आईपीएल : गुजरातसँग हारेको बेंग्लोर बाहिरियो, मुम्बई प्ले अफमा

नेपालभ्युज

आईपीएल : गुजरातसँग हारेको बेंग्लोर बाहिरियो, मुम्बई प्ले अफमा

एजेन्सी । गुजरात टाइटन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको प्ले अफ नपुगी बाहिरिएको छ ।

गएराती चेन्ना स्वामी स्टेडियममा भएको खेलमा शीर्ष स्थानको गुजरातले बेंग्लोरलाई ६ विकेटले हरायो ।  जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

गुजरातको जितमा शुभमन गिल ५२ बलमा ५ चौका र ८ छक्कासहित १ सय ४ रनमा नटआउट रहे । गिलको यो लगातार दोस्रो शतक हो ।  बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । बेंगलोरका विराट कोहली १ सय १ रनमा नट आउट रहे ।

कोहली योसँगै आइपिएलमा सर्वाधिक ७ शतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनीपछि क्रिस गेलले ६ र जस बटलरले ५ शतक प्रहार गरेका छन् । जारी आईपीएलमा कोहलीको यो लगातार दोस्रो शतक समेत हो ।

बेंगलोर बाहिरिँदा मुम्बई इन्डियन्सले भने प्लेअफमा स्थान बनाएको छ । मंगलबार पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुनेछ ।

विजेता टोली फाइनलमा पुग्नेछ  । पराजित टोलीले लखनउ र  मुम्बईबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved