अब आमाको नामबाट पनि नागरिकता

नेपालभ्युज

अब आमाको नामबाट पनि नागरिकता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार (आज) प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरीकन शीतल निवासमै थन्काएर राखेको विधेयक पौडेलले प्रमाणीकरण गरेका हुन् । यो विधेयक राजपत्रमा प्रकाशित भएपछि कानूनका रूपमा लागू हुनेछ ।

नागरिकता विधेयक प्रमाणीकरण भएपछि नेपालको संविधान २०७२ ले नागरिकतासम्बन्धी गरेको व्यवस्था कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

अब यसपछि आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिनेछ अर्थात् नेपाली आमाबाट जन्मिएर यहीँ हुर्केका तर, बुवाको पहिचान नखुलेको व्यक्तिले आमाको नामबाट नागरिकता पाउनेछन् ।

यो व्यवस्था २०७२ को संविधानकै व्यवस्था हो । तर बाबु विदेशी ठहर भएमा वंशजको आधारमा पाएको नागरिकता अंगीकृतमा परिणत हुनेछ । यो व्यवस्थाअनुसार आमाको नामबाट वंशजको नागरिकता लिन भने केही सर्त पालना गर्नुपर्ने छ ।

त्यस्तो नागरिकता लिन चाहने व्यक्तिले बाबु र आमाले श्रीमान् पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्ने हुन्छ । यद्यपि आमाको पनि मृत्यु भइसकेको वा ठेगानमा नरहेको अवस्था भए त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछ । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ ।

तर स्वघोषणा गर्दा झुटो ठहरिए कारबाहीको भागीदार हुनुपर्ने व्यवस्था पनि छ । बाबुको पहिचान हुन नसकेको भनी झुटो स्वघोषणा गरेमा १ देखि ३ वर्षसम्म कैद वा १ देखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनेछ ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved