महावीर पुनको आन्दोलनमा विज्ञान प्रविधिमन्त्री बन्न नचाहने नेताहरूको ‘स्टन्ट’ !

विज्ञान प्रविधि मन्त्रलयमा अनावश्यक चलखेल गर्न नपाउने भएकै कारण नेताहरूको अरुचिको विषय बन्दै आएको छ। पछिल्लो समय शिक्षा मन्त्रालयसँग गाभिएपछि पनि नेताहरूले यसलाई पहिलो प्राथमिकतामा राखेका पाइँदैनन्। सोही मन्त्रालय रोज्न नचाहने नेताहरूनै अहिले ‘महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता’भन्दै युट्युबर लिएर भाषण ठोक्न मरिमेटेका देखिन्छन्।

नेपालभ्युज

महावीर पुनको आन्दोलनमा विज्ञान प्रविधिमन्त्री बन्न नचाहने नेताहरूको ‘स्टन्ट’ !

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलनमा ‘अटेन्सनसिक’को लागि मात्रै नेताहरूले समर्थन जनाइरहेका देखिएको छ। माग जायज भए पनि पुरा गराउने भन्दा ‘पब्लिक सेन्टीमेन्ट’ बटुल्ने र सस्तो प्रचार (स्टन्टबाजी’को नियतले आन्दोलनमा गएर फोटो खिचाउने नेताहरू बढेका छन्।

जबकि विज्ञान प्रविधि मन्त्रालय लिएर काम गर्न नचाहने नेताहरू नै अहिले माइतीघर पुगेर महावीर पुनसँग फोटो खिँच्न तँछाडमछाड गरिरहेका छन्।

गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायतका बजेट दुरुपयोग गर्न पाउने मन्त्रालयमा सत्ताको भागबन्डा विवाद हुने गर्छ। त्यही भागबन्डा नमिल्दा महिनौँसम्म मन्त्रीपरिषद् बिस्तार हुन नसकेको विगत छ। विज्ञान प्रविधि मन्त्रालयमा अनावश्यक चलखेल गर्न नपाउने भएकै कारण नेताहरूको अरुचिको विषय बन्दै आएको छ।

पछिल्लो समय शिक्षा मन्त्रालयसँग गाभिएपछि पनि नेताहरूले यसलाई पहिलो प्राथमिकतामा राखेका पाइँदैनन्। काम गरेर देखाउनेका लागि सबै जुनकुनै मन्त्रालयमा रहे पनि फरक पर्दैन। तर, सत्ताको भागबन्डामा विज्ञान प्रविधि मन्त्रालय रोज्न नचाहने नेताहरुनै अहिले ‘महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता’भन्दै युट्बर लिएर भाषण ठोक्न मरिमेटेका छन्।

सोही आन्दोलनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शनिबार कडा भाषण ठोके। रवि तिनै पात्र हुन् जसले गृह मन्त्रालय नपाएको झोकमा आफ्नो पार्टीले चलाइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छाडेका हुन्।

११ पुसमा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री बनेका थिए। नागरिकता विवाद प्रकरणमा सर्वोच्चको फैसलाले उनी ३२ दिनमै पद मुक्त भए। फेरि सांसद नभइकन पनि सोही मन्त्रीमा दोहोरिन चाहे। उपप्रधानसहित गृह मन्त्रालय पाउनुपर्ने अडान राखे। बिना सांसदका आफूले गृहमन्त्री नपाएको प्रतिसोधमा रास्वपा सरकारबाट बाहिरियो।

३ माघमा रास्वपाबाट शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए। त्यस्तै, डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्रीका रूपमा सरकारमा सहभागी भएकी थिइन्। ‘‘यदि रास्वपाले विज्ञान प्रविधि क्षेत्रमा सुधार गर्न चाहन्थ्यो भने पर्याप्त अवसर थियो। तर, गृह मन्त्रालय नै चाहिने, नपाएपछि प्रतिशोध स्वरूप सरकार छाडेर देखाइदिने पार्टीले आन्दोलनमा समर्थन गर्नु गोहीको आँसु जस्तो हो’’ घटनाक्रमलाई नजिकबाट नियाल्नेहरू भन्छन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन पनि समर्थन जनाउन आज ११ बजे माइतीघर जाँदैछन्। उनको पार्टीले पनि सरकार छाडिसकेको छ। उनी उपप्रधान एवं ऊर्जा मन्त्री थिए।

उनको दलले पनि सरकार सहभागी हुने क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय लिन खासै दिलचस्पी देखाएको थिएन। तर, आज सो दलका अध्यक्ष लिङ्देन प्लेकार्ड बोकेरै पुनको आन्दोलनमा जाँदैछन्।

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केही नेताहरूले समेत सामाजिक सञ्जालमा लेखेर सो आन्दोलनमा समर्थन जनाइरहेका छन्। जो विगतमा विज्ञान प्रविधि मन्त्रालय रोज्न चाँहदैनथे।

विज्ञान प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालयसँग गाभिएको धेरै भएको छैन। शिक्षा मन्त्रालय भएकाले सो मन्त्रालयमा पछिल्लो समय आकर्षण भए पनि पहिला छुट्टै विज्ञान प्रविधि मन्त्रालय हुँदा कसैले मन्त्री बन्न चाहँदैनथ्यो।

ढोँगी राजनीति गर्नेको ‘मिडिया स्टन्टबाजी ’

महावीर पुनको आन्दोलनका माग जायज भए पनि नेताहरूले माग पुरा गराउनभन्दा सस्तो लोकप्रियताको लागि आफ्नो प्रचारमा गएको पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह बताउँछन्।

‘‘ढोँगी राजनीति गर्नेको मिडिया स्टन्टबाजी बढ्दा देखिएको छ। विज्ञान प्रविधि मन्त्रालय लिएर काम गर्न नचाहने। तर, बाहिर पब्लिक सेन्टीमेन्ट बटुल्न उनीहरू आन्दोलनमा गइरहेका छन्। के-के न ठुलै काम गर्ने मान्छे जस्तो देखाएर भ्रम छर्न गइरहेका छन्। यदि काम गर्ने हो भने उनीहरूलाई कसले छेकेको थियो र ?’’ साह भन्छन्।

पुनले विभिन्न माग राखेर केही दिनयता आन्दोलन सुरु गरेका हुन्। कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरूलाई हतोत्साह गर्न नहुने उनको माग छ। उनलाई युवाहरूले साथ दिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको पुनको आरोप छ।

नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गरेका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराएका थिए। माग पुरा नभए पनि आन्दोलनमा लागेका हुन्।


Comment

One thought on “महावीर पुनको आन्दोलनमा विज्ञान प्रविधिमन्त्री बन्न नचाहने नेताहरूको ‘स्टन्ट’ !

  1. It is understandable that government affiliated news papers write attacking opposition parties but they never talk about why ruling parties did not take this agenda before the Mahabir led campaign?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved