नेसपाले भन्यो- हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो

नेपालभ्युज

नेसपाले भन्यो- हामीलाई थाहा नदिई समाजवादी मोर्चा घोषणा गरियो

काठमाडौं ।  नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् ।

मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन् । उनले मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग  छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताए  ।

उनले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए ।

‘हामीलाई थाहा नै छैन । विगतमा यो विषयमा छलफल चलेको हो । यो बीचमा हामीसँग खासै उहाँहरुले सम्पर्क गर्नुभएन । चारवटा दलहरुको बिचमा गृहकार्य चलिराखेको छ भन्ने खालको अनौपचारिक तवरबाट हामीले खबरहरु प्राप्त गरी नै राखेका थियौँ ‘ उनले भने, ‘पछिल्लोचोटी अब मोर्चा घोषणा नै हुन्छ भन्ने खालको बजार हल्ला भइसकेपछि मैले डा.  भट्टराईलाई  एकचोटी प्रधानमन्त्रीज्युसँग भेट्दा राम्रो होला भनेर  सुझाएको थिएँ । उहाँले पनि त्यो कोसिस गरिराख्नुभएको रहेछ । प्रधानमन्त्रीसँग उहाँको भेट भयो । भेट पछि सबै कुरा सार्वजनिक भएको छ ।’

‘उहाँले भन्नुभएको कुरा होइन अहिले तत्काल त्यो गठन नहुने भयो  ? जे गरिन्छ हामी सल्लाहबाटै गरिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । त्यसकारणले यो शंका, आशंका, बजारहल्लाको पछाडी लाग्नु हुँदैन है भनेर व्यक्तिगत रुपमा म सँग पनि भन्नुभएको हो’ उनले अगाडी थपे, ‘बाहिर पनि उहाँले त्यही ढंगको सन्देश दिनुभयो । फेरि एकाएक दुई दिन पनि नबित्दाखेरी नै जुन मोर्चा घोषणा भइराखेको छ, म आफैँलाई पनि अलिकति आश्चर्य त लागेको छ ।’

सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समिकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए । उनले साँचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागि हुने बताए । सत्ता समिकरणका लागि अंक गणितिय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने बताए । यद्यपी समाजवादी मोर्चालाई अहिले नै शंका गर्नु नहुने उनको भनाई छ । उनले सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने बताए ।

‘हामीले दुई वर्ष अगाडी नै नेपालमा एउटा समाजवादी मोर्चा आवश्यक छ भनेर त्यसको आवश्यकता र औचित्य माथि सार्वजनिक रुपमा नै  बहश प्रारम्भ गरेका थियौँ ‘ उनले भने, ‘त्यो बहस यहाँसम्म आइपुग्दाखेरी अहिले समाजवादी मोर्चा जसरी निर्माण भएको छ, त्यो बहशले सार्थकता पायो या त्यो बहस कतै डिरेल भयो भन्ने ढंगको दुईवटा प्रश्नहरु अगाडी आएको देखिन्छ ।’

उनले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागि नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए । उनले राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे। समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उनको भनाई छ ।

‘त्यसले खासै असर गर्दैन । मुख्यकुरा व्यक्तिको सम्बन्ध होइन  विचारको कुरा हो, नेपाल समाजवादी पार्टीले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दा र माओवादी केन्द्रले बोकेको विचार, सिद्धान्त र राजनीतिक मुद्दाका बीचमा एउटा साम्यता भएको कारणले गर्दाखेरी दुईवटा पार्टीको बीचमा एकताको कुरा चलेको हो’ उनले भने, ‘प्रचण्डले बाबुरामको मुख हेरेर या बाबुरामले प्रचण्डको मुख हेरेर एकता प्रक्रियाको कुरा त चलेको होइन नि । त्यसमा विचारकै कुरा छ, राजनीतिक एजेण्डाकै कुरा छ । त्यसकारण यि दुईवटा पार्टीको बीचमा राजनीतिक एजेण्डा, मुद्दा, बिचारको बिचमा सापेक्षिक रुपमा जुन समानता छ त्यो समानताको कारणले एकता गरौँ भन्ने हो ।’

उनले नेकपा (माओवादी केन्द्र) सँग नेसपाको एकता प्रक्रिया अगाडी बढिसकेको पनि बताए । नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved