कसले बनायो ढाकालाई ‘डाका’ !

पार्टीमा 'कोर टिम' हुँदैमा पैसा उठाउँछ वा बार्गेनिङ्ग गर्छ भन्ने अर्थ कसरी लगाइयो ?

नेपालको कानुनमा कसैलाई ‘फाँसी’ दिने वा ‘बली’ चढाउने कुरा स्वीकार्य छैन । तर, कानुनलाई चुनौती दिँदै रविले आफैँ ‘बली’ चढ्ने कुरा गरिरहँदा उनको त्यो अभिव्यक्ति चुनावका लागि ‘ईमोशनल ब्ल्याकमेल’ मात्रै भएको टिप्पणी गरियो ।

कसले बनायो ढाकालाई ‘डाका’ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाराको गढीमाई मन्दिरनजिकै उभिएर पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ (जो २ करोड बार्गेनिङ्ग प्रकरणका कारण पार्टीबाट निलम्बन भएका छन्) लाई ७२ घण्टाभित्र कारबाही नगरे गढीमाईमा ‘बली’ चढ्न तयार रहेको भाषण गरे ।

नेपालको कानुनमा कसैलाई ‘फाँसी’ दिने वा ‘बली’ चढाउने कुरा स्वीकार्य छैन । तर, कानुनलाई चुनौती दिँदै रविले आफैँ ‘बली’ चढ्ने कुरा गरिरहँदा उनको त्यो अभिव्यक्ति चुनावका लागि ‘ईमोशनल ब्ल्याकमेल’ मात्रै भएको टिप्पणी गरियो ।

नागरिकतादेखि राहदानी दुरुपयोगको मुद्दासम्म आइपुग्दा रविले धेरै ठाउँमा ‘ईमोशनल’ कुराबाटै धेरैको मन जिते र धेरै कुरालाई प्रभावित पार्न सफल पनि भए । नागरिकता मुद्दामा अदालतको फैसला उनको विपक्षमा आएलगत्तै रवि आफैँले म ‘अनागरिक’ भएँ भन्दै हिँडे । तर, अदालतले उनलाई नागरिक वा अनागरिक भनेर फैसला सुनाएको थिएन ।

कारबाहीमा परेपछि ढाकाकुमारले भने- पार्टीले ममाथि ‘स्टन्टबाजी गर्‍यो, सभापति कानुनभन्दा माथि भए 

अदालतको फैसलासँगै उपप्रधान एवम् गृहमन्त्रीसँगै सांसद र पार्टी सभापति पद गुमेको आक्रोश उनले त्यसको केही दिनपछिको पत्रकार सम्मेलनमा देखाए । जहाँ उनले सञ्चारमाध्यम सञ्चालकदेखि सम्पादकसम्मलाई ‘१२ भाइ’को आरोप लगाउँदै आफ्नाविरुद्ध लेख्नेलाई नछाड्नेसम्म भन्न भ्याए । मन्त्री क्वार्टरमा श्रीमतीको कपडा छुटेकोदेखि
डिभोर्स दिएकी श्रीमती र विदेशी प्रेमिकासम्मको सम्बन्धसमेत उनले बाहिर ल्याए । जुन कुरा कसैले सोधेको पनि थिएन र त्यो भन्नुपर्ने ठाउँ पनि थिएन ।

नागरिकता विवादलाई साम्य पार्न २ दिनपछि पुनः नागरिकता प्राप्ति गरेर पार्टी सभापतिमा फिर्ता भएपछि उनले उपनिर्वाचनको तयारी र पार्टी काममा लाग्नुको सट्टा एमाले अध्यक्ष केपी ओली निवास बालकोट र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासको चक्कर मात्रै लगाइरहे ।

ढाकाकुमारको ठाउँमा विन्दबासिनी कंसाकार सांसद हुने

गैरसांसदकै रूपमा भएपनि आफूलाई गृहमन्त्री बनाइनुपर्ने दलिल पेश गर्दै हिँडेका उनलाई जब सांसद नभइ गृहमन्त्री बनाउन नसकिने जवाफ आयो, तब फेरि टेलिभिजनमै हुँदाको शैलीमा पुराना पार्टी र तीनका नेतालाई ‘काम छैन’, ‘यिनले गर्दैनन्’ भन्दै हिँड्न थाले ।

रविले बोलेपछि ‘सत्य त्यही हो’ भन्ने मानक स्थापित गर्न खोजेका रविको शैलीलाई उनका समर्थक र चितवनका जनताले समेत मन पराएको देखियो । त्यही बलमा चितवन २ मा उनले पुनः उम्मेदवारी दिए ।

चुनाव प्रचारका क्रममा रविविरुद्ध राहदानी दुरुपयोगको विषय उठ्यो र मुद्दा दर्ता भयो । त्यसपछि रविले अर्को ‘ईमोशनल’ ब्ल्याकमेल सुरू गरे । चुनावी सभा र घरदैलोमा उनले भने, “म घाँडो भएको हो भने मारिदिदू ।’ अदालतले त्यो मुद्दामा अन्तरिम आदेश नदिएर कारण देखाउ आदेश जारी गरेपछि उनको उम्मेदवारी कायम रह्यो । त्यसपछिको चुनावी दौडमा चितवनदेखि बारा र तनहुँमा खट्दै गरेका रविलाई अर्को आपत् आइलाग्यो— सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरण ।

प्रसाईंलाई स्याबासी दिँदै रविले भने- ‘खराब मान्छेहरू चाँडै छुट्टिएको राम्रो’

जुन अडिओमा उनका विश्वासपात्र भनिएका ढाकाकुमारलाई ‘डाका’ बनाउने प्रयास गरिएको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ढाकाकुमारले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीभित्रको ‘कोर टिम’लाई २ करोड बुझाउनुपर्ने भयो ‘तपाईंको सहयोग चाहियो’ भनेका छन् । भलै ढाकारामले भने यसलाई क्यारिकेचर भनेका छन् ।

यही कुरामा रविले अनुशासन समितिको प्रतिवेदनको सहारा लिएर केन्द्रीय समिति बैठक डाकेर ढाकाकुमारलाई सांसद र पार्टीबाटै निकाले । रविले गृहमन्त्री, सांसद र पार्टी सभापति छाड्दाकै अवस्थामा ढाका पनि पुगे । चितवनबाट सिधै काठमाडौं आएर रविले ढाकाको सांसद र पार्टी जिम्मेवारी खोसिदिए अर्थात् केही दिनअघिको ढाकालाई ७२ घण्टापछि ‘काका’ जस्तो देखाइयो ।

हाल सांसद पदसमेत गुमेका ढाका यो कुरा मान्न तयार थिएनन् । ‘मेरो आवाज पनि होइन, दुर्गा प्रसाईं पनि चिन्दिनँ’ भन्दै ढाकाले जतिसुकै अनुनय गरेपनि अन्तमा उनी ७२ घण्टे अल्टिमेटमको सिकार भए । रविको चुनावी अभियान प्रभावित नबनोस् भन्ने सोचले ढाकाको राजनीतिलाई ‘बली’ चढाइयो ।

कारबाहीको निर्णय सुनाउँदै गर्दा रविले ‘छानबिन समितिको प्रतिवेदनमा समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको’ भनेका थिए । ‘उहाँको कुरामा स्थिरता देखिएन । कोर टिमबारे उहाँले प्रष्ट पार्नुभएको छैन,’ लामिछानेले भनेका थिए, “मलाई सिध्याइयो भने छाड्दिनँ पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ्ग प्वाइन्टमा आउनुभएको छ ।’

अब यही प्रश्न उठ्छ— यदि राष्ट्रिय स्वतन्त्र पार्टीमा ढाकाले भनेजस्तो ‘कोर टिम’ छैन भने र ढाकाको गल्ती छ भने किन डराउने ? सुशासनको नारा लिएर हिँडेको पार्टीले नजानी/नबुझी करोडौं बार्गेनिङ्ग गर्नेलाई सांसद कसरी बनायो ? कि सांसद बन्दा नै ढाकाले ‘कोर टिम’लाई केही बुझाएको हो र पार्टीले त्यो कुरा खुस्किन्छ भनेर ढाकालाई पाखा लगाएको हो ?

अर्को कुरा ढाकाले २ करोड माग्दैमा त्यो पैसा पार्टीकै ‘कोर टिम’मा जाने र आफूले मन्त्री बन्न त्यो बुझाउनैपर्ने कुरा अडिओमै भनेका छन् । यदि ‘कोर टिम’ छैन भने ढाकादेखि किन डराउने ? यदि छ भने को-को हो ? जुनसुकै पार्टीमा पनि ‘कोर टिम’ वा ‘न्युक्लियस’ वा ‘हेडक्वार्टर’ भैहाल्छ नै । कोर टिम हुँदैमा पैसा उठाउँछ वा बार्गेनिङ्ग गर्छ भन्ने अर्थ कसरी लगाइयो ? कोर टिमले पार्टी संगठनको कामलाई सहजीकरण पनि त गर्नसक्छ । त्यसैले की कोर टिम छैन भन्नुपर्‍यो कि ढाका हाम्रो नेता वा सांसद थिएन भन्नुपर्ने हो कि ?


Comment

One thought on “कसले बनायो ढाकालाई ‘डाका’ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved