देउवासँग दीपकराजका ५ माग, होलान् पूरा ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीबीच भेटवार्ता भएको छ ।

नेपालभ्युज

देउवासँग दीपकराजका ५ माग, होलान् पूरा ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीबीच भेटवार्ता भएको छ ।

आफूलाई सभापति देउवाले भेट्न बोलाएको र आफू धुम्बराही पुगेर बात मारेको दीपकराजले बताए । ‘उहाँले भेट् बोलाउनुभयो,’ जोशीले भने, ‘म त्यहाँ पुगेँ र कुराकानी भयो ।’

उनले भेटमा समग्रमा पार्टीगतदेखि राष्ट्रिय राजनीतिका सन्दर्भमा कुराकानी भएको बताए । त्यसक्रममा पुन: एक भएर अगाडि बढ्नुपर्ने सुखद निष्कर्ष निकालेकोसमेत बताए ।

दीपकराजले आफूले मुख्यगरी ५ बुँदामा आफ्ना कुराहरू राखेको बताए ।

पहिलो— गोविन्दराज जोशी (बुवा) लाई सम्मानजनक भूमिकामा ल्याउनुपर्ने ।

गोविन्दराजले ०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो ।

पौडेललाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले ०७५ पुस २४ गते जोशीमाथि अनुशासनको कारबाही गरेको थियो । गत ०७८ मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि जोशीले तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । कारबाहीमा परेका गोविन्दराजमाथिको कारबाही अहिले कारबाही फुकुवा भइसकेको छ ।

यहीबेला दीपकराजले गोविन्दराजलाई सम्मानयोग्य भूमिका दिन आग्रह गरेका हुन् । वैशाख १० गते तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । जहाँ कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गोविन्दराजले भने आफूलाई ‘ब्ल्याकमेलिङ्ग’ गर्न कारबाही फुकुवा भएको बताउँदै आएका छन् ।

दोस्रो— तनहुँ कांग्रेसमा गोविन्दराज समूहबाट ३३ प्रतिशत भूमिका हुनुपर्ने ।

दीपकराजले आफूहरूसम्बद्ध नेताहरूलाई पार्टीमा समान अवसर दिनुपर्ने माग गरेका छन्  । ‘समानपूर्वकरूपमा सहभागिता हुनुपर्छ भन्ने माग र सुझाव मैले राखेको हुँ,’ उनले भनेका छन् ।

तेस्रो— बीपी विचार समाजका कुलबहादुर गुरूङलगायतलाई पनि व्यवस्थापन गर्नुपर्ने ।

दीपकराजले सबै नेताहरूले समान व्यवहार गरेर पार्टीमा समाहित गर्नुपर्ने माग राखेका छन् । त्यसले पार्टीपङ्क्तिलाई दह्रो बनाउने सुझाव राख्दै उनले भनेका छन्, ‘पार्टी नै बलियो हुने हो । यसमा सभापतिज्यूले विचार गर्नुपर्छ, मैले त्यही भनेको छु ।’

चौथो— ०४६ सालदेखि कांग्रेसबाट बाहिर गएकाहरूलाई पार्टीमा ल्याउनुपर्ने ।

उनले विगतदेखि पार्टीबाट बाहिरिएकाहरूलाई पार्टीमा समाहित गर्नुपर्ने माग राखेका छन् । विभिन्न राजनीतिक कारणले पार्टीबाहिर रहेका नेताहरूलाई एकतृत नगरिन्जेल पार्टी बलियो नहुने दृष्टान्त सुनाउँदै दीपकराजले सभापति देउवासँग यस्तो माग राखेका हुन् ।

पाँचौं— स्थानीय चुनावमा आफूमाथि भएको हमलाबारे छानबिन हुनुपर्ने ।

दीपकराज गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा व्यास नगरपालिका प्रमुख पदका उम्मेदवार थिए । त्यसबेला उनीमाथि हमला भएको थियो । उनले त्यही हमलाको छानबिन हुनुपर्ने माग गरेका छन् ।

आफ्ना मागहरूबारे सभापति देउवा गम्भीर भएको दीपकराजले बताएका छन् । देउवाले पार्टीमा छलफल गर्ने र हदैसम्म लचकता अपनाउने बचन दिएको दीपकराजले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved