संसदमा प्रश्नोत्तर

प्रधानमन्त्री भर्सेज सांसद : केही प्रशंसा, केही व्यङ्ग्य र केही अठोट

प्रतिनिधिसभामा बिहीबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा पन्ध्रभन्दा बढी सांसदले जिज्ञासा राखे। सांसदका प्रश्न नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता विधेयक, रेशम चौधरी लगायतमा केन्द्रित थिए । कुन प्रश्नको जवाफ प्रचण्डले कसरी दिए त ?

नेपालभ्युज

प्रधानमन्त्री भर्सेज सांसद : केही प्रशंसा, केही व्यङ्ग्य र केही अठोट

काठमाडौं। प्रतिनिधिसभामा बिहीबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा पन्ध्रभन्दा बढी सांसदले जिज्ञासा राखे। सांसदका प्रश्न नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, नागरिकता विधेयक, रेशम चौधरी लगायतमा केन्द्रित थिए ।

जवाफमा प्रचण्डले ‘तत्कालीन माओवादी शिविरमा कुनै अनियमितता भएको पाइए र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताए । उनले दरबार हत्याकाण्ड र मदन–आश्रित दुर्घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने धारणा पनि अघि सारे । नक्कली भुटानी शरणार्थी प्रकरणमा भीआईपी हिरासत परेकाले पनि स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको प्रमाणित भएको उनले दाबी गरे। प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा हस्तक्षेप हुन नदिइने पनि उनले आश्वासन दिए ।

संसद् बैठकमा प्रश्नोत्तर एक घण्टा २० मिनेट चल्यो। सत्ता पक्षका सांसदले समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही हुनेमा संशय व्यक्त गर्दै प्रश्न सोधे पनि प्रतिपक्ष एमाले पनि प्रधानमन्त्रीप्रति कडारूपमा प्रस्तुत हुन सकेन। तर, प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो रुपमा नदिएको प्रतिक्रिया एमालेको छ ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदले प्रतिप्रश्न गर्न वा पूरक प्रश्न राख्न भने पाउँदैनन्। सांसदले आफ्नो प्रश्न केही दिनअघि नै संसद् सचिवालयमा लिखित रूपमा बुझाउने नियम थियो। संविधान निर्माणपछि ०७४ को निर्वाचनबाट आएको पहिलो प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा एकपटक मात्र केपी शर्मा ओलीको पालामा प्रश्नोत्तर भएको थियो।

पहिलो प्रश्न राख्ने मौका पाएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले सरकारी स्कुल सुधार गर्ने र देशमै रोजगारीको व्यवस्था गर्ने नीति माग गरिन्। विदेश जाँदा लाग्ने खर्च र आम्दानी रेमिट्यान्सको डेटा माग्दै मल कारखाना खोल्ने विषय के भयो भन्दै उनले प्रश्न सोधिन् ?

जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गर्न शिक्षा नीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताए। उनले आ.व. २०७९-८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए।

यस्तै, एमाले सांसद पदम गिरीले दोस्रो प्रश्न राखे। उनको प्रश्न थियो, ‘मानिसहरू सोध्छन्, नागरिकता विधेयक कहिले आउँछ। अर्थतन्त्र मन्दीको अवस्थामा छ, यो स्थितिबाट अर्थतन्त्रलाई अगाडि बढाउन तपाईंका ठोस योजना के छन् ? कसरी समस्या समाधान गर्न खोज्दै हुनुहुन्छ?’

जवाफ सुरु गर्दै प्रचण्डले भने, ‘प्रश्न सुनेर सुरुमा त म झस्किएँ। रातभरि गाईको निबन्ध पढेको थिएँ, परीक्षामा भोलिपल्ट नदीको प्रश्न आउँदा कसरी जवाफ दिने भयो।’ प्रचण्डको जवाफले बैठकमा हाँसो गुञ्जियो। किनकि सांसदले अघिल्लो दिन नै प्रश्न दर्ता गराएका हुन्छन्। प्रधानमन्त्रीले सोही अनुसार लिखित तयारी गरेर ल्याएका हुन्छन्। सांसद गिरीले सुरुमा दर्ता नभएको प्रश्न सोधेका र प्रधानमन्त्रीले त्यो तयार नगरेकाले गाईको निबन्धको प्रसङ्ग सुनाए।

थप प्रश्नको जवाफ दिँदै प्रचण्डले भने ‘‘अर्थतन्त्रका चुनौतीलाई सम्बोधन गर्न वित्तीय,मौद्रिक र क्षेत्रगत नीतिगत व्यवस्थामा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सरकार प्रयत्नशील रहेको छ। विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको छ।’’

माओवादी सांसद पूर्णबहादुर घर्तीले द्धन्दकालीन मुद्दाका बारेमा जिज्ञासा राखे। ‘शान्ति प्रक्रियाका काम कहिले सकिन्छ ?’ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले प्राथमिकताका साथ अघि बढाइने भन्दै टारिदिए। यस विषयमा बृहत् राजनीतिक सहमति जुटाउने प्रयासमा रहेको भन्दै उनले रेडिमेट जवाफ दिए।

प्रचण्डले भने- ‘घोटाला देखिए जेल जान तयार छु’

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो ? भन्दै प्रश्न गरे। जवाफमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्र भएको जिकिर गर्दै पुष्टि भए जेल जान तयार रहेको बताए।

शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि भौतिक पूर्वाधार र रासनपानीको निम्ति भनेर राज्यबाट दिएको रकमको अडिट भएको उनले बताए। ‘‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा. रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो’ उनले भने, ‘यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैँ आश्चर्यमा परेको छु।’’

आफ्नो दलले चुनावी घोषणापत्रमै २०४८ सालदेखिकै सबै घटना, उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने भनेर लेखेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैँ जेल जान तयार रहेको  यहाँहरूलाई जानकारी गराउन चाहन्छु।’’

रेशम चौधरीको मुद्दा के हुन्छ ?

बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताए । रेशम चौधरीलाई यसअघि पनि आफूहरूले अध्यादेश ल्याएर छुटाउने प्रयास गरेको भन्दै प्रचण्डले अदालतबाट जे आए पनि छिटो फैसला आओस् भनेर आवाज उठाएको पनि बताए। प्रचण्डले भने, ‘‘हामीले यसअगाडि पनि अध्यादेश ल्याएर भए पनि उहाँलाई छुटाउने प्रयास गरेकै हो। अदालतबाट जे फैसला भए पनि छिटो होस् भन्नको निम्ति हामीले सबैतिर कुनै न कुनै रूपमा आवाज उठाएकै हो र अहिले टुङ्गिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने भन्नेम हामी निकै गम्भीर छौँ। मलाई विश्वास छ, यो विषयमा हामी छिट्टै टुङ्गोमा पुग्छौँ।’’

जसपा सांसद दीपक कार्कीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए। यद्यपि जे गरे पनि एक महिनाभित्र नागरिकताको विषय टुङ्गो लगाउने उनको प्रतिबद्धता थियो।

पहिलो विदेश भ्रमण भारतबाटै किन ?

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला भनेर गरेको प्रश्नको जवाफमा प्रचण्डले ‘कुनै बाध्यता नभएको’ बताए। उनले भने, ‘‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमै दिइसकेको छु व्यवहारबाटै।’’

सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले दरबार हत्याकाण्डसहित विगतका सबै हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताए। आम जनता पार्टीका सांसद रहेका साहले रौतहटको गौरमा २०६३ सालमा भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरू कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताए ।

शरणार्थी प्रकरणमा भीभीआईपी के हुन्छ ?

एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको प्रचण्डले बताए। उक्त प्रकरणमा ‘भीभीआईपीविरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ? कारबाहीको दायरामा ल्याउनुहुन्छ कि हुन्न ?’ कुँवरले प्रश्न गरेका थिए।

‘‘भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुनअनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा प्रस्ट गर्न चाहन्छु। दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्ने हाम्रो जोड रहेको छ,’ उनले भने, ‘‘जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन्। त्यो प्रक्रिया अगाडि बढिरहेको पनि छ। भीआईपी÷भिभिआइपीहरू पनि परिरहेका त छन्। यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ।’’ जवाफ आएपछि माओवादीका सांसदले टेबुल ठोके।

ह्यान्डसम प्रधानमन्त्रीको चर्चा

प्रश्न सोध्नुअघि केही सांसदले प्रधानमन्त्री प्रचण्डको पोसाकमा समेत प्रशंसा गरे। पहिले प्रायः सर्ट–पाइन्टमा देखिने गरेका प्रधानमन्त्री प्रचण्ड पछिल्लो प्रधानमन्त्रीकालमा औपचारिक फोरममा दौरा–सुरुवालमै देखिने गरेका छन्। यस्तै केही सांसदले ‘मोटाएर खाइलाग्दो’ देखिएको टिप्पणी पनि गरे।

एमाले सांसद रघुजी पन्तले व्यङ्ग्य गर्दै भने, “आज धेरै दिनपछि देखेर होला, प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको त होइन होला। पहिलेभन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ।”जनता पनि प्रधानमन्त्रीजस्तै खाइलाग्दा र ह्यान्डसम देखिनुपर्ने भनाइ पन्तको थियो। “झन् दौरा–सुरुवाल लगाएर आउनुभएको छ, खाइलाग्दो पनि देखिनुभएको छ। कामना छ प्रधानमन्त्रीज्यू, जत्ति खाइलाग्दो देखिनुभएको छ नेपाली जनता पनि छिट्टै त्यस्तो खाइलाग्दो देखिउन्,” उनले भने।

जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रशंसा हो कि व्यङ्ग्य हो भनेर सोध्दै धन्यवाद भने, “माननीय सदस्यले मेरो अलिक धेरै नै प्रशंसा गरेको हो कि व्यङ्ग्य के भन्ने हो, त्यसका लागि धन्यवाद,” उनले भने। उनले आफूलाई खाइलाग्दो देखिएको छु भन्ने नलागेको बताए। “म धेरै खाइलाग्दो छु भन्ने लागेको छैन। मेरो तौलचाहिँ घटिरहेको छ। तपाईंले राम्रो देख्नुभएछ। तपाईंको आँखालाई पनि धन्यवाद,” प्रधानमन्त्री प्रचण्डले भने ।

लगतै प्रश्न सोधेका कांग्रेस सांसद रामहरि खतिवडाले सोही प्रसङ्ग जोड्दै प्रधानमन्त्री नियमित संसदमा नआएकोमा व्यङ्ग्य गरे । उनले भने, “प्रधानमन्त्री सधैं ह्यान्डसम देखिनुपर्‍यो, कहिलेकाहीँ देखिएर मात्र भएन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved