मन्त्री बन्ने चर्चामा यी नेताहरू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने तीव्र तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनकै लागि उनले सत्ता साझेदार दलका शीर्षस्थ नेताहरूसँग बाक्लो भेट, छलफल तथा संवाद गर्न थालेका छन् ।

नेपालभ्युज

मन्त्री बन्ने चर्चामा यी नेताहरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्लाई पूर्णता दिने तीव्र तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिनकै लागि उनले सत्ता साझेदार दलका शीर्षस्थ नेताहरूसँग बाक्लो भेट, छलफल तथा संवाद गर्न थालेका छन् ।

सोमबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डले सत्तारूढ गठबन्धनका प्रमुख घटकहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । तीन नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको र मंगलबार अपराह्न ४ बजे निर्णायक छलफल हुने प्रधानमन्त्री प्रचण्डका सचिवालय सदस्य सूर्यकिरणले जानकारी दिए ।

त्यसो त सत्ता गठबन्धनसम्बद्ध दलहरूले पनि क-कसलाई सरकारमा पठाउने र कसको नेतृत्वमा पठाउने भन्नेबारे आन्तरिकरूपमा छलफल जारी राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे प्रारम्भिक खाका तयार गरेका छन् । सोहीअनुसार पहिलोचरणमा मन्त्रिपरिषद् पुन:गठन हुने माओवादी केन्द्रका नेताहरूले बताउने गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले तयार पारेको खाकाअनुसार सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले ५, गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले ८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र अरु दलहरूले १/१ मन्त्रालय लिनुपर्नेछ ।

मन्त्रिपरिषद् विस्तार- यस्तो छ प्रधानमन्त्रीको प्रारम्भिक खाका

यसरी हेर्दा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउनेछ । उसले ४ मन्त्रालय सम्हालिरहेकै छ । ऊर्जा, पर्यटन, सञ्चार र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अहिले पनि माओवादी केन्द्रले नै हेरिरहेको छ । अब उसले थप १ मन्त्रालय पाउनेछ । थप १ मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे माओवादी केन्द्रले निर्णय गरिसकेको छैन ।

यस्तै कांग्रेसले भने सरकारमा सहभागी हुने ५ मन्त्रीको नाम भने टुङ्ग्याएको छ । उसले ८ मन्त्रालय मागेपनि ७ मन्त्रालयमा चित्त बुझाउनुपर्ने छ । उसले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई सरकारमा पठाउँदैछ । यस्तै केन्द्रीय सदस्यत्रय प्रकाशशरण महत, एनपी साउद र सीता गुरुङ पनि मन्त्री बन्दैछन् ।

थप मन्त्रालयमा क-कसलाई पठाउने भन्नेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।

यस्तै एकीकृत समाजवादीले पनि मन्त्रीको नामबारे छलफल गरिरहेको छ । एकीकृत समाजवादीले यसअघि अवसर नपाएकाहरूलाई मन्त्री बनाउने मापदण्ड तय गरेको छ । उसले मागेको ३ मन्त्रलायमध्ये अहिले उसलाई २ मन्त्रालय मात्रै दिने तयारी प्रधानमन्त्रीको छ ।

एकीकृत समाजवादी उपाध्यक्ष डा. वेदुराम भूसालको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने छ । उनी राष्ट्रिय सभा सदस्य हुन् । स्रोतकाअनुसार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भूसालको नेतृत्वमा सरकारमा सहभागी हुने कुरा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेका छन् ।

एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरूमा प्रकाश ज्वाला र भानुभक्त जोशी छन् । यदि उसले २ मन्त्रालय मात्रै लिनुपरे एकजना रोकिनुपर्ने छ ।

एकीकृत समाजवादीमा अध्यक्ष नेपालबाहेक अन्य ९ जना सांसद छन् । उनीहरू सबै मन्त्रीका आकांक्षी हुन् । अध्यक्ष नेपाल पनि आफू प्रधानमन्त्री बन्ने बेलासम्म सबैलाई पालो पुर्‍याइदिने ध्याउन्नमा छन् ।

मन्त्री आकांक्षी भएका तर अहिले मौका नपाएकाहरूलाई उनले यही भनेर ‘कन्भिन्स्’ गरिएका छन् ।

रास्वपाले क-कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिनसकेको बताएको छ । महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले भने, ‘हामी छलफलकै क्रममा छौँ । नाम फाइनल भइसकेको छैन ।’

यसअघि पनि रास्वपा सरकारमै थियो । ३ मन्त्रालय र १ राज्यमन्त्री लिएर सरकारमा गएको रास्वपा गत माघ २२ गते ४२ दिनमै सरकारबाट बाहिरिएको थियो । गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको नागरिकता प्रकरणबाट सांसद पद नै खारेज भएपछि त्यसको पटाक्षेपका रूपमा विकसित राजनीतिक घटनाहरूका कारण रास्वपा सरकारबाट बाहिरिएको थियो ।

अहिले पनि उसले गृह नै पाउनुपर्ने अडान छाडेको छैन । तर, गृह सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नै राख्ने महासचि देवप्रसाद गुरुङ बताउँछन् । ‘शक्ति सन्तुलन र सुरक्षाका दृष्टिले पनि गृहचाहिँ सरकारको नेतृत्व गरेको दलले नै राख्नुपर्छ,’ उनले भने ।

यस्तै जसपाले कसलाई सरकारमा पठाउने भन्नेबारे छलफल गरिरहेको छ । जसपा प्रवक्ता मनिष सुमन कति प्रतिनिधि पठाउनुपर्ने भन्नेबारे पनि जानकारी नरहेको बताए । यद्यपि सरकारमा पठाउने पात्रका बारेमा छलफल भइरहेको उनले बताए । ‘हामी औपचारिक-अनौपचारिक छलफलमै छौँ, सरकारमा जाने पात्रका बारेमा छलफल गर्दैछौँ,’ उनले भने ।

यसबाहेक जनमत पार्टी, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल समाजवादी पार्टी (नेसपा), आम जनता पार्टी (आजपा) लगायतका दलहरूले १/१ मन्त्रालय पाउनेछन् ।

जनमतले १ पाउने प्रधानमन्त्रीको खाका छ । जसमा अहिले पनि उसले खानेपानीमन्त्री लिइरहेको छ । यस्तै लोसपाले भने शरदसिंह भण्डारीलाई सरकारमा पठाउनेबारे छलफल गरेको छ । पुस १० गते पनि लोसपाले भण्डारीलाई नै सरकारमा पठाउने तयारी गरेको थियो । तर, अन्तिममा उसलाई खबरै पनि गरिएन ।

यसबाहेकका दलहरूले मन्त्रिपरिषद् पुन:गठनका बारेमा खासरूपमा जानकारी नै नभएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved