हावाहुरीले किसानको करोडौँ क्षति, सरकार बेखबर (भिडिओ)

दिनरातको मेहनत र लाखौंको लगानी हावाले उडाएपछि किसान मानसिक पीडामा

किसानहरू टनेलभित्र रहरलाग्दो गरी फलेका गोलभेँडा, काँक्रा, करेला, सिमीलगायतका तरकारी बजारमा बेच्न जाने तरखर गर्दै थिए। केहीमा झपक्क फूल खेलेको थियो। केही सातामै बजारमा बेच्न पाउनेमा मक्ख थिए। दिनरात खटेर फलाएको तरकारी बजारमा लगेर बेचुँला र पैसा कमाउँला भन्ने सपना हावाहुरीले उडाइदियो।

हावाहुरीले किसानको करोडौँ क्षति, सरकार बेखबर (भिडिओ)

काठमाडौं। रामेछापका ४२ वर्षीय कमल श्रेष्ठ काठमाडौंको टोखा साङलामा तरकारी खेती गर्छन्। १७ रोपनी जग्गा भाडामा लिएर पाँच वर्षदेखि व्यावसायिक खेती गर्दैआएका छन्। प्लास्टिकका ३० वटा टनेल (तरकारी फलाउने घर) उनले बनाएका छन्।

टनेलभित्र रहरलाग्दो गरी फलेका गोलभेँडा, काँक्रा, करेला, सिमीलगायतका तरकारी बजारमा बेच्न जाने तरखर गर्दै थिए। केहीमा झपक्क फूल खेलेको थियो। केही सातामै बजारमा बेच्न पाउनेमा मक्ख थिए। दिनरात खटेर फलाएको तरकारी बजारमा लगेर बेचुँला र पैसा कमाउँला भन्ने सपना हावाहुरीले उडाइदियो।

गतसाता सोमबार र मंगलबार दुईसदन साँझ आएको हावा हुरीले उनको खुसी चुँडिदियो। १० वटा टनेलभित्रका तरकारीमा क्षति भयो। टनेल पनि त्यही हावामै उडेर गयो। हावाहुरीले कमलको टनेल र तरकारीमा मात्रै क्षति पुर्‍याएन। उनलाई मानसिक रूपमै असर पुर्‍यायो।

लाखौँ रुपैयाँ बराबरको उत्पादन निमेषभरमै सखाप भएपछि कमल न हाँस्न सके न रुन नै। तरकारी बेचेर हरिया पैसा गन्नुपर्ने समयमा उनी टनेल भत्किएर थिचेपछि सुकेका तरकारीका बोट मिलाउँदै दैनिकी बितिरहेको छ।

कमल भन्छन्, ‘‘प्रकृतिले पनि हामी किसानलाई सहेन, भत्किएका टनेल र भाँचिएका तरकारीका बोट हेरेर चित्त बुझाउनुपरेको छ, कोसँग हारगुहार गर्नु ?’’

रामेछाप घर भएर टोखा साङ्लामा तरकारी खेती गर्दैआएका रोशन श्रेष्ठको व्यथा पनि फरक छैन। त्यही हावाहुरीले १२ वटा टनेल च्यातच्युत पारिदियो। फलेका तरकारीका सत्यानाश भयो। च्यातिएका प्लास्टिकलाई टाल्न पनि नमिल्ने। ऋण गरेर टनेल बनाएर तरकारी खेती गरेका उनको तरकारी क्षति भयो। आम्दानी गुमाए।

दु:खेसो पोख्दै रोशन भन्छन्, ‘‘‘टनेल भत्कियो। मंसिरसम्म फल दिने तरकारीका बोट भाँचिए। आम्दानीको स्रोत भाँचियो। समग्र हातखुट्टै भाँचियो, जसले ऋण तिर्न सहयोग पुग्थ्यो। घरको न घाटको झैँ भएँ।’’

दुई दिनको असिनापानीले तरकारीका चिचिला लागेका कैयौँ बोट भाँचिए। हावाहुरीबाट बचेका तरकारीका बोटमा पनि राम्रो फल भई उत्पादन हुनेमा किसानहरू ढुक्क छैनन्। ‘‘असिनाले सखाप बनायो, चिचिला सबै झर्‍यो। बचेका पनि भाँचिएका र मर्केका बोट भएकाले राम्रो फल दिँदैन’’ किसान रोशन श्रेष्ठ भन्छन्।

खेतीमा बेहिसाब क्षति

कमल श्रेष्ठ र रोशन श्रेष्ठ त प्राकृतिक प्रकोपका कारण बालीनाली स्वाहा भएका किसानका उदाहरण मात्रै हुन्। टोखा साङ्लामा अघिल्लो साता सोमबार र मंगलबार आएको हावाहुरी र असिनापानीले किसानलाई करोडौँ क्षति पुर्‍याएको छ।

बिक्रीका लागि तयार तरकारी बालीमा हावाहुरी र असिनापानीले पूर्ण रूपमा क्षति पुर्‍याउँदा किसान चुर्लुम्मै डुबेका छन्। न फेरि सुरु गर्न सकेका छन्, न त कृषि पेसा नै त्याग्न। पानी तथा असिना वर्षैपिच्छे परिरहने भए पनि यस पटक धेरै क्षति पुर्‍याएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिकाको साङ्ला र बुढानीलकण्ठ नगरपालिकामा पर्ने टोखामा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी खेतीमा क्षति पुर्‍याएको हो। करोडौँ लगानी गरेर टनेल बनाएर तरकारी खेती गरेका किसानका तरकारी खेतीमा क्षति पुर्‍याएको हो।

साङ्लामा ११ जना किसानका १ सय बढी टनेलमा क्षति पुगेको छ। तरकारी खेतीका लागी लगाएको प्लास्टिकका टनेल उडाउँदा झन्डै करोड रुपैयाँ बराबरको क्षति भएको किसानले बताएका छन्। टमाटर, सिमी, काँक्रा, बोडी, करेलालगायतका बोटमा क्षति पुगेको किसान कमल श्रेष्ठले बताए।

कमल श्रेष्ठको १७ रोपनी जग्गामा ३० ओटा टनेल रहेकोमा १० वटामा क्षति पुगेको छ। जसमा १० लाख रुपैयाँ बढीको क्षति पुगेको उनी बताउँछन्। रोशन श्रेष्ठको १६ रोपनी क्षेत्रफलमा गरिएको छ।

उनको पनि १२ लाख बढीको क्षति भएको छ। रोशन भन्छन्, ‘‘३० ओटा टनेल छ। १२ ओटा क्षति भएको छ। १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ।’’ दिलबहादुर श्रेष्ठ, नरेन्द्रकुमार श्रेष्ठ, हर्कबहादुर खत्री र अजय श्रेष्ठलगायतको पनि उत्तिकै क्षति भएको छ।

तरकारी फल्ने मुख्य सिजनमै टनेल उडाउँदा र तरकारीका बोट भाँचिदा किसान मर्कामा छन्। टमाटर काँक्राको सिजन वैशाखदेखि मंसिरसम्म ८ महिना मानिन्छ। मुख्य सिजनमा ठूलो क्षति बेहोर्नुपरेका कृषक कमल श्रेष्ठले बताए।

किसानले जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन्। एक वर्षको एक रोपनीको भाडा ३० हजार बढी पर्छ। मुख्य सिजनमै तरकारी बाली क्षति भएपछि आफूहरू सडकमा आइपुगेको किसानको गुनासो छ।

किसान कमल श्रेष्ठ भन्छन्, ‘‘साहुलाई भाडा बुझाउनुपर्छ। कामदारलाई तलब दिनुपर्छ। मल, बिउ किनिनसक्नु छ। मुख्य सिजनमै यत्रो क्षति भयो। हामी त सडकमा आयौँ।’’

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले किसानको समस्याबारे जानकार रहेको र राहतबारे केही निर्णय गर्ने तयारीमा रहेको बताए।

उनले भने, ‘‘हावाहुरीले क्षति गरेको हामीलाई जानकारीमा छ। हामी प्रक्रिया पूरा गरेर उनीहरूलाई केही राहत दिनेबारेमा कार्यपालिका बैठकमा छलफल गर्नेछौँ। क्षति बराबरको राहत दिन नसके पनि न्यूनतम केही दिन पहल गर्नेछौँ।’’

किसानहरूले भने आफूहरूले भत्किएको टनेल बनाउन बाँस र प्लास्टिक मात्रै अनुदानमा सहयोग पाए पनि फेरि तरकारी खेती सुरु गर्ने बताउँछन्। भत्किएको टनेल बनाउँदै गरेका नरेन्द्रकुमार श्रेष्ठले भने, ‘‘हामीलाई ठूलो आस छैन। अहिलेको लागि बाँस र प्लास्टिक मात्रै पाए पनि काम सुरु गर्न सक्थेँ।’’

सेना, प्रहरीमा अवकाश पाएका २ जना र विदेशबाट फर्किएर आएका युवाहरूले व्यवसायी तरकारी खेती सुरु गरेका हुन्। हर्कबहादुर पुलिस र कमल आर्मीबाट रिटायर भएका हुन्।

भिडिओ-

उनीहरूले २०७५ देखि व्यावसायिक रूपमा तरकारी खेती गरिरहेका छन्। दिलबहादुर, नरेन्द्र कुमार, अजय श्रेष्ठ, रोशन श्रेष्ठहरू साउदी, मलेसिया र कतारबाट फर्केर आएका हुन्।

उनीहरूले आफ्नो फार्ममा उत्पादन भएको तरकारी कालीमाटी तरकारी बजारमा पठाउने गरेका छन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved