कसले भाँड्दै छ हाम्रो समाज ?

अवश्य नै, आफ्ना सपनाहरू मरेपछि मान्छेले राज्यलाई आलोचना गर्छ । तर, सुन्नुपर्नेले जब बुझ पचाउँछन् आलोचनाहरू स्वतः गालि, आक्रोश र अराजकतामा फेरिन्छन् । स्वाभाविक छ, विस्तारै बोल्दा नसुनेपछि मान्छे चर्को बोल्छ । अहिले यत्रतत्र जुन भाँडभैलो सुनिँदैछ, यो त्यही आक्रोशको चर्को स्वर हो । आलेख ।

कसले भाँड्दै छ हाम्रो समाज ?

विषय प्रवेश 

नेपाली शब्दकोअनुसार भाँडिनुको अर्थ हुन्छ–आफैं बिग्रनु, बरालिनु वा भ्रष्ट हुनु । भइरहेको कामकुरो बिथोलिनु वा बिभिन्डिनु । तपाईंहरूलाई के लाग्छ, हाम्रो समाज (राजनीति), यसको सोच, चिन्तन शैली र बहस अहिले ठीक ढंगले चलिरहेको छ ? के हाम्रो राजनीतिक नेतृत्व, बैद्धिक समूह र सामाजिक जीवन परिपक्व, विवेकशील र रचनात्मक देखिन्छ ? के हाम्रो सार्वजनिक वा सामाजिक सम्वाद लयबद्ध छ ?

एकैछिन संसदलाई नियालौं र यसभित्रका बहसहरू हेरौं । एकैछिन सामाजिक सञ्जालमा विचरण गरौं र कुरा सुनौं । एकैछिन युट्युब हेरौं र मनन गरौं । एकैछिन विश्वविद्यालयका कक्षाकोठा र पुस्तकालय चहारौं । ती सबै हेर्दा लाग्छ, हामी भड्किएका छौं र भड्किनु नै हाम्रो मूल चरित्र हो।

जस्तो कि, आजकल हाम्रो राजनीति तर्क गर्दैन, गाली गर्छ । यो विनम्र छैन, पूर्वाग्रही छ । सामाजिक सञ्जाल पत्रु तर्कहरूले भरिन्छन् र सत्यको हुर्मत काढिन्छ पलपल । बजारमा सिद्धान्त, विचार र मुद्दा हैन, चटक बिक्छ महँगोमा । सार्वजनिक जीवनमा गम्भीरता छैन, निष्ठाको मानमर्दन हुन्छ चोक चोकमा । कर्म रुन्छ अरबको मरुभूमिमा र भाग्यको रजगज चल्छ देशमा ।

मतदाताहरू नेता हैन, पालनहार खोज्छन् । मान्छेहरू देखिएको कुरामा अविश्वास गर्छन् र रहस्यलाई पत्याउँछन् । प्रश्न आउँछ, कसले भाँड्दैछ हाम्रो समाज ? को हो दोषी, जसले समाजलाई यतिधेरै पूर्वाग्रही, शंकालु, तर्कहीन र लयहीन बनाएको छ ? को हो त्यो जसले समाजमा ‘मास हिस्टेरिया’को आगो झोसेको छ र उ कतै बसेर मनमख्ख रमिता हेर्दैछ ?

कारणहरू अनेक

देश आफैंमा एउटा ठूलो समाज हो । जसमा करोडौं मान्छे जोडिएका हुन्छन् । अवश्य नै उनीहरूका व्यक्तिगत सपना फरक हुन्छन् । अनेकौं जात, धर्म र संस्कृतिको यो विशाल समाजमा विविधताहरू स्वाभाविक हुन्छन् । स्वार्थ, पहिचान, सपना र अस्तित्वको विविधता । तर जब देशको कुरा आउँछ, विविधता बीचको संघर्ष वा टकरावले मात्र देश बन्दैन । देश बन्न विविधताबीच अजेय एकता आवश्यक हुन्छ । देश भनेको आफैंमा यस्तो भावनात्मक धागो हो, जसले विविधतालाई एकीकृत गर्छ । अर्थात्, विविधता बीचको समानता र सपना बीचको एकता नै देश हो ।

देश बन्न तीनवटा भावनात्मक कुरा चाहिन्छ । साझा विश्वास, आदर्श र सपना । जस्तो कि, मौरीको उदाहरण हेरौं । हजारौं मौरीको गोलोलाई जोड्छ रानीले । रानी आफैंमा उनीहरूको आदर्श, विश्वास र सपना हो । त्यसरी नै देशभित्र मान्छेलाई जोड्छ, आपसी विश्वास, साझा सपना र आदर्शले । निश्चय नै विविधताबीच प्रतिस्पर्धा त हुन्छ, तर प्रतिस्पर्धा बीचमा पनी एकता हुन्छ । त्यसैले देश हुन्छ ।

हरेक देशको आफ्नै आदर्श हुन्छ । हरेक देशको आफ्नै विश्वास हुन्छ । हरेक देशको आफ्नै सपना हुन्छ । कसरी बन्छन् साझा विश्वास, आदर्श र सपना ? देशको आदर्श लामो सामाजिक तथा राजनीतिक प्रक्रियाबाट निर्माण हुन्छ । इतिहासका अनेकौं उथलपुथल बीचबाट देशको सपना, आदर्श र विश्वास निर्माण हुन्छ । र, त्यसलाई जोगाउँछ सामाजिक निष्ठा र राजनीतिक प्रतिबद्धताले । स्वयं आफू हारेर पनी देशका आदर्शहरूलाई बचाउनु राजनीतिक वा सामाजिक नेतृत्वको मुख्य काम हो ।

खासमा, राजनीति चुनाव लड्ने र शासनगर्ने कुरामात्र हैन, राजनीति सम्यक दृष्टि निर्माणको प्रयत्न हो । यो अर्थमा, राजनीतिक नेतृत्व, बैद्धिक वर्ग र सामाजिक अगुवाहरूको काम हुन्छ नागरिकलाई साझा विश्वास, आदर्श र सपनाहरूले बाँध्ने र गोलबन्दी गर्ने । मान्छेलाई भड्किन नदिने । तर, हाम्रोमा के भइरहेको छ ? हाम्रोमा स्वयं राजनीतिले मान्छेलाई भड्काई रहेको छ । हाम्रा विश्वास, आदर्श र सपनाहरू हराएका छन् । स्वयं राजनीति हाम्रो विविधतालाई गाँस्ने धाँगो चुडाउँदै छ ।

यस्तो लाग्छ, मानौं सबै मनोगत आग्रहले पीडित छन् । राजनीति त झन् यस्तो देखिन्छ, जस्तो कि सबै दलहरू सत्यको हुर्मत लिन तम्तयार छन् । सबै दलहरू एउटाले अर्कोलाई नांगो बनाउन प्रतिस्पर्धा गर्दैछन् । र, उनीहरू जे गर्दैछन् वस्तुत: उनीहरू स्वयं सबै नांगिदैछन्।

पछिल्ला दिनमा पूर्वाग्रहको आँधी यसरी चल्दैछ कि, सबै एक-अर्कालाई तान्न, झार्न र पछार्न उद्दत छन् । न त लोकतन्त्रको आदर्शलाई स्थापित गरिँदैछ, न त नागरिकका सपना फक्रिँदै छन् । सबैमा एक अर्काप्रति तीव्र अविश्वास छ । जस्तो कि मधेसलाई, पहाडको अविश्वास । दलितलाई, खसआर्यको अविश्वास । महिलालाई पुरुषको अविश्वास । कांग्रेसलाई कम्युनिस्टको अविश्वास । मतदातालाई नेताको अविश्वास ।

यस्तो लाग्छ, मानौं सबै मनोगत आग्रहले पीडित छन् । राजनीति त झन् यस्तो देखिन्छ, जस्तो कि सबै दलहरू सत्यको हुर्मत लिन तम्तयार छन् । सबै दलहरू एउटाले अर्कोलाई नांगो बनाउन प्रतिस्पर्धा गर्दैछन् । र, उनीहरू जे गर्दैछन् वस्तुत: उनीहरू स्वयं सबै नांगिदैछन्। अवश्य नै संक्रमणकालीन समाजमा अविश्वास स्वाभाविक हुन्छ । तर, यसलाई विश्वासमा बदल्नु नेतृत्वको काम हो । अन्यथा, भाँडभैलो सामाजिक तथा राजनीतिक प्रवृत्ति बन्छ ।

प्रश्न आउँछ, यो सबै भाँडभैलो र अन्योललाई हाम्रो ज्ञान, विवेक, सुझबुझ र शिक्षाले किन रोक्न सकेन ? अथवा, यति ठूलो संकटमा पनि हाम्रो ज्ञान किन मौन छ ? किनभने यतिबेला स्वयं हाम्रो ज्ञानको सुर हराएको छ । उ आफैँ भाँडभैलोको शिकार भएर सामाजिक सञ्जालदेखि संसद् भवनसम्म, विश्वविद्यालयदेखि पार्टी कार्यालयसम्म रक्ताम्य लडेको छ ।

के भएको यस्तो ?

आज हाम्रा औपचारिक र अनौपचारिक पाठ्यक्रम, ज्ञान र चिन्तन प्रणालीहरू भत्किएका छन् । औपचारिक विश्वविद्यालयमा ज्ञानको उत्पादन अवरुद्ध छ। अनौपचारिक ज्ञानशालाहरू, राजनीतिक दल, सार्वजनिक संस्था, सामाजिक ज्ञान र चिन्तन केन्द्रहरू पार्टी राजनीतिको टाँगमुनि छिरेर सत्ताको दलाली गर्न व्यस्त छन् । दलहरू जो अनौपचारिक ज्ञानका केन्द्र हुन् उनीहरू स्वयं ज्ञानको हुर्मत लिन उद्त छन् । जब ज्ञानका केन्द्रहरूमा अराजकता र अहंकारको छिपछिपे मनोग्रन्थी व्याप्त हुन्छ तब समाजमा गतिलो चेतना बन्छ कसरी ? यस्तो समाज संयमित र गम्भीर कसरी हुन्छ ? ज्ञानको हुर्मत लिने समाज ज्ञानी रहन्छ कसरी ?

हाम्रो समाजमा अहिले अल्पज्ञानको रजगज चल्दैछ । अल्पज्ञानले भुइँफुट्टा जमात तयार गर्छ । भुइँफुट्टा चरित्र के भने, उसले न त संस्थागत ज्ञानलाई मान्दछ, न त नयाँ ज्ञानको उत्पादन नै गर्छ । सबैलाई इन्कार गरेर आफ्नो महत्त्व स्थापित गर्ने मनोरोगले उ ग्रसित हुन्छ । अर्थात्, उसले स्वयंबाहेक अरु सबैलाई इन्कार गर्छ । जस्तो की, अरुको सत्यलाई इन्कार गर्छ र आफ्नो भ्रमलाई सत्य ठान्छ । अरुको तथ्यलाई झुटो ठान्छ, आफ्ना मनोगत अनुमानहरूलाई तथ्यांक मान्दछ ।

त्यसपछि के हुन्छ ?

जब ज्ञानको लय बर्गेलिन्छ, स्वभावतः समाज बर्गेलिन्छ । यो यस्तो अवस्था हो, जसले प्रत्येक व्यक्तिलाई म नै सर्वज्ञ भन्ने भ्रम निर्माण गरिदिन्छ । नेतामा त्यही भ्रम, विद्वानहरूमा त्यही भ्रम, युवामा त्यही भ्रम । प्रत्येक मान्छेलाई लाग्छ उसले सिक्नुपर्ने अब केही छैन । यस्तो बेला हुने नै भाँडभैलो हो। यहीनेर हाम्रा आर्थिक समाजिक कष्टहरूले अराजकताको आगोमा पेट्रोलको काम गरेका हुन्छन् ।

जस्तो कि, अहिले हाम्रो सामाजिक र आर्थिक जीवन कष्टहरूको चौघेरामा छ । यत्रतत्र आर्थिक संकट र गरिबी । गर्नलाई गतिलो काम छैन । यतै असफलता, उतै असफलता । भ्रष्टाचार तीव्र छ । र, सबैभन्दा महत्त्वपूर्ण कुरा राज्य छ भन्ने अनुभूति सीमित हुँदै गएका छन् । न त सरकारसँग विश्वास छ, न त संसदसँग । न त अदालतसँग विश्वास छ, न त प्रहरी प्रशासनसँग । न त पार्टीसँग विश्वास छ, न त नेतासँग । न त आर्शिवाद दिने कोही छन्, न त उज्यालो देखाउने । अहिले मान्छेका सपनाहरू मात्र मरेका छैनन्, मर्दैछ स्वयं मान्छे भित्रको मान्छे । सर्वत्र निराशाको यो क्षणमा मान्छेले स्तोत्र पढ्दैन,मात्र गाली बक्छ ।

अवश्य नै, आफ्ना सपनाहरू मरेपछि मान्छेले राज्यलाई आलोचना गर्छ । तर, सुन्नुपर्नेले जब बुझ पचाउँछन् आलोचनाहरू स्वतः गालि, आक्रोश र अराजकतामा फेरिन्छन् । स्वाभाविक छ, विस्तारै बोल्दा नसुनेपछि मान्छे चर्को बोल्छ । अहिले यत्रतत्र जुन भाँडभैलो सुनिँदैछ, यो त्यही आक्रोशको चर्को स्वर हो ।

जब निरास मान्छे सामाजिक सञ्जालमा प्रवेशगर्छ, उ चर्को बोलेर आफ्नो आक्रोस दुनियाँलाइ सुनाउन चाहन्छ । तर, उ त्यतिमा मात्र रोकिँदैन । सामाजिक सञ्जालको पछिल्लो प्रवृत्तिले मान्छेमा भाइरल हुने महत्वाकांक्षा जागृत गर्छ । भाइरल हुने लोभमा मान्छेले आफ्नो रिसलाई अझ चर्को बनाउँछ ।

रह्यो सामाजिक सञ्जालको कुरा, सञ्जाल अहिले अराजकता र आक्रोश पोख्ने माध्यम भएको छ । जब निरास मान्छे सामाजिक सञ्जालमा प्रवेशगर्छ, उ चर्को बोलेर आफ्नो आक्रोस दुनियाँलाइ सुनाउन चाहन्छ । तर, उ त्यतिमा मात्र रोकिँदैन । सामाजिक सञ्जालको पछिल्लो प्रवृत्तिले मान्छेमा भाइरल हुने महत्वाकांक्षा जागृत गर्छ । भाइरल हुने लोभमा मान्छेले आफ्नो रिसलाई अझ चर्को बनाउँछ । लाइक, सेयरिंग र भ्युज बढाउने लालसाले उ झन् उग्र, तीव्र र अराजक बन्दै जान्छ । ज्ञानले उसलाई नियन्त्रण गर्दैन । नेतृत्वले उसलाई सम्हाल्दैन । विश्वास, आदर्श र सपनाहरूले उसलाई रोक्दैनन् । उ भाँडिदै जान्छ । वस्तुतः यसरी भाँडिनु नै आजको हाम्रो सामाजिक चरित्र हो ।

विषवृक्ष

किन यस्तो भयो ? किन मान्छे गालीमा रमाउन थाल्यो ? किन भड्कियो हाम्रो तर्क, सोच र चिन्तन धारा ? यसका अनेकौं समाजशास्त्रिय कारणहरू होलान् । तर यो सबै हुनुको एउटा मुख्य कारण हो हाम्रो राजनीति ।

किनभने, आज हामीलाई निरास कसले बनायो ? हाम्रा लोकतान्त्रिक आदर्शहरूको तेजोवध कसले गर्‍यो ? हाम्रा परिवर्तन, समृद्धि र सामाजिक न्यायका सपनालाई कसले चिहानमा पुर्‍यायो ? हाम्रो विश्वास, आदर्श र सपनाहरूको हत्या कसले गर्‍यो ? राजनीतिले । पछिल्ला वर्षहरूमा राजनीति यतिधेरै विशृंखलित भयो कि न त आन्दोलनले स्थापित गरेका आदर्श कसैले सम्झिए, न त सडकमा पोखिएको सपनाको बिस्कुन नै कसैले देख्यो । भाँडभौलोको पहिलो कारण यही हो ।

यस्तो हुँदै गयो कि, आज सबै दल आफ्नो आफ्नो स्वार्थको सगरमाथा बनाउन लागेका छन् । साझा आदर्श भाँडमा जाए, दलहरूलाई आफ्नै रंगको सगरमाथा उभ्याउनु छ । कार्यकर्तालाई आफ्नै नेताको स्तुतिमा रमाउनु छ । शुभेच्छुकलाई किंचित भ्रष्ट नै सही आफ्नै नेताको मन्दिर बनाउनु छ । हामी अरुलाई होचो देखाएर आफू अग्लो बन्ने प्रयत्नमा छौं ।

राजनीतिक कार्यकर्ताहरू अरुको सत्यमाथि कालो पोतेर आफ्नो झुटको महाकाव्य लेख्न कलम तिखार्दैछन् । जब राजनीतिले समाजमा पूर्वाग्रह रोप्दैछ त सद्भावको बगैँचा बन्छ कसरी ? यसको अर्थ हो राजनीतिले हामीलाई जोड्न सकेन, बरु विभाजित गर्‍यो । अर्थात, हामी अनेकौं मान्छेहरू सँगै त छौ, तर एकाकार छैनौं । त्यसैले हामी हजारतिर फर्किएका छौं । हजारतिर फर्किएको समाज एउटै लयमा कसरी हिँड्न सक्छ ?

आफ्ना कमजोरीहरू लुकाउन दलहरूले जे जस्ता भाष्य बनाए, त्यो स्थापित गर्न कार्यकर्ता परिचालित गरिए । दलहरूकै आकडालाई मान्ने हो भने, नेपालमा झण्डै ३० लाख मान्छे दलको सदस्य छन् । अर्थात, ती लाखौं मान्छेहरू आ–आफ्नो भ्रमलाई काँधमा बोरेर प्रचारप्रसारमा निस्किएका छन् । उनीहरूको कामै पूर्वाग्रहलाई स्थापित गर्नु हो ।

जब हाम्रा राजनीतिक दल शासनसत्ता सञ्चालनमा असफल भए, आफ्ना असफलतालाई स्विकार गर्ने विनम्रता उनीहरूमा देखिनुपर्थ्यो । लोकतन्त्रको सुल्टो बाटो हो त्यो । तर, उनीहरू त आफ्नो असफलता ढाकछोप गर्न उल्टो कम्मर कसेर पो निस्किए । यसका लागि उनीहरूले आफ्ना पक्षमा अनेक भाष्यहरू निर्माण गरे । सत्यको हुर्मत लिने भाष्य । तथ्यलाई गिज्याउने भाष्य । तर्कलाई अल्मल्याउने भाष्य । निष्ठा बिनाको भाष्य । नीति र राजनीति विनाको भाष्य । गाली, आवेश र पूर्वाग्रहको भाष्य । ज्ञानको धज्जी उडाउने भाष्य । मान्छेलाई भ्रमित गर्ने भाष्य ।

आफ्ना कमजोरीहरू लुकाउन दलहरूले जे जस्ता भाष्य बनाए, त्यो स्थापित गर्न कार्यकर्ता परिचालित गरिए । दलहरूकै आकडालाई मान्ने हो भने, नेपालमा झण्डै ३० लाख मान्छे दलको सदस्य छन् । अर्थात, ती लाखौं मान्छेहरू आ–आफ्नो भ्रमलाई काँधमा बोकेर प्रचारप्रसारमा निस्किएका छन् । उनीहरूको कामै पूर्वाग्रहलाई स्थापित गर्नु हो । यसरी चुनावका नाममा, पार्टी प्रचारका नाममा, सम्मेलनका नाममा, आन्दोलनका नाममा समाजमा राजनीतिक भ्रम, पुर्वाग्रह र गाली स्थापित हुँदै गए । बस, भ्रम र सत्यको पौंठेजोेरीमा ३० लाख मान्छे (सबै हैन, अधिकतम्) भ्रमको पक्षमा लड्दैछन् त भाँडभैलो नभएर के हुन्छ ? आजको मुख्य दुर्भाग्य यही हो ।

अराजकता कि विद्रोह ?

स्वभावतः निरास समाज जाने दुई वटा बाटो हुन्छ । एउटा उ अराजकतातिर जान्छ, दोश्रो विद्रोहतिर । हाम्रो समाज अराजकतातिर जाँदैछ । यसको बिद्रोहतिर जाने बाटो अहिले बन्द छ । किनभने यसलाई अराजकता तिर लैजान अनेक संरचना, उर्जा र षडयन्त्रले काम गरिरहेका छन् । जानेर वा नजानेर हाम्रा औपचारिक र अनौपचारिक संरचना र राजनीतिक दलहरू त्यसलाई मलजल गरिरहेका छन् । किनभने अराजकता सजिलो बाटो हो ।

यद्यपि, यो जानुपर्ने थियो बिद्रोह तिर । अथवा, सचेत परिवर्तन तिर । तर, त्यसका लागि वैचारिक तथा राजनीतिक गम्भिर्यता चाहिन्छ । अहिले खडेरी परेकै त्यही गम्भीरताको हो । अतः यो निरासा र अराजकताको समय हो । यो भड्काव र भाँडभौलोको समय हो ।

केही भावनात्मक भएर भन्दा हाम्रो समाजलाई चारवटा कुराले लयमा फर्काउन सकिन्छ । पहिलो आशा र सपना जागृत गर्ने । दोश्रो साझा राष्ट्रिय लक्ष्य बनाउने र मान्छेलाई गोलबन्द गर्ने । तेश्रो आदर्शहरूबाट मान्छेलाई उत्प्रेरित गर्ने । चौथो सुसंस्कृत र सिर्जनशिल राजनीतिले त्यसलाई नेतृत्व दिने ।

यी चारवटा पक्ष कसरी स्थापित हुन्छन् ? यी भावनात्मक पक्षलाई ठीक ठाउँमा ल्याउन भौतिक र संरचनागत पक्षको पुनर्गठन आवश्यक पर्छ । त्यसका लागि राजनीति पुनर्गठन त मुख्य कुरा हो नै, हाम्रो सार्वजनिक संरचना, ज्ञान, नेतृत्व र सोचको समेत पुनर्गठन आवश्यक छ । सचेत सामाजिक हलचल । अन्यथा चर्का नारा उरालेर र अराजकतामा रमाएर कतै पुगिँदैन । मुख्यतः विवेकहीन अराजकताले आखिर भ्रष्ट सत्ताकै रक्षा गर्छ । त्यसैले, अहिलेको भड्काव र भाँडभैलो निकै खतरनाक छ । विचार गरौं ।

[email protected]


Comment

One thought on “कसले भाँड्दै छ हाम्रो समाज ?

  1. “सबैमा एक अर्काप्रति तीव्र अविश्वास छ । जस्तो कि मधेसलाई, पहाडको अविश्वास । दलितलाई, खसआर्यको अविश्वास । महिलालाई पुरुषको अविश्वास । कांग्रेसलाई कम्युनिस्टको अविश्वास । मतदातालाई नेताको अविश्वास ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved