उद्धार गरेर धेरैको ज्यान बचाएकी सशस्त्र प्रहरीकी उषा, जो दुर्घटनामा आफैँ बाँचिनन्

विभिन्न घटनामा उद्धारमा खटिएर उषाले जोखिममा रहेको धेरैलाई उद्धार गरिन्। ज्यान नै जान सक्ने खतरामा रहेका कतिपयलाई पुनर्जन्म नै दिलाइन्। विडम्बना तीनै उषा जो आफैँ दुर्घटनाबाट भने बाँच्न सकिनन्।

नेपालभ्युज

उद्धार गरेर धेरैको ज्यान बचाएकी सशस्त्र प्रहरीकी उषा, जो दुर्घटनामा आफैँ बाँचिनन्

काठमाडौं। समस्या पर्दा सबैले गुहार्ने एउटै सहारा हुन्, सुरक्षाकर्मी । त्यसमाथि सशस्त्र प्रहरीको काम विशेषत उद्धार नै हो।

दोलखाकी २५ वर्षीय उषा थापा सशस्त्र प्रहरी बल नम्बर २० विपत् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत थिइन्। देश र जनताको कसम खाएर प्रहरी सेवामा लागेकी उनको जिम्मेवारी थियो, हरेक विपतमा नागरिकको उद्धार गर्नु।

बाढी पहिरो होस् या आगलागी। सवारी दुर्घटना होस्, या भूकम्प। विपद्का बेला उनको टोली खट्न्थ्यिो उद्धारमा। विपद्को समयमा उद्धार कार्यमा उनी अरू सहकमीँसँगै खटिन्थिन्।

विभिन्न घटनामा उद्धारमा खटिएर उषाले जोखिममा रहेको धेरैलाई उद्धार गरिन्। ज्यान नै जान सक्ने खतरामा रहेका कतिपयलाई पुनर्जन्म नै दिलाइन्। विडम्बना तीनै उषा जो आफैँ दुर्घटनाबाट भने बाँच्न सकिनन्।

आइतबार पेप्सीकोला सवारी दुर्घटनामा उनले ज्यान गुमाइन्। दोलखा घर भई काठमाडौंको मूलपानी बस्दै आएकी उषाको दुर्घटनालगतै उद्धार त भयो, तर अस्पताल पुगे पनि बाँच्न सकिनन्।

उषा आइतबार बिहान साढे ७ बजे आफूसँगै कार्यरत २९ वर्षीय सरस्वती खड्काको स्कुटर पछाडि बसेर कार्यालय जाँदै थिइन्। बा.प्र.०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटरमा गएका उनीहरू पेप्सीकोलास्थित छाप्रो भन्ने ठाउँमा पुगेका थिए।

३० मिटर अगाडीबाट एक स्कुटरले ह्वात्तै बाटो काट्यो। विपरीत दिशा (जडीबुटी चोक)बाट आइएको बसको पनि तीव्र गति थियो। अगाडी तीव्र गतिमा बा.३ख ४८४८ नंं को बस आइरहँदा स्कुटर चालकले असावधानी बस बाटो काटे।

स्कुटरलाई बचाउनको लागि बस चालकले बायाँतर्फ मोडेर ब्रेक लगाए। त्यो बेलामा विपरीत दिशाबाट बत्तिँदै आएर बा.६च ५३४२ नं को बोलेरोमाथि बस ठोक्कियो

बसले उषा चढेको स्कुटरलाई ठक्कर दियो । उषा सडकमा बजारिन पुगिन् । टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि सिभिल अस्पताल लगियो। तर, बचाउन सकिएन ।

बसले अर्को बा.प्र.०२–०४१ प ४८३८ नम्बरको एफजेट मोटरसाइकललाई पनि ठक्कर दियो। मोटरसाइकल चालक सर्लाहीका राज भट्टराई पनि सडकमै ढले । दुर्घटनामा उनको पनि मृत्यु भयो।

सडकमा ढलेकी उषालाई उपचारका लागि सिभिल अस्पताल लगियो । तर, चिकित्सकले उनलाई पनि बचाउन सकेनन् । प्रहरीका अनुसार दुर्घटनामा स्कुटरचालक सरस्वती र बसमा सवार १३ यात्रु घाइते भए।

दुर्घटनामा १४ यात्रु घाइते भएका, जसमध्ये ११ यात्रु उपचारपछि घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले बताए।

परिसरका प्रवक्ता एसपी ढुङ्गेलले स्कुटरलाई जोगाउन खोज्दा बस चिप्लिएको र बोलेरोमा ठोक्किन पुगेको बताए । उनले भने, ‘‘घटनास्थलबाट प्राप्त सिसी क्यामरा फुटेज हेर्दा विपरीत दिशाबाट एउटा स्कुटरले सडक काटेको देखिन्छ । बसले उक्त स्कुटरलाई बचाउन खोजेको देखिन्छ । तर, तीव्र गतिमा रहेको हुँदा बस सडकमा चिप्लिएको देखिन्छ । र, गएर बोलेरोमा ठोक्किएको देखिन्छ । घटनामा सम्बन्धमा थप अनुसन्धान हुँदै छ।’’

सशस्त्र प्रहरी बल नेपालले उषाको मृत्युमा दुख व्यक्त गरेको छ। प्रवक्ता राजेन्द्र खड्काले थापाको मृत्युमा दुःख व्यक्त गर्दै भने,‘‘ड्युटी हिँडेका सशस्त्र प्रहरी दुर्घटनामा पर्नु दुःखद खबर हो।’’

थापा इमानदार कर्मचारी रहेको बताउँदै उनले मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेको पूर्ण उपचारका लागि सङ्गठनको नियमानुसार सुविधा उपलब्ध हुने बताए।

पेप्सीकोला दुर्घटना अपडेट : घाइते १४ जनाको सिभिल र मदरल्याण्डमा उपचार हुँदै

पेप्सीकोलामा मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात घाइते

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved