मधेसका मुख्यमन्त्रीबारे अझै अन्योल : अंक मिलाउन दलहरूलाई हम्मेहम्मे

‘यदि जनमतले जसपा नेपालको नेतृत्वमा स्वीकारेनन् भने अर्को उपाय अपनाइन्छ, त्यसपछि आफू नेतृत्व छाडेर अरु प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाइन्छ । तर जसपा नेपाल मधेस सरकार बाहिर रहँदैन, त्यो लगभग निश्चितजस्तै छ ।’

मधेसका मुख्यमन्त्रीबारे अझै अन्योल : अंक मिलाउन दलहरूलाई हम्मेहम्मे

जनकपुरधाम । जसपा नेपाल सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि दलहरुबीच केही दिनअघिसम्म हानाथाप चलिरहेको थियो । अहिले भने त्यो क्रम सेलाए जस्तै भएको छ ।

सरकारबाट बाहिरिएसँगै एमाले र माओवादी केन्द्र सहितका दल मिलेर नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका थिए । तर अहिले त्यो प्रयासमा ‘ब्रेक’ लागेको छ ।

सुरुमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाबीच नयाँ सरकारका लागि पहल गर्ने सहमति भएको चर्चा भएको थियो । तर जनमतले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान लिएपछि सहमति त्यो चर्चाले औपचारिक सहमतिको रुप पाउन सकेन ।

जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको विषय पनि चर्चा चलेको थियो । तर एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले माओवादी र जनमत पार्टीबाट यस्तो हल्ला चलाइएको बताए ।

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेस प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले पनि कुनै सहमति नभएको बताए ।

त्यसैगरी सत्ता गठबन्धनबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री कुरा बाहिर आएपछि सो पार्टीभित्र नै विवाद देखिएको छ । पार्टीको एकजना सचिवालय सदस्यले भने, ‘महेश यादवज्यू मुख्यमन्त्री बन्नुहुँदैन भने होइन, तर त्यसका लागि पार्टीमा औपचारिक निर्णय हुनुपर्‍यो नि । पार्टीमा निर्णय नहुँदै बजारमा हल्ला हुनु राम्रो होइन, यो सबै माओवादी केन्द्रले चलाएको हल्ला हो । जनमत पार्टीमा मुख्यमन्त्रीका उम्मेदवार महेश यादव मात्र होइन अरू पनि नेता हुनुहुन्छ । यसबारे पार्टीको बैठकबाट टुङ्गो लगाउँछौँ ।’

माओवादी केन्द्रका मधेस प्रदेशका संसदीय दलका नेता भरत साहले अहिले प्रक्रिया सुरु गरे पनि मुख्यमन्त्री यादवलाई हटाउन नसकिने बताउँदै भने, ‘संसद्‌मा बहुमत सिद्ध गर्न अझै समयमा बाँकी छ । बहुमत सिद्ध नगरेमा मात्रै अर्को सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।’

मधेसमा जसपा नेपाललाई कांग्रेसले साथ दिने सम्भावना बढेको छ । एमाले र माओवादी संयुक्त रुपमा सरकार बनाउने रणनीतिमा छन् । जसपा नेपाल र कांग्रेस एक ठाउँमा हुँदा लोसपा र जनमत निर्णायक हुने देखिन्छ । यी दुई दल जुन खेमामा जान्छन्, त्यही खेमाको सरकार निर्माण हुने सम्भावना प्रवल रहन्छ । तर निर्णायक भूमिकामा पुगेसँगै लोसपा र जनमतले मुख्यमन्त्री माग गर्न थालेकाले दुवै खेमालाई अहिले अप्ठ्यारो भइरहेको छ ।

यता, सरकारको नेतृत्व गरेको जसपा नेपालले विश्वासको मत कहिले लिने भन्ने अझै टुङ्गो लागेको छैन । एमाले र माओवादी केन्द्रले वैशाख ३० गते मधेस सरकारबाट आफ्नो समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसअनुसार २८ गतेभित्र जसपा नेपालले विश्वासको मत लिइसक्नुपर्छ ।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले दलहरूको बीचमा छलफल चलाइरहेका छन् । अहिलेको जसपा नेपाल नेतृत्वको सरकारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले साथ दिइरहेको छ ।

जसपा नेपालले कांग्रेस, लोसपा सहितका दलसँग आफ्नै नेतृत्वको सरकार टिकाउन सहयोग मागेको छ । केन्द्रमा रहेका प्रतिपक्षी सबै दललाई समेटेर नयाँ सरकार बनाउन जसपा नेपालले गृहकार्य गरिरहेको स्रोत बताउँछ ।

मुख्यमन्त्री यादवले आफ्नै नेतृत्वको सरकारले विश्वासको मत लिन सफल हुने दाबी गरेका छन् । उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, म विश्वासको मत लिएर देखाउँछु । चौथो पटकजस्तै पाँचौँ पटक पनि म सफल हुन्छु, मेरो ग्यारेन्टी छ ।’

मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा १ (एक जना निलम्बनमा सहित) र माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक गरी १०७ सांसद सांसद छन् ।

सरकार बनाउनका लागि ५४ जना सांसद चाहिन्छ । यसरी मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरूबाट कांग्रेसको २२, लोसपाको ८, नेकपा (एकीकृत समाजवादी)को ७ र जसपा नेपालको १९ गरी ५६ पुग्ने अवस्थाको सिर्जना गर्दै नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक थप्ने प्रयासमा लागेको बताइएको छ ।

हुन त मुख्यमन्त्री यादवले जनमतलाई फकाएर विश्वासको मत लिने पहिलो योजना छ । पहिलो योजनामा सफल नभए जसपा नेपालले आफ्नो नेतृत्व परिवर्तन गरेर आफू सरकारमा रहने गरी अर्को योजना अपनाउने तयारीमा रहेको जसपा नेपालका एक प्रदेश सांसद बताउँछन् ।

उनले भने, ‘यदि जनमतले जसपा नेपालको नेतृत्वमा स्वीकारेनन् भने अर्को उपाय अपनाइन्छ, त्यसपछि आफू नेतृत्व छाडेर अरु प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाइन्छ । तर जसपा नेपाल मधेस सरकार बाहिर रहँदैन, त्यो लगभग निश्चितजस्तै छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved