बाल सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा, २७ जनालाई प्रहरीले भेट्न सकेन

नेपालभ्युज

बाल सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा, २७ जनालाई प्रहरीले भेट्न सकेन

काठमाडौं। भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २२१ जनामध्ये १९४ जना सम्पर्कमा आइसकेका छन्।

भागेकामध्ये २७ जना सम्पर्कमा आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताए।

बाल सुधारगृहमा २९७ जना रहेकोमा २२१ जना प्रदर्शन गर्दै बाहिर निस्किएका थिए। आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका थिए।

त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका हुन्।

सुधार गृहबाट बाहिर निस्कने क्रममा सुरक्षाकर्मीसँग झडपसमेत भएको थियो। झडपका क्रममा १९ जना प्रहरी घाइते भएका प्रहरीको दाबी छ। बन्दीतर्फ भने केही सामान्य घाइते भएका छन्।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था गरेको छ। त्यही अनुसार, देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन्। जसमध्य भक्तपुर पनि एक हो।

त्यही सुधार गृहमा सोमबार २९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षका कमल बस्नेत अचानक बेहोस भएका थिए। उनलाई गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो। अस्पताल लग्नासाथ उनको ज्यान गएको थियो।

बालकले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै आफन्तले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।

त्यसक्रममा सुधार गृहको पछाडिको ढोका तोडेर डेढ सयभन्दा बढी कैदी बन्दी भागेको बताइएको छ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनाली भन्छन्, ‘‘सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई समेत आक्रमण गरेर कैदीबन्दीहरु भागेका हुन्। भेट्न बाँकीहरूको खोजीका लागि उपत्यकाका तीन वटै जिल्लामा प्रहरी परिचालित छन्। नियन्त्रणमालिन बाँकी अरुलाई छिट्टै लिनेछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved