एक वर्षयता कुनै गीत नगाएकी विष्णु माझीले तीज गीत ल्याउलिन् ? (भिडीओ)

एक वर्षयता गायिका माझीले गीत ल्याएकी छैनन्। २०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ उनको पछिल्लो गीत हो।

नेपालभ्युज

एक वर्षयता कुनै गीत नगाएकी विष्णु माझीले तीज गीत ल्याउलिन् ? (भिडीओ)

काठमाडौं। २०७८ सालमा तीज गीत ‘चरी जेलैमा’ रिलिज गरेलगत्तै चर्चामा आयो। त्यो सालको ‘ब्लकबस्टर’ गीत त्यही भयो। २०७९ मा पनि ‘चरी जेलैमा भाग २’ आयो। सोही भाका अघिल्लै साल चर्चामा आइसके पनि दर्शक स्रोतले खासै पुरानो मानेनन्।

‘चरी जेलैमा’ गीत त चर्चामा मात्र आएनन्, विष्णु माझीकै जीवनमा मेल खाने भन्दै सामाजिक सञ्जाल नै ततायो। उनलाई परिवारले बन्धनमा राखेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी परेको थियो।

वर्षौंदेखि गुमनाम जीवन बाँचिरहेकी विष्णु माझीलाई प्रशासनले सोधपुछको लागि बोलाएको थियो। पति सुन्दरमणि अधिकारीसहित विष्णु माझी प्रशासन कार्यालय जवाफ दिन पुगेका थिए।

विष्णु माझी अर्थात् नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय नाम। सुरिलो स्वरकी धनी । या भनौँ नेपाली लोकदोहोरी गीतको पर्यायवाची नाम। तीज गीत विष्णु माझीको सिग्नेचर ब्रान्डसमेत हो। विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन्।

उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ। तीजमा सर्वाधिक भाग ल्याउने गायिका मानिन्छन् उनी। उनले ‘पुतलीको भट्टी’को भाग १८ सम्म ल्याएकी छन्।

एक वर्षयता गायिका माझीले गीत ल्याएकी छैनन्। २०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ उनको पछिल्लो गीत हो। यस वर्ष २०८०को तीज पनि संघारमा छ।

अरू बेलामा गीत नआए पनि तीजमा गीत ल्याइरहने भएकीले पनि फ्यानहरू विष्णु माझीको गीतको अधैर्य पर्खाइमा छन्।

हरेक सालमा तीजमा गीत ल्याउने विष्णु माझीले यससाल कस्तो गीत ल्याउलिन् भन्ने चासो दर्शक स्रोतालाई छ।
गीत ल्याउँछिन् कि ल्याउँदिनन् भन्नेमा चासो पनि उत्तिकै छ। उनी निकट स्रोतले पनि गीत ल्याउनेबारे केही बताएको छैन।

तर, अघिल्लो तीजयता विष्णु माझीको गीत आएको छैन। यसैले पनि फ्यानहरू उनका तीज गीत आउनेमा अझै ढुक्क हुन सकिरहेका छैनन्।

कहिले होलिन् सार्वजनिक ?

विष्णु माझीको जादुमय सुरिलो आवाजको त सधैँ चर्चा हुन्छ नै। तर, त्योभन्दा बढी उनको जिन्दगीका बारेमा चर्चा हुने गर्छ।

उनका अवाजले भरिएका गीतहरू जति धेरै चर्चा हुन्छन्, त्योभन्दा धेरै उनी भने सधैँ गुमनाम छिन्। कहाँ र कसरी बसेकी छिन् कसैलाई थाहा छैन।

उनी कहाँ र कस्तो अवस्थामा होलिन् कसैलाई थाहा छैन, परिवारका सदस्यलाई बाहेक। कालो, रातो र बीचमा थोरै हरियो पुवाँलोको माला। चिल्लो पारेर कोरेको कपाल।

आकाशे रङ्गको सामान्य फूलबुट्टे सारीमा सजिएको एउटा उज्यालो अनुहार। यही एउटा तस्वीर छ, जसले २० वर्षदेखि गायिका विष्णु माझीलाई प्रतिबिम्बित गर्दै आएको छ।

उनका १० हजारभन्दा बढी गीत सुनेका नेपाली स्राेताहरूले विष्णु माझी भन्नेबित्तिकै त्यही एउटा फोटो सम्झिन्छन्। गीत सुन्छन्। नाच्छन्, हाँस्छन्, रुन्छन् पनि।

नेपालकी सर्वाधिक लोकप्रिय मात्रै नभएर सर्वाधिक महँगी गायिका पनि हुन् माझी। नेपालमा चलेका अरू गायक गायिकाभन्दा १० गुनाभन्दा बढी पारिश्रमिक उनले लिने गरेको चर्चा छ। तर, पछिल्लो सामय उनलाई धेरै गीत गाउने अफर आए पनि गाएकी छैनन्।

सधैं चर्चामा विष्णु माझी

विष्णु माझीले हालसम्म १० हजारभन्दा बढी गीत गाइसकेकी छिन्। सामाजिक सञ्जालको बढ्दो प्रयोगअघि रेडियो टेलिभिजनमा उनका गीत खुबै चल्थे। अहिले प्रविधिको जमानामा उनका गीत थप चर्चामा आइरहेको छन्।

उनको गीत ड्राइभर दाइ, बटौलीको बस, भैँसी पालेरले धेरै चर्चा पाए। नहेर्नु लुकेर, कसलाई सोध्ने होला, सानु कहाँ छौ, धर्ती कुनको, शीतल दिने पीपल समी छ, लालुपाते नुघ्यो, भुइँतिर, मै छोरी सलल, न जाऊ है सानु पँधेरीमा, त्यो मन रुन्न होला र  धेरै नै चल्यो। पूर्वको मेची नि हाम्रै हो भन्ने लोकलयको राष्ट्रिय गीत खुबै चल्यो।

घामले नि पोलिदयो, डाँडै फुर्के सल्लो, हरे शिव राम, रुमाल हल्लाई हल्लाई, मुटु जलाई, भैटै हुन्न होला र लगायतको गीत पनि सर्वाधिक चर्चामा आयो।

सालको पातको टपरी हुनी, लालुमै, बोकेझार, पिँडालु, झुम्का झलक्क, साँइलो, चरी जेलैमालगायत अधिकांश गीतहरू झन् सर्वाधिक लोकप्रिय छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved