एमालेमा बस्न नदिएर घचेट्ने हो भने नयाँ कदम चाल्न सक्छु : भीम रावल

नेपालभ्युज

एमालेमा बस्न नदिएर घचेट्ने हो भने नयाँ कदम चाल्न सक्छु : भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम रावलले एमालेमा बस्न नदिनेगरी आफूलाई घचेटिरहे नयाँ कदम चाल्न सकिने बताएका छन्।

धनगढीमा मंगलबार पत्रकार सम्मेलन गर्दै रावलले अहिलेसम्म एमालेको सदस्यको रूपमा पार्टी काममा लागिरहेको तर, एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराख्ने हो भने नयाँ पाइला चाल्न सकिने बताएका हुन्।

उनले एमालेमा रहन आफूले अन्तिमसम्म प्रयास गर्ने पनि बताए। ‘म त्यो अन्तिम बिन्दुसम्म प्रयास गर्छु’–उनले भने–‘म अहिलेपनि एमालेमै छु,तर, तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्न थालिस् अब तँ एमालेको सदस्य बन्न पाउँदैनस् भन्ने हो भने म सोच्न बाध्य हुनेछु।’

नेता रावलले पार्टीमा नबस् भनेर घचेट्या घचेट्यै गरे पनि आफूले नयाँ कदम चाल्नुअघि नेकपा एमालेका इमान्दार कार्यकर्ता र जनतासँग सोधेर मात्रै निर्णय लिने बताए।

‘अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर हलचल गरौं ?’ जनतालाई सोध्नेछु भन्दै उनले भने–‘त्यतिबेला एमाले कार्यकर्ता र जनताले आफैं उभिनुस् भनेमा उभिएर नयाँ पाइला चाल्नेछु ।’

रावलको गृह जिल्ला अछाममा आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरूसँग भेटेको र पार्टीमा असहयोग गरेको आरोप लगाएको बारे पनि उनले पत्रकार सम्मेलनमा स्पष्ट पारे।

उपाध्यक्ष पौडेल अछाम आउने जानकारी आफूलाई नभएको र आउँदैछु भनेको भए आफू स्वागत गर्न जाने थिएँसमेत भने।

पौडेल सहभागी कार्यक्रमका भीम रावलले एकीकृत समाजवादी र माओवादी केन्द्रका विभिन्न नेताहरूसँग भेटेको र गुटबन्दी गरेको आरोप लगाएका थिए । त्यसपछि कार्यक्रममा सहभागी रावलका समर्थकहरूले होहल्ला गरेका थिए ।

उनले त्यसको समेत जवाफ दिँदै भने–‘अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई र माधव नेपाललाई भेट्न हुने तर मैले अरु पार्टीकालाई भेट्न नपाउने भन्ने हुन्छ र ?’

उनले अध्यक्ष ओली र उपाध्यक्ष पौडेल स्वयंले कोटेश्वरमा गएर माधव नेपालसँग वार्ता गरेको स्मरण गराउँदै एमालेका अरु साथीहरूले पनि भेट गर्न हुने आफूले नहुने भन्ने तर्क नै गलत भएको बताए।

पार्टी निर्माणमा निरन्तर पसिना बगाएको, जेलनेलको सामना गरेको, स्वदेश र प्रवासमा संगठन विस्तार गरेकाहरूलाई आफूले भेटेको रावलले प्रष्टीकरण दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved