कांग्रेसमा ‘बालकृष्ण’ फ्याक्टर : पेचिलो बन्दै केन्द्रीय समिति बैठक, तय हुन सकेन एजेन्डा

सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झन्डै १ वर्षपछि साउन २ गते बस्दैछ । तर, बैठकका एजेन्डा तय गर्ने विषयमा भने नेताहरूबीच ‘नोकझोक’ देखिन्छ ।

नेपालभ्युज

कांग्रेसमा ‘बालकृष्ण’ फ्याक्टर : पेचिलो बन्दै केन्द्रीय समिति बैठक, तय हुन सकेन एजेन्डा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक झन्डै १ वर्षपछि साउन २ गते बस्दैछ । तर, बैठकका एजेन्डा तय गर्ने विषयमा भने नेताहरूबीच ‘नोकझोक’ देखिन्छ । लामो समययता बैठक नराखेकामा सभपाति शेरबहादुर देउवासँग खासगरी संस्थापनइतर पक्षका नेताहरू रुष्ट छन् । उनीहरूले बैठकमा एक वर्षयताभित्रका धेरै विषयहरू एजेन्डाका रूपमा समेटिनुपर्ने बताएका छन् ।

बैठकका एजेन्डाबारे नेताहरूबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसकेको एउटा प्रमुख विषय हो— नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाण । खासगरी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको संस्थापनइतर पक्षले यो विषयलाई साउन २ गते सुरू हुने बैठकको प्रमुख एजेन्डा बनाउनुपर्ने माग गरेको छ ।

तर, संस्थापनइतर पक्षको नेतृत्व गरेका नेता डा. शेखर कोइराला भने यसमा ‘मौनप्राय:’ नै देखिन्छन् । थापा-शर्मानिकट नेताहरूकाअनुसार कोइराला सभापति देउवासँग नजिकिँदै गएकाले मौन छन् । एक नेताले भने, “बैठकका एजेन्डाबारे पनि उहाँ मौन नै हुनुहुन्छ । हुन त अरु विषयमा पनि उहाँ बोल्नुभएको छैन पछिल्लो समय ।” तर, महामन्त्रीद्वय थापा-शर्मा भने बैठकमा खाणको विषय समेटिनैपर्ने पक्षमा छन् ।

शेरबहादुर-शेखरबीच घट्दो दूरी !

देउवा भने खाणबारे छलफल होस् भन्ने चाहँदैनन् । गत वैशाख २७ गते पक्राउ परेका खाणलाई देउवाले अहिलेसम्म निलम्बनसमेत गरेका छैनन् । संस्थापनइतर पक्षका नेताहरूको भाषामा भन्ने हो भने देउवाले खाणलाई ‘संरक्षण’ गरेर राखेका छन् । यसअघि जिल्लाका सभापतिहरूको भेलामा अधिकांश सभापतिहरूले देउवाले खाणलाई संरक्षण गरिरहेको भन्दै उक्त विषयमा केन्द्रीय समिति बैठकमा छलफल गर्नुपर्ने धारणा राखेका थिए । त्यसबेला महामन्त्रीद्वय थापा-शर्माले ‘छलफल हुन्छ’ भनेर प्रतिबद्धता जनाएका छन् ।

तर, देउवा कुनै पनि हालतमा तयार छैनन् । खाण देउवा समूहका बलियो उपगुट बनाएर बस्ने प्रभावशाली नेता हुन् । नेविसंघ र तरुण दलको अध्यक्ष भएर पार्टीमा प्रभाव जमाएका खाण गृहमन्त्रीसमेत भइसकेका नेता हुन् । यसकारण उनीसँग देशैभर राम्रै ‘नेटवर्क’ छ भनेर देउवाले बुझेका छन् ।

कांग्रेस जिल्ला सभापतिहरूले सोधे- केन्द्रीय नेतृत्वले भ्रष्टाचारीलाई संरक्षण किन गरेको ?

यदि बैठकमा कुरा उठ्यो र त्यहीअनुसार चल्नुपर्ने भएको खण्डमा खाणसँग जोडिएको ‘नेटवर्क’ बिच्किन्छ भन्ने डर देउवालाई छ । देउवाको कदमलाई पार्टीको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने आकांक्षा राखेका उपसभापति पूर्णबहादुर खड्काले पनि पछ्याइरहेका छन् । यस्तो अवस्थामा आउँदो बैठकमा उक्त विषय एजेन्डाका रूपमा समेटिन्छ कि समेटिँदैन भन्ने विषय प्रधान र पेचिलो बन्दै गएको छ ।

देउवानिकट मानिने सहमहामन्त्री भिष्मराज आङ्देम्बे भने एजेन्डामा सहमति हुने दाबी गर्छन् । “अन्तिम समयसम्म एजेन्डामा सहमति हुन्छ,” उनले भने, “के-के विषयमा छलफल हुने भन्नेबारे अहिले पनि हामी छलफलमै छौँ । साउन २ गते बिहानसम्म यो विषय टुङ्गिन्छ र सौहार्दपूर्णरूपमा बैठक बस्छ ।”

त्यसो त रोक्दा-रोक्दै उक्त विषय उठ्नेमा संस्थाप पक्ष जानकार छ । संस्थापन पक्षका एक नेता भन्छन्, “विषय उठिहाल्छ नि । रोक्न सकिँदैन । खाली त्यो विषय कति सशक्तरूपमा उठ्छ र कसले उठाउँछ भन्ने कुरा मुख्य हो । विषयहरू रोकेर नउठ्ने होइनन् । तर, सहमतिचाहिँ गरेर जाउँ भन्ने हो हाम्रो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved