गोरखा भूकम्पको ८ वर्ष पूरा, अझै बनेन स्मृति उद्यान

नेपालभ्युज

गोरखा भूकम्पको ८ वर्ष पूरा, अझै बनेन स्मृति उद्यान
०७२ सालको महाभूकम्पले पाटर दरबार क्षेत्रमा पुर्‍याएको क्षति । फाइल फोटो

गोरखा। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ ।

विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए ।

भूकम्पमा परी गोरखा जिल्लाका मात्र चार सय ७१ जनाको निधन भएको थियो । भूकम्पमा परी निधन भएकाको स्मृतिका लागि सरकारले भूकम्पको केन्द्रबिन्दु बारपाकमा भूकम्प स्मृति उद्यान निर्माण गर्‍यो, तर उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन ।

विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी सुरु गरिएको उद्यान निर्माणको काम अहिलेसम्म ९४ प्रतिशत भौतिक संरचना निर्माण सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इञ्जीनियर पुरुषोत्तम पङ्गेनीले जानकारी दिए । सम्झौताका क्रममा ठेकेदार कम्पनीले ३० महिनामा निर्माण सक्ने लक्ष्य राखेको भए पनि अझै छ प्रतिशत काम बाँकी रहेको छ ।

 बारपाक सुलीकोटमा सार्वजनिक बिदा

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र बिदा दिएको छ ।

गाउँपलिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरूको सम्झनामा भूकम्प स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । बारपाक सुलीकोटको वडा नं १ र २ स्थित बारपाक केन्द्रबिन्दु भएर विस २०७२ वैशाख १२ गते आजकै दिन सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्प गएको थियो ।

भूकम्प स्मृति दिवसका अवसरमा गाउँपालिकाको आयोजनामा भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज विशेष कार्यक्रम आयोजनासमेत गरिएको गाउँपालिका अध्यक्ष भट्टले बताए । कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी हुने उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved