बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

नेपालभ्युज

बाँकेमा बेचबिखनमा परेका २८८ महिलाको उद्धार

नेपालगन्ज । शान्ति पुनःस्थापना गृह, बाँकेले जिल्लाका विभिन्न नाकाबाट मानव बेचबिखनको जोखिममा रहेका दुई सय ८८ महिलाको उद्धार गरेको छ ।

सबैभन्दा बढी जमुनाहा नाकाबाट दुई सय ३३ महिलाको उद्धार गरिएको छ । यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट चार र कोहलपुर बसपार्कबाट १७ महिलाको उद्धार गरिएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए ।

उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ महिला छन् । अहिलेसम्म जिल्लाका सबै नाकामा ४० हजार पाँच सय ४६ जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए ।

सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन् । ‘खुला सीमा भएका कारण मानव बेचबिखन रोकथाममा चुनौती छ’, उनले भने । गरिबीका कारण अवसर खोज्दा दलालको चङ्गुलमा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए ।

पुनःस्थापना गृह बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ–नयाँ तरिका अपनाएर मानव बेचबिखन गर्न थालिएको जानकारी दिईन्  । आर्थिक वर्ष २०७९/८० मा भारतबाट उद्धार गरिएकाको सङ्ख्या २२ रहेको छ । संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनमध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved