अब के गर्छन् गगन-विश्वप्रकाश ? यस्ता छन् चार सम्भावना

तनहुँ र चितवनको उपनिर्वाचनमा कांग्रेसी उम्मेद्वारको पराजयपछि महामन्त्रीद्धयको आम अपिल गर्ने क्षमता र त्यसको जनप्रभावबारे प्रश्न खडा भएको छ । आशा गरिएका भनिएका यी युवा नेतालाई मतदाताले सुन्न र पत्याउन छोडेका हुन् ? यदि हुन् भने कांग्रेसको भविष्य के होला ?

अब के गर्छन् गगन-विश्वप्रकाश ? यस्ता छन् चार सम्भावना

काठमाडौं। वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका युवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तनहुँ–१ र चितवन–२ मा खटिए । उनीहरूले रास्वपाका प्रतिस्पर्धी उम्मेदवार डा. स्वर्णिम वाग्ले र रवि लामिछानेविरुद्ध आक्रामक भाषण गरे । स्वभाविक रूपले मतदातालाई सकेसम्म प्रभावित गर्ने र कांग्रेसका पक्षमा ल्याउने हरसम्भव सबै प्रयत्न गरे ।

कतिपयको अपेक्षा थियो कि युवा महामन्त्रीद्वयको खटाइ र चर्को भाषणले मतदातामा सकारात्मक प्रभाव पर्ने छ । तर, त्यसो भएन । दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भए । बारा–२ मा कांग्रेसको भिन्नै उम्मेदवार थिएन। कांग्रेसले जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको थियो । उनले जिते पनि ।

तनहुँ र चितवनको उपनिर्वाचनमा कांग्रेसी उम्मेदवारको पराजयपछि महामन्त्रीद्वयको आम अपिल गर्ने क्षमता र त्यसको जनप्रभावबारे प्रश्न खडा भएको छ । आशा गरिएका भनिएका यी युवा नेतालाई मतदाताले सुन्न र पत्याउन छोडेका हुन् ? यदि, हुन् भने कांग्रेसको भविष्य के होला ?

गगन–विश्वप्रकाशलाई कांग्रेसको सम्भावित भावी नेतृत्वका रूपमा हेरिँदै आएको थियो । जब उनीहरूकै कुरा मतदाताले पत्याउन छोडे, उनीहरू नै कमजोर र फिका देखिए भने कांग्रेसलाई भविष्यमा कसले जोगाउला वा कांग्रेस अझै कमजोर हुँदै जाला ?

खासमा मतदाताले गगन–विश्वप्रकाशलाई नपत्याएका हुन् वा कांग्रेसको नाम लिँदा मतदाताले सभापति शेरबहादुर देउवाको अनुहार र कार्यशैली सम्झेर अविश्वास गरेका हुन् ?  यो प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ ।

कांग्रेसको संस्थापन इतर पक्षप्रति सहानुभूति राख्ने डा. रामेश कोइरालाले एक ट्विटमा भनेका छन् –‘जनताले आस गरेका गगन, विश्वप्रकाश, प्रदीपहरूसँग अब तीन विकल्प मात्र बाँकी छ, कांग्रेस मात्र सपार्ने, कांग्रेस र देश दुवै सपार्ने अनि देश सपार्ने । यथास्थिति, किंकर्तव्यविमूढ र अन्योलले कांग्रेस र देश दुवैको भलो हुने देखिन्न ।’

डा. कोइरालाको यो ट्वीटले गगन–विश्वप्रकाशको भविष्यबारे पहिलो कोण सामुन्ने ल्याउँछ । त्यो हो– मतदाताले अहिले नै उनीहरूलाई पत्याउन छोडेको भन्न मिल्दैन । देउवाको नेतृत्व र कार्यशैलीप्रति असन्तुष्ट मतदाताले गगन–विश्वप्रकाशलाई पनि नसुनेका, नपत्याएका हुन् । आफैँ नेतृत्व वा निर्णायक हैसियतमा आएमा जनता र मतदाताले विश्वास गर्न सक्ने ठाउँ बाँकी नै छ । तर, त्यसका लागि उनीहरूले कांग्रेस सपार्न सक्नुपर्दछ ।

यसै ट्विटको मुन्तिर भएको पत्रकार विराट अनुपमको प्रतिक्रियाले भने दोस्रो प्रकारको विश्लेषण अघि सार्दछ । त्यो हो– कांग्रेस भित्रको एउटा पंक्तिले आस नमारेको भए पनि मतदाताले भने गगन–विश्वप्रकाशलाई पनि पत्याउन छोडे । अन्यथा चितवन र तनहुँमा उनीहरूको आक्रामक प्रस्तुति र सक्रियताका बाबजुद मतदाताले किन भोट दिएनन् ?

पत्रकार अनुपमको प्रतिक्रिया यस्तो छ–‘जनताले आस गरेका’ शब्द नै गलत भयो । आस गरेका भए तनहुँ र चितवनमा खटेका महामन्त्रीद्वयलाई जनताले बिजोक मत दिएर गुडबाई गर्ने थिएनन् । यसोचाहिँ भन्न सकिएला–‘देउवा पक्ष बाहेकका कांग्रेसले आस गरेका नेता ।’

तेस्रो प्रकारको विश्लेषण भने झनै गज्जबको छ । तेस्रो खाले तर्क अनुसार युवा महामन्त्रीद्वयलाई जनताले विश्वास गर्न छोडिसकेका पनि छैनन् र देउवाकै छत्रछायाँ र नेतृत्वमा उनीहरूले कांग्रेसलाई सुधार्न पनि सक्दैनन् । कांग्रेस देउवाको एकल निर्णयमा चलेको छ भन्ने सबैलाई थाहा हुँदाहुँदै गगन–विश्वप्रकाशको मुख हेरेर कांग्रेसलाई भोट किन दिने ? जबकि, उनीहरूले भनेको, चाहेको पार्टीमा केही हुने हैन ।

गगन–विश्वप्रकाशका नाममा कांग्रेसलाई भोट दिनु भनेको प्रकारान्तले देउवालाई नै झन बलियो बनाउनु हो । भोट आउँछ गगन–विश्वप्रकाशको नाममा, त्यसको दुरूपयोग गर्दछन् देउवाले । तसर्थ गगन–विश्वप्रकाशले कि त विशेषः महाधिवेशन माग गरेर देउवालाई हटाएर आफैँ सभापति हुन सक्नुपर्दछ कि त कांग्रेस विभाजन गर्नुपर्दछ ।

कांग्रेस निकट युवा विश्लेषक शंकर तिवारी विशेष महाधिवेशन आयोजना गरी देउवालाई बिदा गर्नुपर्ने धारणा राख्दछन् । एक राष्ट्रिय दैनिकमा उनले यसबारे लामो लेख लेखेका छन् । आफ्नो तर्कलाई पुष्टि गर्न २०१५ सालको आम निर्वाचन अघि सुवर्ण शमशेरले कांग्रेसको सभापतित्व विशेष अधिवेशन गरी बिपी कोइरालामा सारेको कारणले निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउन सहज भएको उदाहरणसमेत प्रस्तुत गरेका छन्।

साहित्यकार तथा उपन्यासकार नयनराज पाण्डे भने गगन–विश्वप्रकाशले कांग्रेसलाई सच्याउने वा विशेषः अधिवेशनबाट देउवालाई हटाउने सम्भावनाको साटो कांग्रेस विभाजन गरेर नेतृत्व लिनुपर्ने धारणा राख्दछन्। डा. कोइरालाको ट्विटमा प्रतिक्रिया दिँदै उनले भनेका छन्–‘कि सबैले बुझने गरी पार्टीलाई तह लगाउनुस् कि आँट गरेर फुटाउनुस् र नयाँ ढंगले पुनर्गठन गर्नुस् । नत्र २०८४ मा ‘दमाहा’ बज्छ।’

कांग्रेसकै पूर्व नेता तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एक अन्तर्वार्तामा –‘२०८४ को आम चुनाव अघि नै गगनले कांग्रेस फुटाउने र रास्वपासँग मिल्ने’ सम्भावना रहेको बताएका छन् । यद्यपि, यसो हुन सक्ने कुनै भरपर्दो आधार अहिलेसम्म देखिएको छैन ।

चौथो धारणाअनुसार भने गगन–विश्वप्रकाशहरूले न कांग्रेसलाई सच्याउन सक्नेछन्, न विशेष महाधिवेशन गरी देउवालाई हटाउन नै सक्ने छन्, न जनताको विश्वास नै पुनआर्जन गर्ने छन्, बरु ‘दाइ–भाउजू’ कै आर्शिवाद पर्खेर अहिलेकै जस्तो गरी जिन्दगीका बाँकी दिन बिताउनेछन् । देउवासँग निर्णायक र सार्थक टसल गर्ने सामर्थ्य गगन–विश्वप्रकाशहरूसँग छैन । तसर्थ, युवा महामन्त्रीद्वय पनि देउवासँगै असान्दर्भिक कांग्रेसको शिकार हुनेछन् । कांग्रेस कमजोर र असान्दर्भिक भएको टुलुटुल हेर्नबाहेक अरु उपाय छैन ।

असफल र कमजोरसिद्ध भइसकेको कांग्रेस रुंगी बसेर गगन–विश्वप्रकाशको सान्दर्भिकता र औचित्य पुष्टि हुने छैन । मानौं कि कांग्रेसमा गगन–विश्वप्रकाशहरूको उदय भयो, उनीहरूले चाहेको सुधार के हो ? के-के कुरामा कसरी सुधार्नेछन्, उनीहरूले कांग्रेस ? के-के कुरामा कसरी सुधार्ने छन् देश ? यी प्रश्नको कुनै भरपर्दो उत्तर छैन ।

गगन–विश्वप्रकाशहरूको राजनीति यी ४ मध्ये कुन बाटो हिँड्छ वा अर्को कुनै पाँचौं बाटो उनीहरूले फेला पार्ने हुन् ? त्यो त भविष्यले नै बताउन सक्ला ।

विश्वप्रकाश यदाकदा देउवाकै टिममा सहकार्य गर्दै उदाएका नेता भएको हुँदा उनीबाट कुनै मौलिक हस्तक्षेपको आशा गर्न सकिने ठाउँ कम छ । तर, गगन भने अहिलेसम्म निरन्तर देउवा इतर खेमाबाट अघि बढिरहेका छन् । यसर्थमा भन्दा विश्वप्रकाशसँग भन्दा गगनप्रतिका जनअपेक्षा बढी छन् । गगन अझ बढी अप्ठ्यारो र दबाबमा भएको सहजै बुझ्न सकिन्छ ।

डा. स्वर्णिम वाग्ले थापा समूहका एक बलिया ‘थिंक ट्यांक’ मानिन्थे । निकटस्थका अनुसार वाग्लेको कांग्रेस परित्याग, रास्वपा प्रवेश र तनहुँ–१ बाट विजयले थापा निकै निरास र हतोत्साहित भएका छन् । थापानिकट स्रोतका अनुसार उनी कुनै न कुनै महत्त्वपूर्णं निर्णय लिनुपर्ने दबाबमा त छन् तर त्यो निर्णय के हो वा कस्तो हुन्छ, त्यो भने अझै अस्पष्ट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved