पाँच दलबीच समाजवादी मोर्चा बनाउने कसरत, कसरी हट्लान् यस्ता अड्चन

समाजवादी मोर्चा बनाउन यी दलबीच छुट्टाछुट्टै छलफल भइरहेको नेताहरुले बताएका छन् । पहिले चारदलबीच समाजवादी मोर्चा बनाउने गृहकार्य भए पनि पछिल्लो पटक यसमा विप्लव नेतृत्वको नेकपालाई समेत समेट्ने तयारी भएको हो । 

नेपालभ्युज

पाँच दलबीच समाजवादी मोर्चा बनाउने कसरत, कसरी हट्लान् यस्ता अड्चन

काठमाडौं । पाँचवटा दलबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल अघि बढेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच मोर्चा बनाउने तयारी भएको हो ।

समाजवादी मोर्चा बनाउन यी दलबीच छुट्टाछुट्टै छलफल भइरहेको नेताहरुले बताएका छन् । पहिले चारदलबीच समाजवादी मोर्चा बनाउने गृहकार्य भए पनि पछिल्लो पटक यसमा विप्लव नेतृत्वको नेकपालाई समेत समेट्ने तयारी भएको हो ।

मोर्चाको पहल भएपछि माओवादी र नेसपाबीच एकता प्रक्रिया पनि अघि बढ्न सकेको छैन । अहिले पाँच दलबीच मोर्चा बनाएर पछि एउटै पार्टी बनाउने गरी छलफल अघि बढेको सहभागी नेताहरूले बताएका छन् । यसका लागि माओवादीका दोस्रो तहका नेता लागिरहेका छन् । कृष्णबहादुर महरा लगायतले नेत्रविक्रम चन्द विप्लवसँग पटक-पटक छलफलसमेत गरिसकेका छन् ।

दुई दलबीच पनि पहिले संयुक्त मोर्चा बनाउने र पछि पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ । यसलाई कतिपयले नेसपासँग एकता नगर्ने र विप्लवलाई पार्टीमा भित्रयाउने प्रचण्डको योजनाका रूपमा समेत व्याख्या गरेका छन् ।

अघि बढेन माओवादी-नेसपा एकता

चुनावअघि नै पार्टी एकता गर्ने भन्दै एउटै चिन्हबाट मैदान उत्रिएका माओवादी र नेसपाबीचको एकता प्रक्रिया अहिले अवरुद्ध देखिएको छ । तत्काल एकताका लागि प्रचण्ड इच्छुक नदेखिएको नेसपा नेताहरूको बुझाइ छ । एकताका लागि नाम परिवर्तन गर्ने सहमति यसअघि नै भएको थियो । तर, अहिले प्रचण्डमा आफ्नै शर्तमा भए एकता हुने नत्र नहुने भन्ने खालको दम्भ देखिएको नेसपा नेताहरू बताउँछन् ।

यद्यपि, नेसपाबाट वार्ता टोलीका संयोजकसमेत रहेका वरिष्ठ उपाध्यक्ष गंगानारायण श्रेष्ठ भने बजेटको तयारीका कारण एकता प्रक्रियामा ढिलाइ भएको बताउँछन् । उनी भन्छन्,  “पाँच दलबीच मोर्चाको कुरा पनि चलिरहेको र बजेटले नेताहरू व्यस्त भएकाले छलफल अघि बढ्न नसकेको हो । बजेट लगत्तै एउटा टुङ्गोमा पुग्छौं ।”

नेसपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विचार मिल्ने शक्तिसँग समाजवादी मोर्चा बनाउने निर्णय गरेको थियो । सोहीअनुसार अब आफूहरू अघि बढ्ने श्रेष्ठ बताउँछन् ।

समाजवादी मोर्चा बनाउन समस्या 

पाँच दलबीच समाजवादी मोर्चा बनाउन छलफल अघि बढे पनि सहज भने देखिएको छैन । पहिले एउटै पार्टीमा रहेर छुट्टिएका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सम्बन्ध सुमधुर हुन सकेको छैन । मोर्चाका लागि भएका छलफलमा विशेषगरी यादवले बाबुरामको नाम सुन्नासाथ नाक खुम्च्याउने गरेका छन् ।

बाबुराम भने समाजवादी मोर्चा बनाउन अब विगत बिर्सेर अघि बढ्न तयार देखिन्छन् । तर, उनी पनि कसैसँग लत्रिने पक्षमा भने छैनन् । तत्काल पार्टी एकता गर्नुपर्छ भन्ने पार्टीका केही नेतालाई उनले भन्ने गरेका छन्, “कसैलाई जान मन छ भने गए हुन्छ तर एकता सम्मानजनक र समाजवादी मोर्चा बन्नेगरी अगाडिको बाटो तय हुनुपर्छ, कसैसँग झुकेर एकता र मोर्चाबन्दी हुँदैन।’

यता विप्लवसहितको मोर्चा बनाउने र पछि पार्टी एकता गर्ने प्रचण्डको तयारीप्रति माओवादीका दोस्रो तहका नेता पनि सन्तुष्ट देखिएका छैनन् । विप्लवसँग वार्ता गर्न प्रचण्डले महरालाई खटाए पनि जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायतका नेता असन्तुष्ट रहेको स्रोतको दाबी छ ।

विगतमा यी नेताबीच को अघि जाने भन्ने प्रतिस्पर्धा थियो । विप्लवले पार्टी छाडेर गएपछि दोस्रो तहको शक्ति संघर्ष मत्थर भएको थियो । प्रचण्डले आफू शक्तिमै रहिरहन विप्लवलाई भित्र्याएर फेरि दोस्रो तहका नेतालाई एक आपसमा लडाउने योजना बनाइरहेको उनीहरूको बुझाइ छ ।

प्रचण्डले पेलेर अघि बढ्न खोजे अहिले माओवादीमा दोस्रो तहमा रहेका सबै नेता मिलेर प्रतिवाद गर्ने सम्भावना रहेको एक नेताले बताएका छन् । अब बस्ने माओवादीको बैठकमा यसबारे चर्काचर्की पर्नसक्ने उनले बताए ।

समाजवादी मोर्चा बनाउन एकीकृत समाजवादी अहिलेसम्म तयार भइसकेको छैन । उक्त पार्टीका कतिपय नेता अहिले पनि नेकपा एमालेसँग मिल्नुपर्ने पक्षमा छन् । त्यसैले, शीर्ष नेतृत्व अलमलमा देखिन्छ । अध्यक्ष माधवकुमार नेपाल भने एमालेसँग मिल्ने पक्षमा देखिएका छैनन् । उनी अरुलाई मनाएर समाजवादी मोर्चातिरै अघि बढ्नुपर्ने पक्षमा रहेको बताइन्छ । तर, प्रचण्डमा पछिल्लो पटक बढेको दम्भ भने नेपाललाई पनि मनपरेको छैन ।

यस्ता अनेक खालका अड्चन हटाएर समाजवादी मोर्चा बनाउन सहज नभएको वार्तामा सहभागी नेताहरू नै बताउँछन् । यद्यपि, बजेट पारित भएपछि यसका लागि एकपटक कसरत भने हुने उनीहरूको भनाइ छ । विशेषगरी, अब बस्ने माओवादीको केन्द्रीय समिति बैठक नै यसका लागि निर्णायक हुने देखिएको छ ।

उक्त बैठकले गर्ने निर्णयले नै समाजवादी मोर्चा बन्ने/नबन्ने र माओवादीले अन्य दलसँग गर्ने भनेको एकता प्रक्रिया के हुने भन्नेबारे स्पष्ट हुने पाँचै दलका नेताको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved