श्रीलङ्काका राष्ट्रपति विक्रमासिंघे भारत भ्रमणमा

नेपालभ्युज

श्रीलङ्काका राष्ट्रपति विक्रमासिंघे भारत भ्रमणमा

नयाँ दिल्ली । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे भारतको दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार दिल्ली आइपुगेका छन् । भारतीय विदेश राज्यमन्त्री भी मुरलीधरनले विक्रमासिङ्घेलाई विमानस्थलमा स्वागत गरेका थिए ।

श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा कलाकारले गुजराती नृत्यको एक रूप (गरबा) प्रदर्शन गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति विक्रमासिङ्घे भारतको औपचारिक भ्रमणमा आएका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विक्रमासिङ्घेको भ्रमणले भारत र श्रीलङ्काबीचको लामो समयदेखिको साझेदारीलाई थप मजबुत बनाउने बताएका छन् ।

विक्रमासिङ्घेले पदभार ग्रहण गरेयता उनको यो पहिलो भारत भ्रमण हो । अरिन्दम बागचीले ट्वीटरमा लेखेका छन्, ‘श्रीलङ्काका राष्ट्रपतिको कार्यभार सम्हालेपछि विक्रमासिङ्घेले पहिलो पटक भारत भ्रमणमा आएकोमा हार्दिक स्वागत छ । यो भ्रमणले दुई मुलुकबीचको बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउनेछ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति विक्रमासिङ्घेले आफ्ना भारतीय समकक्षी द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य भारतीय विशिष्ट व्यक्तिसँग पारस्परिक हितका विविध विषयमा छलफल गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्रीलङ्का भारतको छिमेक प्रथम नीति र भिजन सागरमा महत्वपूर्ण साझेदार हो । यो भ्रमणले दुई देशबीचको लामो समयदेखिको मित्रतालाई अझ प्रगाढ बनाउनुका साथै सबै क्षेत्रमा कनेक्टिभिटी र पारस्पारिक लाभकारी सहयोगका लागि मार्गको खोजी गर्नेछ ।’ एएनआई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved