नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन

नेपालभ्युज

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्षः खहरेबाट बिजुली निकाल्न सकिँदैन
फाइल तस्वीर

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरुप्रति कटाक्ष गरेका छन् ।

पुराना पार्टीका दिनहरु गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरु सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए । उनले पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए  ।उनले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा नबिर्सिन नयाँ राजनीतिक दलहरुसँग आग्रह गरे ।

महामन्त्री शर्माले काँग्रेस अझै बलियो, परिपक्व, संयमित र एकतावद्ध बन्नुपर्ने बेला आएको बताए । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रुपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम शुरु हुने बताए ।

‘नेपाली काँग्रेस पार्टी आज अझै बलियो बन्नुपर्नेछ । नेपाली काँग्रेस पार्टी विगतमा भन्दा अझै परिपक्व, अझै संयमित र अझै एकतावद्ध बन्नुपर्ने बेला छ’ उनले भने, ‘काँग्रेसको साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्छ । राष्ट्रव्यापी रुपमा अभियान घोषणा गर्छ । विभाग गठनको प्रक्रिया शुरु गर्छ, त्यो पुरानो दललाई तरोतजकी बनाएर नविन बनाउने क्रम शुरु गर्छ ।’

पुराना दलका दिन गए भन्नेहरूको मतको उनले खण्डन गरे । ‘अब नयाँ आए भन्दै गर्दा तिनीहरुले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो । हाम्रा धर्मशास्त्र, संस्कृतिहरु पनि पुराना हुन् । यो देश आफैँमा पनि पुरानो हो,’ उनले भने, ‘पुरानो नाता सम्बन्धहरुलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन । हामीले बिर्सिनु हुँदैन ।’  उनले निरन्तर बगिरहेका नदीहरुबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा बिर्सिन नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved