७ प्रतिशत नेपाली बिजुलीबाट वञ्चित

नेपालभ्युज

७ प्रतिशत नेपाली बिजुलीबाट वञ्चित

काठमाडौं । मुलुक विद्युत्मा लगभग आत्मनिर्भर भइसक्दा पनि ७ प्रतिशत जनताले अझै बिजुली बाल्न पाएका छैनन् । उनीहरूसम्म राष्ट्रिय प्रणालीको बिजुली पुग्न बाँकी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रतिवेदनअनुसार चालू आवको चैत मसान्तसम्ममा ९३ प्रतिशत नेपालीको पहुँचमा बिजुली पुगेको छ ।

विशेषगरी, हिमाली क्षेत्र र दुर्गम ठाउँमा बिजुली नपुगेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटुवालले बताए । ‘डोल्पा, मुगु, हुम्लाजस्ता हिमाली जिल्ला र दुर्गम ठाउँमा बिजुली पुर्‍याउन सकिएको छैन । टाढाटाढा छरिएका बस्तीमा पनि पुगेको छैन । एउटा घरबाट अर्कोको दूरी टाढा हुँदा बिजुली विस्तारमा चुनौती छ,’ उनले भने, ‘विद्युत् आयोजनाहरू नभएको ठाउँमा पनि पुर्‍याउन सकिएको छैन ।’

सरकारले चालू आर्थिक वर्षभित्रै शतप्रतिशत नेपालीको पहुँचमा बिजुली पुर्‍याउने लक्ष्य लिएको थियो । तर, यसपालि उक्त लक्ष्यमा नपुगिने भेटुवालले बताए । ‘पहिलो कुरा त हामीले मागेअनुसार बजेट पाएनौं । दोस्रो, दुर्गम ठाउँ भएका कारण प्राविधिक समस्या आयो,’ सहसचिव भेटुवालले मन्त्रालयलाई असफलताको दोषबाट टाढै राख्ने प्रयास गरे । लक्ष्यअनुसार काम नहुने परिपाटी नेपालमा नौलो होइन । आर्थिक वर्ष सकिन २ महीना ५ दिन बाँकी रहँदा (वैशाख २६ गते सोमवारसम्ममा) कुल बजेटको ५५ दशमलव शून्य ४ प्रतिशत मात्र खर्च भएको तथ्यलाई हाम्रा निकायहरूको कार्यकुशलताको बलियो उदाहरण मान्न सकिन्छ ।

सहसचिव भेटुवालले अबको २ वर्षभित्र आधारभूत रूपमा शतप्रतिशत नेपालीमा बिजुली पुर्‍याउने गरी काम गर्ने बताए । ‘त्यो अवधिमा पनि शतप्रतिशत नै हुन्छ भन्न त सकिँदैन तैपनि आधारभूत रूपमा शतप्रतिशतकै हाराहारी पुग्ने विश्वास छ,’ आर्थिक अभियानसँग उनले भने ।

७ प्रतिशत जनसंख्यामा बिजुली पुर्‍याउन झन्डै ५४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । सरकारले त्यो बराबर रकम सहजरूपमा उपलब्ध गराए अन्य कामले पनि गति लिने उनको भनाइ छ ।

‘मुख्यतः बजेट पर्याप्त नभएरै प्रभावकारी काम हुन नसकेको हो । त्यसमाथि प्रक्रियागत झन्झट, दुर्गम ठाउँ, पूर्वाधार अभावलगायत कारणले विद्युत् विस्तार चुनौतीपूर्ण छ,’ उनले भने, ‘तर, पर्याप्त मात्रामा बजेट पाए काममा ढिलाइ हुँदैन ।’

राष्ट्रिय विद्युत्को पहुँच नपुगेका केही ठाउँमा सोलार, लघुजलविद्युत् र मिनीग्रीडबाट बिजुली बाल्ने काम भएको छ । तर, त्यस्तो विद्युत् प्रभावकारी र गुणस्तरीय हुँदैन । यस्तो बिजुली उज्यालो र सामान्य घरायसी कामका लागि मात्रै उपयुक्त हुन्छ । उद्योग चलाउन, विद्युतीय चूल्हो प्रयोग गर्नलगायत घरायसी काममा यस्तो बिजुली पर्याप्त हुँदैन । त्यसकारण बाँकी ठाउँमा पनि राष्ट्रिय प्रणालीकै विद्युत् पुर्‍याउनुपर्ने विज्ञ बताउँछन् ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved