नयाँ दिल्ली। माओवादी सशस्त्र विद्रोह उत्कर्षमा रहँदा, उनीहरू धर्मलाई अफिम भन्थे। मार्क्सको धर्मलाई अफिम भन्ने संज्ञाको अपव्याख्या गर्दै त्यसबेला धर्ममाथि लगातार प्रहार भए।
विकासको बाधक धर्म नै भएको भन्दै सर्वसाधारणलाई धर्म नमान्न उर्दी नै जारी हुन्थ्यो। धर्ममा अन्धविश्वास हुने र जनता त्यसको भक्त भएकाले विकासका बाधक बनेको माओवादीको तर्क थियो।
भौतिकवादी चिन्तन बोकेका कट्टरपन्थी कम्युनिस्ट राजनीतिक दर्शन अँगालेका थिए, तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले। उनकै निर्देशनमा रामेछापमा कार्यकर्ताले गाई समेत काटेर भोज खाए। केही ठाउँमा मन्दिर भत्काए। उदयपुरमा किरिया गर्न लाग्दा माओवादीले ढिकुरो भत्काइदिए, काजकिरिया गर्न दिइएन। माओवादीका कैयौँ कार्यकर्ताले पछिसम्म दसैँमा टिका समेत लगाएनन्। परम्परागत मान्यता भत्काउने भन्दै हिन्दुधर्मालम्बीहरु माथीको आस्थामा यतिसम्म प्रहार भयो कि, जनसत्ताको निर्णय अवज्ञा गर्ने दर्जनौँ मन्दिरका पुजारी कुटिए।
000
‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ पहिलो पटक २०६५ र दोस्रो पटक २०७३ मा प्रधानमन्त्री बनेका प्रचण्डलाई तत्कालीन राष्ट्रपतिले शपथ गराउँदा उनले भने ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् प्रचण्डले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए।
अहिले तेस्रो पटक प्रधानमन्त्री बन्दा ११ पुस २०७९ मा उनकै दल नेकपा माओवादी केन्द्रको पहलमा शपथसम्बन्धी नयाँ ऐन बनिसकेको थियो। साउन २०७९ मा बनेको नयाँ ऐन अनुसार ईश्वरको नाममा शपथ नलिने कानुनी रूपमै छुट पनि छ।
विकल्पमा जनताको नाममा पनि शपथ लिन पाइन्छ । यसअघि ईश्वरको नाममा मात्र शपथ लिने व्यवस्था थियो। तर, ईश्वरको नाममा भन्न नचाहनेहरूले देश र जनताको नाममा भनेर शपथ लिने गर्दथे।
000
धर्मलाई अफिम, विकासको बाधक भन्ने र भगवान्को साटो देश र जनताका नाममा शपथ खाएका उनै प्रचण्डले शुक्रबार उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेका छन्। चार दिने भारत भारत भ्रमणमा रहेका प्रचण्डले भ्रमणको तेस्रो दिन नयाँ दिल्लीबाट शुक्रबार इन्दोर पुगे। बिहान ११ बजे कालेश्वर मन्दिरमा पुगेर पूजा अर्चना गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले आध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए। उनले भनेका थिए, ‘‘सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, भोलि इन्दोर र धार्मिक सहर उज्जैनको यात्रा गर्नुहुनेछ। मलाई विश्वास छ, तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरको यस यात्रामा तपाईँलाई आध्यात्मिक अनुभूति मिल्नेछ।’’ त्यसको भोलिपल्ट प्रचण्ड गेरु वस्त्र धारण गरेर १ सय ८ किलोको रुद्राक्ष चढाएर पूजा पाठ गरिरहेको फोटो सञ्जालमा भाइरल छ।
ईश्वरका नाममा शपथसमेत नलिने उघ्र कम्युनिस्ट क्रधङधङी बोकेका प्रधानमन्त्री प्रचण्ड एकाएक ‘पूजा’ गर्न किन गए होलान् ? जबकि गणतन्त्र प्राप्तिपछिका कुनै पनि बहालवाला प्रधानमन्त्रीले बाहिर देशमा गएर त्यसरी पूजा गरेका थिएनन्। हालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष भनेको छ। त्यो लेख्न प्रधानमन्त्री प्रचण्डकै ठुलो हात छ।
अहिले प्रचण्ड आफैँ भ्रमणमा रहेको छिमेकी देश भारतमा एउटा ठुलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र पूजाआजा गर्ने चलन अरू बढाएका छन्। के त्यसैको सिको प्रचण्डले भारतबाटै थालेको होलान् त ?
‘‘नेपालको सीमापारिझैं धार्मिक जनमत आफूतिर तान्ने सिलसिला सरकार प्रमुखबाटै सुरु हुन लागेको हो देखिन्छ’’ कूटनीतिक मामिलाका जानकारहरू भन्छन्। ‘‘भारतीय प्रधानमन्त्री नेपालको पशुपतिमा गएर विशेष पूजा गर्न हुने। हाम्रा प्रधानमन्त्रीहरू भारतमा गएर कुनै मन्दिरमा पूजा गर्न नहुने? किन आलोचना गर्ने ?’’ प्रचण्डको बचाउमा कतिपयको तर्क छ।
भारतीय सत्ताप्रतिको निकटता प्रदर्शन
पछिल्लो कालमा प्रचण्ड हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनप्रति अतिरिक्त अनुराग बढेको देखिन्छ। उनी हुर्किएको कम्युनिस्ट राजनीतिको स्कुलिङ भने यसको विपरीत हो\थियो ।
अन्तर्राष्ट्रिय मामिला विज्ञ र कूटनीतिका जानकार बुद्धि शर्मा भने प्रचण्डको यस गतिविधिलाई भारतीय सत्ताप्रतिको निकटता प्रदर्शनको रूपमा व्याख्या गर्छन्। त्यति मात्र नभई आध्यात्मिकता जागेका हुनसक्ने उनको बुझाइ छ।
‘‘भारतीय सत्ताप्रतिको निकटता प्रदर्शन गरेको हुन पनि सक्छन्। कुनै गुरु महाराजको सुझाव अनुसार गरिएको प्रायश्चित पूजा हुन सक्छ भन्ने छ। अस्थिर स्वभावका प्रचण्ड मानसिकरुपमा केही वर्षयता अलि तनावमा छन् भन्ने सुनिएको थियो। ज्योर्तिलिगं प्रभुको दर्शनबाट प्रायश्चितका साथै मानसिक शान्तिको चाह गरेको पनि हुनसक्छ’’ उनी भन्छन्।
नेपालमा हिन्दु धर्मावलम्बीहरूको ठूलो समूह छ। त्यसलाई भौतिक उपस्थितिले सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई लागेको हुन सक्ने उनको भनाइको आशय देखिन्छ।
प्रचण्डले गेरु वस्त्र लगाएर मन्दिरमा पूजा गरेपछि विपक्षी राजनीतिक दलका नेताहरूले भने व्यङ्ग्य गरेका छन्। एमाले नेता गोकुल बास्कोटाले भन्छन्, ‘‘वाह ! क्या चेन्ज आएछ। हिजो हिजो रातै रातो, आज गेंरूरंग । सिद्धान्तको रङ्ग खैरो जीवनको रङ्ग हरियो भन्थे मदनले । प्रभुको इच्छा वा पूर्वीय जीवनदर्शन र सांस्कृतिक मान्यताको बोध ?समयले थप बताउँला ।’’
हुन त ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीले पूजा गरेको यो पहिलो पटक होइन। २ वर्षअघि पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पशुपति मन्दिरमा पूजा गर्न गएका थिए। संवभत कम्युनिस्ट पार्टीका पशुपति नेता मन्दिर गएर पूजा गरेको पहिलो घटना त्यही थियो। २०६५ मा भने प्रचण्डले नै पहिलो पटक प्रधानमन्त्री बन्दा चतरामा भैँसी पूजा गरेका थिए।
भौतिकवादीदेखि आध्यात्मिकसम्म
धार्मिक संकीर्णताले नेपाली समाजको गति र विकास रोकिएको टिप्पणी गर्ने माओवादी शान्तिप्रक्रियासँगै सत्तामा आएपछि धर्मकर्ममा रमाइरहेको छ।
माओवादी पार्टीका नेतृत्वकर्ता प्रचण्डले कम्युनिस्टको सामान्य माग दर्शनसमेत भुलिरहेको देखिन्छन्।
यसविचमा प्रचण्डले कहिले भैँसी पूजा गरे, कहिले बाबा रामदेवको आशीर्वाद थापे। प्रचण्ड कहिले पूजापाठमा लागे त कहिले धार्मिक कार्यक्रम उद्घाटनमा समय खर्चिए।
उनी कम्युनिस्टको मूलमन्त्र भौतिकवादी दर्शन भुलेर धर्मकर्ममा रमाइरहेका छन्। तसर्थ, उनीहरूकै पहिलेकै भाषामा भन्ने हो भने अन्धविश्वासका भक्त भएर प्रचण्ड स्वयं विकासका बाधक बन्दैछन्।
Facebook Comment
Comment