यी हुन् बेरुजू शून्य भएका पाँच स्थानीय तह

नेपालभ्युज

यी हुन् बेरुजू शून्य भएका पाँच स्थानीय तह

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ ।

काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शून्य देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औं बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा ती स्थानीय तहको बेरुजू नभएको उल्लेख छ ।

कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजू देखिएको छ ।

महाभारत गाउँपालिकामा उक्त आवमा रु एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण भएको थियो । अघिल्लो आव अर्थात् ०७८/७९ मा गरिएको लेखापरीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजू देखिएको थियो ।

गाउँपालिकामा अध्यक्ष कान्छाला जिम्बाले अघिल्लो वर्ष केही बेरुजू देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताए ।

उनले भने, “बेरुजू शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो ।”

महाभारत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’मा सूचीकृत गाउँपालिका हो । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको रु २ अर्ब ६६ करोड लेखापरीक्षण भएको थियो ।

यसैगरी रोशी गाउँपालिका शून्य दशमलव ६६ प्रतिशत बेरुजू देखिएको छ भने भुम्लु गाउँपालिकामा सबैभन्दा धेरै चार दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ । उक्त गाउँपालिकाभन्दा दोस्रो धेरै बेरुजू देखिनेमा ३ दशमलव २६ प्रतिशतको नमोबुद्ध नगरमा रहेको छ ।

त्यस्तै ०७८/७९ मा गरिएको लेखापरीक्षणमा खानीखोला गाउँपालिकाको एक दशमलव १९, बनेपा नगरको एक दशमलव ०२ प्रतिशत, बेथानचोक गाउँपालिकाको एक दशमलव २१ प्रतिशत, मण्डनदेउपुरमा एक दशमलव ४२, धुलिखेल नगरमा एक दशमलव ६३ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा एक दशमलव ७९ र पाँचखाल नगरको एक दशमलव ९९ प्रतिशत बेरुजु देखिएको हो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved