एजेन्सी । विश्वका धेरैजसो देशमा अहिले एक ठाउँबाट अर्को ठाउँमा छिटो यात्रा गर्न हवाइजहाजपछि रेलको प्रयोग गरिन्छ । यो बस, कारभन्दा छिटो चल्छ र हवाइजहाजभन्दा सस्तो हुने भएकाले विभिन्न विकसित देशमा यात्राका लागि रेलको प्रयोग अत्यधिक गरिन्छ ।
तर, तपाईंलाई थाहा छ, भारतमा एउटा यस्तो रेल छ, जो साइकल भन्दा पनि ढिला चल्छ । जसमा मानिसहरु चढ्ने पनि गर्छन् । भारतको सबैभन्दा ढिलो गतिमा चल्ने रेलले पाँच घण्टामा जम्मा ४६ किलोमिटर मात्र दुरी तय गर्छ ।
यसको गति मात्र १० किलोमिटर प्रति घण्टा रहेको छ । भारतको सबैभन्दा सुस्त गतिमा चल्ने रेलको नाम ‘मेट्टुपालयम ऊटी नीलगिरी प्यासेन्जर ट्रेन’ हो ।
गतिलाई आधार मानेर यसलाई सबैभन्दा सुस्त चल्ने रेल मानिन्छ । यो रेल तमिलनाडुको ऊटी हुँदै चल्छ । यसमा यात्राका क्रममा सुन्दर पहाड तथा घना जंगल देखिन्छ । यो रेलमा यात्रा गर्दा मनमोहक प्राकृतिक दृश्य हेर्न पाइने भएकाले मानिस आकर्षित हुन्छन् ।
पहाडी बाटोबाट हिँड्ने भएकाले यात्राकै क्रममा यसको गति अझै सुस्त हुन्छ । साथमा यो ४६ किलोमिटरको यात्रामा विभिन्न स्थानमा रोकिने पनि गर्छ । नीलगिरी माउन्टेन रेलवेको निर्माण अंग्रेज शासकले गरेका थिए । यो रेल विशेषगरी पर्यटकका लागि बनाइएको थियो ।
Facebook Comment
Comment