अपर तामाकोसी हाइड्रोपावरको सीईओमा मोहन गौतम

नेपालभ्युज

अपर तामाकोसी हाइड्रोपावरको सीईओमा मोहन गौतम

काठमाडौं। अपर तामाकोसी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको चैत १४ गतेको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक) का गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

अपर तामाकोसी हाइड्रोपावर लि.स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ ।

नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरूलाई फरफारक गर्नेलगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए ।

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेड (उचाइ) लाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ ।

इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुनेछ । साथै, रोल्वालिङ खोला माथिल्लो तामाकोसीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुनेछ । योसँगै प्रणालीमा वार्षिक रूपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ ।

रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत् क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ ।

२०६० मा प्राधिकरणको सेवा प्रवेश गरेका उनले २०६४–२०७२ सम्म माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । सीईओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए ।

उनले २०७३–२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली-३ बी जलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् । उनी प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालकसमेत छन् ।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोसी हाइड्रोपावर लि.मा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २-२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरूको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरूको ८.८४ प्रतिशत, दोलखावासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved