के पार्टी विभाजन गर्न चाहन्छन् गगन ?

कांग्रेस राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक गेजा शर्मा महामन्त्रीद्वय गगन-विश्वप्रकाशले नयाँखाले समीकरण देखाउन खोजेको विश्लेषण गर्छन् ।

के पार्टी विभाजन गर्न चाहन्छन् गगन ?

काठमाडौं । महामन्त्री गगनकुमार थापाको एउटा अभिव्यक्तिले सत्ता साझेदार दल नेपाली कांग्रेस तरङ्गित बनेको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको घर झगडाले ‘अशान्त’ बनिरहेको कांग्रेस महामन्त्री गगनको ‘अब त अति भयो’ भन्ने मेसोको चेतावनी र संशयपूर्ण अभिव्यक्तिले तरङ्गित बनेको हो ।

“कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो,” गगनको अभिव्यक्ति छ । उनको यही अभिव्यक्तिले कांग्रेस तरङ्गित बनेको छ ।

महामन्त्री गगनको यो अभिव्यक्तिलाई धेरैले ‘गगन पार्टी विभाजन गरेर नेतृत्व गर्न चाहन्छन्’ भन्ने रूपमा लिएका छन् । सामाजिक सञ्जादेखि चोकका चिया पसलसम्म यस्तो अड्कलबाजीहरू सुनिन थालेको छ । त्यसो त महामन्त्री गगन सधैँ पार्टी रूपान्तरणको विषय झिकिरहन्छन् । उनी ‘पार्टी फुटाएर होइन, भित्रै बसेर रूपान्तरणको आवाज बोल्नुपर्छ’ भन्ने मान्यता पनि राख्छन् । यसअघि उपनिर्वाचनको सिलसिलामा तनहुँ पुगेका उनले कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका डा. स्वर्णिम वाग्लेको सन्दर्भ जोड्दै भनेका थिए, “पार्टी छाडेर होइन, पार्टीभित्रै बसेर सङ्घर्ष गर्न सक्नुपर्छ ।”

तर, यो अभिव्यक्तिले भने कतै महामन्त्री गगनको सङ्कल्पले यू-टर्न त लिएन (?) भन्ने संशय पैदा भएको छ । यद्यपि पनि पार्टी विभाजन भने नहुने उनीनिकट नेताहरू विश्वस्त गराउँछन् । महामन्त्री गगननिकट नेता शङ्कर तिवारी भन्छन्, “पार्टी फुटाएर होइन, यहीँभित्रै बसेर सङ्घर्ष गर्नुपर्छ भन्ने स्पष्ट मान्यता हामीसँग छ । हामी यहीँभित्रै बसेर लड्छौँ भन्ने विश्वस्तता दिन चाहन्छौँ ।”

जसै यसबीचमा कांग्रेसका पदाधिकारी बैठकहरू बढी नै ‘अशान्त’ सुनिए । वैशाख २२ गते सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक पनि भनाभनमै सकिएको थियो । बैठकमा सभपाति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहमन्त्री जीवन परियारबीच भनाभनकै स्थिति सिर्जना भएको थियो । मुख्यगरी पार्टीले सरकारमा पठाएका मन्त्रीहरूको विषयमा सभापति देउवा र सहमहामन्त्री परियारबीच भनाभन भएको थियो ।

कांग्रेसभित्र ‘जुङ्गाको लडाइँ’ !

सहमहामन्त्री परियारले सल्लाहबिनै मन्त्रीहरू सिफारिस गरेको भन्दै भनेका थिए, “पार्टीबाट ८ मन्त्रीहरू छन् सरकारमा । त्यसमा समावेशी छैन, क्लस्टरवाइज रूपमा हेर्दा पनि समावेशी छैन । समान क्षेत्रीय प्रतिनिधित्व पनि छैन । यसले गर्दा पार्टीमाथि प्रश्न उठेको छ । यसको जिम्मा तपाईंले लिनुपर्छ ।” त्यसबेला सभापति देउवाले आफू प्रधानमन्त्री बनेको बेला सबैलाई समेटेर लाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसअघि वैशाख २० गते बसेको पदाधिकारी बैठक पनि तनावमै सकिएको थियो । बैठकमा सभापति देउवा र महामन्त्री गगनबीच भनाभन भयो । बैठकमा सभापति देउवाको सुरुवाती सुझाव थियो— अब कांग्रेस जगाउनुपर्छ, त्यसका लागि भातृ संस्थाहरूमा पदपूर्ति गरिहालौँ, त्यसका लागि दुई महामन्त्री र मुख्य सचिवले कार्ययोजना बनाउनू ।

गगन थापाले आखिर के गर्न लागेका हुन् ?

सभापति देउवाको यस्तो प्रस्तावपछि गगन झोंकिएर भने, “तपाईं आफैँलाई सर्वेसर्वा भन्नुहुन्छ । सबै निर्णयहरू आफैँले लिँदै आउनुभएको छ । केन्द्रीय सदस्यहरू पनि सल्लाहबिनै थप्नुभयो । अब भ्रातृको पदाधिकारीका लागि चाहिँ किन चाहियो महामन्त्री र मुख्य सचिव ? आफैँ थप्नुहोस् । अहिल्यै पदपूर्ति गरिहाल्नुहोस् ।”

यही सेरोफेरोमा आएको गगनको अप्रत्यासित अभिव्यक्तिले कांग्रेसभित्र रडाको मच्चिएको छ । पार्टीका विभिन्न नेताहरूले यसबारे छलफल नै गर्न थालेका छन् । तर, सभापति देउवानिकटका नेताहरूले भने यसलाई महामन्त्री गगनको ‘बानी’ भएको बताउँछन् । सभपाति देउवानिकट एक नेताले नेपालभ्यूजको जिज्ञासामा भनेका छन्, “उहाँ महामन्त्री गगनकुमार थापा) सधैँ नै आक्रामकरूपमै प्रस्तुत हुने मान्छे हो । सधैँ । यसपटक पनि त्यसैगरी प्रस्तुत हुनुभएको हो । उहाँको अभिव्यक्तिलाई स्वाभाविकरूपमा लिनुपर्छ ।”

शेखर निष्क्रिय भएको बुझाइ

उनीनिकटका नेताहरूकाअनुसार पछिल्लो समय संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला निष्क्रिय बन्दै गएको बुझाइ महामन्त्री गगनको छ । महामन्त्री गगनलाई उद्धृत गर्दै उनीनिकटका एक नेता भन्छन्, “शेखरलाई मनाएर, फकाएर सभपाति देउवाले मनपरी गरेका छन् । विधानमा चल्नुपर्ने पार्टी सभापति देउवाको अनुकूलमा चलेको छ । यसलाई सहेर कति बस्ने ?”

त्यसो त सभापति देउवाले शेखरलाई १५औं पार्टी महाधिवेशनमा पार्टीकै तर्फबाट टिकट दिनेसम्मको विषय नसुनिएको भने होइन । ०७८ मंसिर २४ मा काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा उनै देउवासँग सभापतिको चुनाव लडेका शेखर अहिले मत्थर बन्दै गएको बुझाइ महामन्त्री गगनको छ ।

यसपछि पनि झनै महामन्त्री गगनमा संशय पैदा भएको बताइन्छ । शेखर निष्क्रिय भएपछि आफैँ सक्रिय हुनुपर्ने बुझाइमा महामन्त्री गगन छन् । हिजोआज शेखरले नेतृत्व गरिरहेको संस्थापनइतर पक्षलाई ‘शेखर-गगन समूह’ भनेर भन्न थालिएको उल्लेख गर्दै उनीनिकटका एक नेता भन्छन्, “अब शेखर दा निष्क्रिय हुँदा पार्टी जोगाउनकै लागि पनि त कोही त सक्रिय हुनैपर्‍यो नि !”

विश्वप्रकाशसँग निरन्तर छलफल

महामन्त्री गगनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग निरन्तर छलफल गर्दै आएका छन् । उनीहरूको छलफलको केन्द्र मुख्यगरी आगामी रणनीति बन्ने गरेको छ । पार्टी रूपान्तरणदेखि कांग्रेसजनले आफूहरूबाट गरेको अपेक्षासम्म उनीहरूको विषय रहने गर्छ ।

त्यसो त पार्टीको १४औं महाधिवेशनताका ६ महिनाभित्र पार्टीलाई एउटा मार्ग देखाउने भनेका महामन्त्रीद्वय डेढ वर्षसम्म पनि उही अवस्थामा छन् । यसबाट नेतृत्वले साथ नदिँदा आफूहरू बदनाम हुनुपरेको बुझाइ उनीहरूको छ । महामन्त्री विश्वप्रकाशले भनेका छन्, “सङ्गठन भनेको एउटाले मात्रै बनाउन सक्दैन । त्यसैले सबैको साथ सबैलाई हुनुपर्छ । तर, कांग्रेसमा त्यो देखिँदैन ।”

अब के गर्छन् गगन-विश्वप्रकाश ? यस्ता छन् चार सम्भावना

जसै महामन्त्री विश्वप्रकाशले यसअघि पदाधिकारी बैठकमै सभापति देउवाले कार्यशैली परिवतर्न गर्नुपर्ने त्यसो नभए आफू महामन्त्रीबाट राजीनामा दिएर कार्यकर्तामाझ जाने चेतावनी दिएका थिए ।

उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले नेपालभ्यूजसँग भनेका छन्, “पार्टी रूपान्तरण गर्ने विषयमा गम्भीर भएर जानुपर्‍यो । अब पनि सुस्त भइयो भनेचाहिँ हुँदैन । हाम्रो त काम गर्ने एकखालको ऊर्जा छ, उमेर छ, जोश र जाँगर छ । सभापतिज्यूले ढिलाइ गर्नुभयो । जे काम पनि सभापतिकैमा गएर ठोक्किन्छ । सभापति विधानअनुसार नचल्ने, समयमै विभाग र भ्रातृ संस्था नबनाउने अनि अपसज हामी महामन्त्रीले ब्यहोर्नुपर्ने ? यस्तो कहिलेसम्म ? यदि यही शृङ्खला दोहोरिरहने हो भने यही पदमा बसिरहनुको विकल्प छैन ।”

त्यसो त अर्का महामन्त्री गगनको लाइन पनि यही नै हो । सभापति देउवाका कारण आफूहरू लज्जित र बदनाम हुनुपरेको बुझाइ महामन्त्रीद्वय गगन-विश्वप्रकाशको छ । त्यसैले अबको दिनबाट आफूहरू कसरी अगाडि जाने भन्नेबारे उनीहरू निरन्तर छलफलमा छन् ।

‘गगन-विश्वप्रकाशले नयाँ समीकरण देखाउन चाहेको देखिन्छ’

कांग्रेस राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक गेजा शर्मा महामन्त्रीद्वय गगन-विश्वप्रकाशले नयाँखाले समीकरण देखाउन खोजेको विश्लेषण गर्छन् । आइतबार साँझको महामन्त्री गगनको वक्तव्य त्यसैको सङ्केत भएको बुझाइ विश्लेषक शर्माको छ ।

“सरासररूपमा हेर्दा अहिलेसम्म कांग्रेसमा दुई ध्रुव थियो । अब गगन-विश्वप्रकाशले पनि नयाँ समीकरण देखाउन चाहेको देखिन्छ । उनीहरूले वैचारिक तथा सैद्धान्तिक तवरको समीकरण देखाउन खोजेका हुन् कि भन्ने लाग्छ,” उनले भनेका छन् ।

कांग्रेसभित्र ‘सुधार र परिमार्जनका दिशामा अघि बढ्ने कि यहीँ रोकिने’ प्रश्न प्रमुख बन्दै गएको उल्लेख गर्दै विश्लेषक शर्माले भनेका छन्, “गगन थापाजीले सभापति देउवाजीलाई राजनीतिक, सैद्धान्तिक, वैचारिक, साङ्गठानिक र मनोवैज्ञानिकरूपले दबाब दिँदै पार्टी रूपान्तरण, पुस्तान्तरण र सुधारका लागि परिणाममुखी पहल मात्रै होइन, निर्णायक संघर्ष नै गर्न खोजेको देखिन्छ । त्यसैले नयाँ समीकरण देखाउन खोजिएको हो कि भन्ने स्वाभाविक आकलन गर्न सकिन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved