शेरबहादुर-शेखरबीच घट्दो दूरी !

शेरबहादुर-शेखरबीच ‘भद्र सहमति’ नै भएको कतिपय संस्थापनइतर कांग्रेस नेताहरू ठान्छन् । १५औं महाधिवेशनमा शेखरलाई शेरबहादुरले सभापतिको पद जिम्मा लगाउने सहमति भएको नेताहरू ठान्छन् ।

शेरबहादुर-शेखरबीच घट्दो दूरी !

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच सभापतिमा निकटतम् प्रतिस्पर्धा भयो । पहिलो चरणको मतदानमा विधानबमोजिम कसैले ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमार्फत शेरबहादुर कांग्रेसको सभापति बने ।

यसपछि संस्थापनइतर पक्षको नेतृत्व गर्दै सभापतिमा आफूसँग प्रतिस्पर्धा गरेका शेखरलाई शेरबहादुरले वरीयतामा हेपे । २०७८ पुस १० गते नवनिर्वाचित कार्यसमतिको पहिलो बैठक बस्यो, जसले शेखरलाई २०औं वरीयता प्रदान गर्‍यो । त्यसो त १०औं महाधिवेशनमा निर्वाचित सभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनै शेरबहादुरलाई तेस्रो वरीयता दिइएको थियो । तर, शेरबहादुरले शेखरलाई तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति), पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री सुनीलबहादुर थापाभन्दा पनि पछाडि राखे ।

यसपछि विस्तारै बढेको शेरबहादुर-शेखरबीचको दूरी घट्न थालेको छ । हिजो-आज उनीहरूको बर्गत मिल्न थालेको छ । अहिले शेरबहादुरले शेखरका लागि केन्द्रीय कार्यालयमा कार्यकक्ष (कोठा) नै दिएका छन् । “केन्द्रीय कार्यालयमा मलाई एउटा कार्यकक्ष दिइएको छ,” शेखरले भने, “थप केही भनिएको छैन, तर कार्यकक्षचाहिँ दिइएको छ ।”

उसो त शेखरलाई शेरबहादुरले वरिष्ठ नेताको दर्जा प्रदान गर्न लागेको चर्चा कांग्रेस वृत्तमा छ । नेपाभ्यूजले यसबारे शेरबहादुरनिकट एक नेतासँग जिज्ञासा राख्यो । जवाफमा ती नेता भन्छन्, “चर्चा नभएको होइन, भएको हो । तर, कहिले, कसरी भन्नेबारे थप छलफल भएको छैन । कुराचाहिँ उठेको हो । सभापतिज्यूले थप छलफल गरेर टुङ्ग्याउँला भन्नुभएको छ । फेरि अहिले त देशबाहिर हुनुहुन्छ ।”

शेरबहादुर-शेखरबीच ‘भद्र सहमति’ नै भएको कतिपय संस्थापनइतर कांग्रेस नेताहरू ठान्छन् । १५औं महाधिवेशनमा शेखरलाई शेरबहादुरले सभापतिको पद जिम्मा लगाउने सहमति भएको नेताहरू ठान्छन् । संस्थापनइतर कांग्रेसका एक नेता भन्छन्, “उहाँहरूबीच त्यस्तो खाले सहमति भएको छ कि छैन, त्यसबारे थप जानकारी छैन । चर्चाचाहिँ हुन्छ बाहिर । तर, उहाँहरू नजिकिनुभएको छ ।”

त्यसो त १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने उद्घोष शेखरले गरिसकेका छन् । शेरबहादुरकै सहयोगमा उठ्ने हो तपाईं ? भन्ने प्रश्नमा शेखर भन्छन्, “उहाँले त पहिल्यैदेखि नै कोइराला परिवारबाट कोही सभापति हुनुपर्छ भनेरै आउनुभएको हो । तर, मलाई नै सुम्पनुहुन्छ भन्ने होइन । तर, कोइराला परिवारबाट पनि कांग्रेस चल्नुपर्छ भन्नेचाहिँ उहाँलाई छ ।”

पछिल्लो समय शेखरले शेरबहादुरको आलोचना गर्न छाडेको संस्थापनइतर कांग्रेसका नेताहरू बताउँछन् । “अहिले त उहाँ (डा. शेखर कोइराला) ले सभापतिको गलत कदममा समेत आलोचना गर्न छाड्नुभएको छ,” एक नेता भन्छन् । यद्यपि शेखर भने यसमा सहमत छैनन् । “म अहिले पनि शेरबहादुरजीको आलोचक नै हुँ । जे भएपनि मेरो सभापति हो, म उहाँलाई भेट्छु, कुराकानीका लागि कहिलेकाहीँ बोलाउनुहुन्छ, जान्छु । तर, गलत कामको आलोचना नै गर्छु,” शेखर भन्छन् ।

उनी आफूहरू नजिकिएको भन्ने विषय सिर्फ ‘न्यारेटिभ’ भएको जिकिर गर्छन् । “एकथरि मान्छेहरूले न्यारेटिभ बनाएका मात्रै हुन् । यसमा सत्यता छैन,” शेखरको जिकिर छ, “उहाँ मेरो सभापति हो, पार्टीको सभापति हो । भेट भइरहन्छ, हुनुपर्छ पनि । तर, जसरी न्यारेटिभ बनाइएको छ, त्यसरीचाहिँ नजिकिएको होइन ।” उनी आफू कसैको फरिया समातेर अघि बढ्ने मान्छे नभएको दाबी गर्छन् । “म शेरबहादुरजीको फरिया समातेर, गगनजीको फरिया समातेर वा अरु कोही-कसैको फरिया समातेर अघि बढ्ने मान्छे नै होइन,” शेखरले भने ।

संस्थापनइतरकै नेता गगनकुमार थापा, जो निर्वाचित महामन्त्री हुन् शेरबहादुर-शेखरबीच अस्वाभाविक दूरी घटेको र त्यसले संस्थापनइतर कांग्रेसमा अप्ठ्यारो भएको ठान्छन् । यसबारे उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग निरन्तर छलफल गर्ने गरेका छन् ।

शेरबहादुरसँग नजिकिएपछि संस्थापनइतरभित्रै पनि शेखर आफूखुसी चल्न थालेको गगनको बुझाइ छ । यसअघि संस्थापनइतरबाट पठाइएका मन्त्रीहरूमा शेखरले एकलौटी गरेको गुनासो गगनले आफूनिकट नेताहरूसँग बताउने गरेका छन् । जसै पछिल्लो समय उनले कडा अभिव्यक्तिसमेत दिने गरेका छन् ।

शेखरको प्रस्तावमा शेरबहादुरसँग संसदीय दलको नेतामा लडेका उनले नेतृत्वले अक्षम्य गरेको, अति गरेकोलगायतका अभिव्यक्ति दिने गरेका छन् । यसअघि उनले ‘अति भयो, अब सहिन्न’ भनेर एक अभिव्यक्ति दिएका थिए । त्यसपछि गगनले आफैँले फरक पार्टी हाँक्न चाहेको भनेर विश्लेषण गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved