लुम्बिनी एमालेमा सर्वसम्मतिको सकसपूर्ण प्रयास

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत टकराबका कारण पनि लुम्बिनीको अधिवेशनलाई निकै चासोपूर्वक हेरिएको छ ।

नेपालभ्युज

लुम्बिनी एमालेमा सर्वसम्मतिको सकसपूर्ण प्रयास

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशन सुरु भएको छ । यहाँ अधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरैको चासो छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुटगत टकराबका कारण पनि लुम्बिनीको अधिवेशनलाई निकै चासोपूर्वक हेरिएको छ ।

देशभर सकारात्मक सन्देश दिने उद्देश्यले एमाले नेतृत्व चाहिँ लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन गर्न चाहन्छ । प्रदेशको पहिलो अधिवेशन भएकाले पनि यहाँ सर्वसम्मत नेतृत्व चयन गरेर अरु प्रदेशमा दबाब सिर्जना गर्ने चाहना एमाले नेतृत्वको छ । तर, पौडेल र पोखरेल समूहको प्रतिस्पर्धाले लुम्बिनीको राजनीति पेचिलो बनेको छ ।

आइतबार बिहान बन्द शत्रमा आफ्ना कुरा राख्दै एमाले अध्यक्ष ओलीले पनि एमालेका लागि लुम्बिनी नम्बर एक प्रदेश रहेकाले त्यहीअनुसारको सन्देश दिन आग्रह गरेका छन् । उनले सकेसम्म मतदानमा जाने स्थिति नल्याउन नेताहरुलाई आग्रह गरेका हुन् ।

पार्टी सचिव पद्मा अर्याललाई प्रदेशको नेतृत्व मिलाएर चयन गर्ने अधिकार दिए ओली काठमाडौं फर्किसकेका छन् । अब यहाँ अर्यालले सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नेछिन् । तर उनको प्रयास सफल नहुने संकेत देखिएको छ ।

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रतिनिधि आएका छन् । १२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ ।

यहाँ अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व मन्त्री हरि रिजाल अध्यक्ष पदका लागि मुख्य आकांक्षीका रुपमा देखिएका छन् । कँडेल उपाध्यक्ष पौडेल खेमाका उम्मेदवार हुन् भने रिजाल पोखरेल समूहका हुन् ।

त्यस्तै पार्टीका प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली र भीम केसीले पनि नेतृत्वका लागि लबिङ गरिरहेकै छन् ।

त्यस्तै वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ पनि अध्यक्ष हुन चाहनेको सूचीमा छन् तर केन्द्रले जिल्ला र प्रदेशको अध्यक्ष तथा सचिवमा जनप्रतिनिधिलाई रोक लगाएका कारण उनी प्रदेश अध्यक्षको दौडमा सामेल हुन पाउने छैनन् । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

लुम्बिनी एमालेका थुप्रै केन्द्रीय नेताहरुको प्रदेश हो । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मासहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू यसै प्रदेशका हुन् ।

उनीहरु सबैजना आफूनिकटका नेताहरुलाई प्रदेश कमिटीमा ल्याउन चाहन्छन् । जसकारण यहाँ प्रतिस्पर्धा पेचिलो बनिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved