भावुक हुँदै माल्भिका सुब्बाले भनिन्- ‘छोरा भएर म बाँचिरहेको छु जस्तो लाग्छ’

नेपालभ्युज

भावुक हुँदै माल्भिका सुब्बाले भनिन्- ‘छोरा भएर म बाँचिरहेको छु जस्तो लाग्छ’

काठमाडौं। पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा आफ्नो जीवनको भोगाइ स्मरण गर्दै भावुक बनेकी छिन्। प्रेम, विवाह, दाम्पत्य जीवन र करियर बारे कुरा गर्दै उनी भावुक भएकी हुन्।

प्रियंका कार्कीको ‘फोर्थ ट्राइमेस्टर’ नामको अन्तरवार्तामा अतिथिको रूपमा पुगेकी माल्भिका आफ्नो सम्बन्ध विच्छेदको घटना सुनाउँदै भक्कानिइन्।

आफू गर्भवती भएपछि श्रीमान् रियाज श्रेष्ठसँगको सम्बन्ध थप बिग्रँदै गएको र नसुल्झिएका मुद्दाले घेरेको उनले बताइन्।

बच्चा जन्मिएको पहिलो ६ महिनालाई उनले आफ्नो जीवनकै अँध्यारो पाटो भएको सुनाइन् । ‘‘चार महिनासम्म मैले बच्चा हेरेँ। १६ घण्टा नसुतीकन म बच्चा हेर्थेँ। त्यति बेला मसँग भएको पैसा पनि सकियो। हस्पिटलको बिल, बच्चाको सबै कुरा लगभग ९० प्रतिशत खर्च म आफैँले गरिरहेको थिएँ। पैसा छैन, बच्चा हुर्किदैँछ। अब के गर्ने त ? म काममा फर्कनुपर्‍यो।’’

श्रीमान्सँगको सम्बन्ध बिग्रँदै गए पनि छोरालाई उसको बाबा र परिवारबाट कहिले पनि छुट्टाउने आफ्नो सोच नभएको उनले बताइन्।

उनले छोरा दुई वर्षको हुँदा पति घर छोडेको सुनाइन्। उनले भनिन्, ‘त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन, हामी एक–अर्कासँग बोल्न पनि सक्दैनथ्यौँ। जहिले झगडा गर्दथ्यौँ। तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो। ऊ धेरै नै सानो थियो। छोरा दुई वर्षको हुँदा घर छोडेँ। मलाई धेरै गाह्रो भइसकेपछि एक्लैले त्यो निर्णय लिएँ, मलाई मेरो परिवारको पनि समर्थन थिएन। अहिले ठिक छ । त्यो सपोर्ट सिस्टम लिन पनि मलाई अर्को तीन–चार वर्ष लाग्यो।’’

घर छोडेर जाँदा थुप्रै चुनौतीको सामना गरेको उनले सुनाइन्। ‘‘ त्यति बेला कोभिड पनि भयो। मेरो मानसिक स्वास्थ्य झन् बिग्रिँदै गयो। मैले आफूलाई के भाग्यमानी ठान्छु भने छोरा भएर म बाँचिरहेको छु जस्तो लाग्छ।’’ यति भन्दैगर्दा उनी भक्कानिइन्। उनी रोएको देखेर प्रियङकाले पनि आँशु थाम्न सकिनन्।

निजी जीवनमा यस्तो हलचल भइराख्दा आफूलाई भने कसैले पनि नबुझेको उनको गुनासो छ।

‘‘कसैले पनि मलाई बुझेनन्। मेरो परिवारले पनि बुझेन। धेरै साथीले बुझेनन्। तर मिडिया व्यक्तित्व भएकोले सबैको अगाडि हाँस्नुपर्ने ‘स्वागत छ तपाईंलाई शोमा’ भन्नुपर्ने। जिन्दगीको विडम्बना मैले त्यही बेलामा अनुभव पनि गरिरहेको थिएँ’’ उनले सुनाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved