सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्नेछ : उपप्रधानमन्त्री श्रेष्ठ

नेपालभ्युज

सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्नेछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् । राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक संविधान र कानुन अनुसार अघि बढाउन नमिल्ने भएकाले सरकारले नयाँ शिराबाट त्यो विधेयक छिट्टै संसदमा ल्याउने तयारी गरेको उनको भनाई थियो ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सांसदहरुले भनेजस्तो राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुगेको सो विधेयकलाई कानुन, संविधान र नियमावली अनुसार प्रमाणीकरण गरेर जान उपयुक्त र उचित नहुने निष्कर्षमा सरकार पुगेको पनि बताए ।

उनले नागरिकता विधेयकमा सरकारले राष्ट्रिय सहमतीमा जोड दिन चाहेको पनि स्पष्ट पारे । यदि राष्ट्रिय सहमती भएन भने पनि संसदबाट पारित गराएर संविधान अनुसार नागरिकता पाउनेहरुलाई नागरिकता दिन सरकार प्रतिवद्ध रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उनले सरकारले अव संसदमा ल्याउने नागरिकता विधेयक संसदबाट छिट्टै पारित हुने विश्वास पनि व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नागरिकताको विषयमा केही माननीयजीहरुले भन्नु भयो, त्यो त प्रमाणीकरण गर्न राष्ट्रपति कहाँ गईसक्या हो । राष्ट्रपतिले प्रमाणीकरण नगर्‍या हो ।’

‘हामीले कानुन, संविधान, नियमावली सबै हेर्दाखेरी त्यो उचित र उपयुक्त हुँदैन भन्ने कानुनी कोणबाट कुरा आईसकेपछि हामीले नयाँ शिराबाट विधेयक ल्याउनुपर्ने भयो । त्यसकारण नयाँ शिराबाट नै विधेयक आउँछ, उनले भने ।

‘नागरिकता अत्यन्तै संवेदनशील विषय हो । नागरिकताको विषयमा राष्ट्र विभाजित हुनु, सकेसम्म नागरिकता जस्तो संवेदनशील विषयमा राष्ट्र विभाजित नहुनुनै राम्रो हुन्छ । त्यसको निम्ति अझै पनि अपिल गर्नु, त्यसको निम्ति छलफल गर्नु, सकेसम्म सहमतीमा ल्याउन प्रयत्न गर्नु राष्ट्रिय आवश्यक्ता हो’ उनले भने, ‘तर म प्रष्ट पार्न चाहन्छु–तर सहमती भएन भने अनवरत रुपमा अनन्त कालसम्म यो सहमती भएन, त्यसकारण ल्याउन सकिएन भन्ने पक्षमा सरकार छैन । सरकार संविधान अनुसार नागरिकता पाउनेहरुलाई नागरिकता दिन प्रतिवद्ध छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले संविधान अन्तर्गत कानुन बनाएर नागरिकता प्रदान गर्ने कुरामा सरकार तयार रहेको पनि पटकपटक दोहोर्‍याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved