सुडानबाट उद्धार गरिएका १३ नेपाली आइपुगे

नेपालभ्युज

सुडानबाट उद्धार गरिएका १३ नेपाली आइपुगे

काठमाडौं । सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।

दूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पुर्‍याइएका १९ जनामा १३ जना बिहिबार नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।

अन्य १२ जना मध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन् । तीनै जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भइसकेको छ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ । उद्धार प्रकृयामा सहयोग पुर्‍याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति नेपाल सरकारले धन्यवाद प्रकट गरेको छ । रासस

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved