँछ भने उनीसँग नेपालका लागि कुनै विकासको उपयुक्त मोडल छैन । सबै कुरा सिको हो । आविष्कार होइन ।

अहिले नेपाली समाजमा एकातर्फ देश कथित सिंगापुरजस्तो नबनेकोमा हिनता छ भने अर्कोतर्फ दलालीका कारण राष्ट्रियताको स्खलन तीव्र भएको छ । यसबीच, मानिसहरू विदेसिनुलाई नै एक मात्र विकल्प देखिरहेका छन् । अहिले नेपालका राजनीतिज्ञहरूले के बुझ्न र बुझाउन जरुरी छ भने बाहिर चिल्ला सडक र अग्ला भवन हेर्दा सिंगापुर पुँजीवादी विकासको एक सफल मोडल हो । तर, के यो मोडल दीर्घकालीन हो ? न्यायिक हो ? वा नेपालका लागि उपयुक्त हो ? के यो मोडलले विश्वव्यापी समस्या जस्तै वातावरणीय परिवर्तन, वर्गीय समस्या, मानसिक रोगको महामारी तथा तीव्ररूपमा समाजबाट अहिंसाको पतनलाई रोक्न सक्छ ? अवश्य पनि सक्दैन । त्यसकारण अब सिंगापुर अनुकरणीय उदाहरण हुन सक्दैन ।

अब के गर्ने त ?

नागरिक पलायनको समस्या गम्भीर छ । नेपालको सन्दर्भमा बहस चलाउने नयाँ वा पुराना प्रायः सबै लेखक, स्तम्भकार तथा राजनीतिज्ञहरूले मोटामोटी यसको एउटै उत्तर दिने गरेको देखिन्छ । जुन प्रसँग समातेर तर्कलाई अगाडि बढाए पनि उनीहरूको उत्तर एकै ठाउँमा गएर सकिन्छ, त्यो हो पुँजीको विकास गर्नुपर्दछ, रोजगारीको सिर्जना गर्नुपर्दछ, त्यो मार्क्सवादी होस् वा उदारवादी उसको उत्तर पुँजीको दुनियाँभन्दा बाहिर छैन । वैकल्पिक विकासको मोडलका लागि पहिला पुँजीको जञ्जिरले बाँधिएको यो बौद्धिकतालाई मुक्त गर्नु आवश्यक छ ।

अर्को काम हो, नागरिक पलायनको यो समस्यासँग जुध्नका लागि पुरानो राष्ट्रवादलाई पुनर्परिभाषित गर्नुपर्दछ । मानिसको आवत-जावत तथा प्रविधिको प्रयोगका कारण इतिहासप्रतिको गर्व एक ढोंग मात्रै देखिन थालेको छ । अब ‘हामी अरूभन्दा महान्’ भने भ्रम कुनै देशका नागरिकले राख्ने स्थिति छैन । पाठ्यक्रममा देशलाई ‘आमा’को संज्ञा दिएर सिर्जना गरिएको भवनाले अबको समयमा काम गर्दैन । यसरी, लाखौं युवा जीविकोपार्जनका लागि कथित विकसित भन्ने देशमा जाने भएपछि देशको राष्ट्रियता कति कमजोर भएको होला ? वास्तवमा स्थिति यस्तो छ भिसा मिले अघिकाशं मानिस देश छोड्न तयार छन् ।

अबको राष्ट्रवाद वैज्ञानिक, मानवीय, वैश्विक मान्यताका आधारमा विकास गर्नुपर्दछ । नेपालले आफ्नै नागरिकलाई राज्यविहीन बनाउने कि संसारमा राज्यविहीन भएका वा विविध कारण उक्त राज्य छोड्न चाहने मानिसहरूलाई स्वागत गर्ने ? यो विषयमा गम्भीर भएर सोच्न जरुरी छ । देशबाट युवा पलायन भइरहेका छन् भने त्यसको परिपूर्ति यहाँ कसरी भएको छ ? अवश्य पनि त्यसको परिपूर्तिका लागि नेपालले विदेशीलाई नागरिकता लिनका लागि प्रोत्साहन गर्नुपर्दछ । नागरिकता चाहने सबैलाई दिन सक्ने नेपालको अवस्था छैन । यसको आफ्नै मापदण्ड हुन सक्छ । नेपालले चाहँदैमा दक्ष र पढेलेखेको मानिस बाहिरबाट आउने अवस्था पनि छैन । त्यसका लागि उपयुक्त वैकल्पिक विकासको मोडल र सही नीति अपनाइनुपर्दछ ।

नेपालले पुँजीवादका औजार प्रयोग गरेर पुँजीवादसँगै प्रतिस्पर्धा गर्न सक्दैन र आवश्यक पनि छैन । आफ्नो पहिचानको निर्माणका लागि पुँजीवादी मोडलको अनुशरण गरेर त्यो सम्भव पनि छैन । बरू नेपालले पुँजीवादबाट मुक्ति चाहने मानिसका लागि उपयुक्त वातावरण सिर्जना गर्न सक्दछ । उदाहरणका लागि अमेरिकामा वर्षमा ५० हजार मानिसको बन्दुकका कारण मृत्यु हुन्छ । नेपाललाई कोही पनि नागरिकले बन्दुक नराख्ने वा बन्दुकरहित देशका रूपमा अगाडि बढाउदा त्यस बन्दुक आतंकबाट मुक्ति चाहने मानिस नआउलान् ? अवश्य पनि एक कारणले मात्रै मानिस आउँदैनन् । अन्य क्षेत्रमा पनि यस्तै काम गर्नुपर्दछ नै ।

नयाँ राष्ट्रियताको वैज्ञानिक तवरले निर्माण गर्नुपर्ने भएपछि नेपालीले आफ्नो पहिचानको निर्माणका लागि इतिहासलाई कोट्याएर हुँदैन सिर्जना र श्रम गर्नुपर्ने हुन्छ । के सबै नेपालीका घर तरकारीमा आत्मनिर्भर हुन सक्छन् ? के देशले पूर्णरूपमा आत्मनिर्भर भनेर पहिचान निर्माण गर्न सक्दैन ? अवश्य सक्छ । यद्यपि, देश आत्मनिर्भर हुन नसकेको बेलामा प्रत्येक घर कसरी आत्मनिर्भर हुन सम्भव छ ? प्रश्न उठाउन सकिन्छ । यद्यपि, यो प्रश्नले के भुलेको छ भने धेरै घर आत्मनिर्भर नभएका कारण नै राष्ट्र परनिर्भर भएको हो ।

अन्त्यमा,

देशमा वैकल्पिक शक्तिको निर्माण गर्नुपर्दछ भन्ने बहस उठेको धेरै भयो, तर उक्त प्रयासका विपरीत रातारात जस्तो गरी प्रियतावादीहरूको उदय भएको छ । अब वैकल्पिक शक्ति निर्माणको चुनौती पुराना दल मात्रै होइनन्, बरु नयाँ विचारविहीन निराश र क्रोधितहरूको भिड पनि हुन गएको छ ।

वर्तमानमा विश्वका चुनौतीलाई विश्लेषण गर्दै आफ्नै पहिचान निर्माण गर्नसक्ने विचार तथा योजनाविनाको राजनीतिक शक्तिले देशलाई निकास दिन सक्दैन । जस्तो नागरिक पलायनको समस्या नेपालको मात्रै होइन । यो विश्वव्यापी समस्या पनि हो । तर, नेपालले यसको समाधानका लागि आफ्नो विशिष्ठ विकासको मोडल विकास गर्नुपर्दछ । त्यसतर्फ ठोस कदम उठाउन नसक्ने शक्ति वैकल्पिक बन्न सक्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved