थुलुङ दुधकोशीको कृषिमैत्री कार्यक्रम : किसानलाई खेत-बारीमै पैसा, उत्पादित उपज काठमाडौंको दरबारमार्गमा 

नेपालभ्युज

थुलुङ दुधकोशीको कृषिमैत्री कार्यक्रम : किसानलाई खेत-बारीमै पैसा, उत्पादित उपज काठमाडौंको दरबारमार्गमा 

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा उत्पादित रैथाने उत्पादन/उपजहरू अब सङ्घीय राजधानी काठमाडौंको दरबारमार्गबाट लिन सकिने भएको छ । हरेक शनिवार बिहान ६ बजेदेखि ११ बजेभित्र दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट आलु, करेला, साग, निगुरो, टमाटरलगायतका रैथाने दैनिक उपभोग्य चिजबिचजहरू लिन सकिने छ ।

गाउँपालिका अध्यक्ष असिम राईकाअनुसार यी दैनिक उपभोग्य चिजबिजका अलबा किवी, सुन्तला, करेला, आरुलगायतका अन्य फलफूल तथा अन्नहरूसमेत त्यहाँबाट लिन सकिनेछ ।

“थुलुङ दुधकोशीले आफ्नो उत्पादनलाई बजारसम्म पुर्‍याउनका लागि कृषिमैत्री कार्यक्रमहरू अघि बढाएको छ । हामी सर्वाङ्गीण विकासमा विश्वास गर्दछौँ, गाउँपालिकाको दीगो विकासमा विश्वास गर्छौँ । त्यसक्रममा कृषिलाई ध्यानमा नराखीकन हुँदैन भनेर हामीले किसानलाई प्रत्यक्ष लाभ मिल्नेगरी यो कार्यक्रम अगाडि बढाइएको हौँ । अब स्थानीय किसानहरूले बजार नपाएर आफ्नो उत्पादन फाल्नुपर्ने छैन,” अध्यक्ष राईले भने ।

अध्यक्ष राईले यो कामलाई ‘किसानहरूले खेत-बारीमै पैसा पाउने अभियान’ भनेका छन् । “अब किसानहरूले खेत-बारीमै पैसा पाउनेछन् । यो हाम्रो अभियान त्यसैका लागि हो । किसानले उपज उत्पादन गरेकै खेत-बारीमै पैसा पाउँछन्,” अध्यक्ष राईले भनेका छन् ।

अध्यक्ष राईकाअनुसार काठमाडौंका अन्य ठाउँमा पनि यसखाले सेवा विस्तार हुन सक्नेछ । त्यसबारे विभिन्न व्यावसायिक घराना तथा व्यक्तिसँग छलफल भइरहेको उल्लेख गर्दै उनले भने, “त्यो ललितपुरमा पनि हुनसक्छ । अथवा अन्य कुनै पनि ठाउँमा त्यो हुनसक्छ । हामीले विस्तारका लागि छलफल गरिरहेका छौँ ।”

गाउँपालिकाले गत आर्थिक वर्षमै कृषि एम्बुलेन्स खरिद गरेको थियो । उक्त एम्बुलेन्सले गाउँपालिकाभित्रका किसानहरूले उत्पादन गरेका उपजहरू नि:शुल्करूपमा ढुवानी गर्ने वडा नं. ७ का वडाध्यक्षसमेत रहेका गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । “किसानहरूको सहजताका लागि गाउँपालिकाले यो अभियान चलाएको हो,” कार्कीले भने, “एम्बुलेन्सले नि:शुल्करूपमा उत्पादन ढुवानी गर्नेछ । यसले किसानहरूलाई सहज मात्रै बनाउँदैन, प्रोत्साहितसमेत गर्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved