कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

नेपालभ्युज

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।

हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ । यसअघि छ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो ।

गाउँपालिकाका अनुसार यसवर्ष एक र ७ नं वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरूवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ ।

“कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ”, पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भने ।

शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवर्द्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ ।

सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा १/१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिइ सुरूवातदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए ।

उनले भने, “बाँकी दुईवटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।” उनका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक रू ५० हजारदेखि आठ लाखसम्म आम्दानी गर्ने किसान छन् ।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नं ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो ।

उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफीखेतीमा संलग्न छन् । कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी–कफीको फल उत्पादन भएको थियो ।

एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरूवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved