काठमाडौं । हामी मानिसका लागि मस्तिष्क जीवनको आधार हो । हामीले मस्तिष्कबिना केही सोच्न, बुझ्न, प्रतिक्रिया जनाउन सम्भव छैन । तर, प्रकृतिमा यस्ता अनौठा जीवहरू पनि छन्, जसको शरीरमा मस्तिष्क नै हुँदैन । तर, पनि तिनीहरू बाँचिरहेका छन्, चलिरहेका छन्, प्रतिक्रिया जनाइरहेका छन् र केही अवस्थामा त सिक्नसमेत सक्षम छन् ।
अचम्मको कुरा त के भने यी जीवहरू आफ्नो आवश्यकताका सबै काम मस्तिष्कबिना सजिलैसँग गर्न सक्छन् । आउनुहोस्, यस्ता पाँच अनौठा जीवबारे जानौँ –
क्यारिबियन बक्स जेलीफिस
क्यारिबियन बक्स जेलीफिस मुख्यतया क्यारिबियन समुद्रमा पाइन्छ । अर्थात् क्युबा, बेन्जुएला, कोलम्बिया, इक्वेडर आदि देशहरूको समुद्रमा पाइन्छ । यसको शरीर पारदर्शी हुन्छ र यसले निकै बलियो विष स्राव गर्न सक्छ । यस जीवसँग मस्तिष्क हुँदैन, तर यसमा केही हजार न्युरोनहरू छन्, जुन आँखाजस्तो संरचनाहरूको वरिपरि सञ्चालित हुन्छन् ।
caribbean-box-jellyfish
बीबीसीको रिपोर्टअनुसार सन् २०२३ मा गरिएको अध्ययनमा यिनीहरू सामूहिक रूपमा सिक्न सक्छन् भन्ने कुरा पत्ता लागेको थियो । उदाहरणका लागि यदि यिनीहरू कुनै वस्तुमा ठोक्किन्छन् भने त्यसबाट बच्नको उपाय खोज्ने प्रयास गर्छन् ।
बीडलेट एनेमोन
रातो रङ्गको यो स्पर्श–संवेदनशील जीव समुद्री चट्टानहरूमा पाइन्छ । मस्तिष्क नभए पनि कुनै कुराको स्पर्श हुनासाथ सक्रिय हुन्छ ।
Beadlet-anemone
नटिङ्घम विश्वविद्यालयको अनुसन्धानअनुसार बीडलेट एनेमोनले आफूमा हुने खतरा वा आक्रमणको स्तर चिन्न सक्छ र त्यसअनुसार प्रतिक्रिया जनाउँछ ।
ब्रिटल स्टार्स
ब्रिटल स्टार्स समुद्री तारा माछाका नजिकका आफन्त हुन् । यिनीहरू मस्तिष्कविहीन जीव हुन् । यिनीहरूको शरीरमा न त केन्द्रीय तन्त्रिका प्रणाली हुन्छ, न मस्तिष्क ।
Brittle-stars
यिनीहरूसँग एउटा नर्भ रिङ र प्रत्येक हातमा स्वतन्त्र रूपमा काम गर्ने नर्भ कर्डहरू हुन्छन्, जसले बिना मस्तिष्क तिनीहरूलाई चलायमान राख्न सक्षम बनाउँछ ।
सी स्क्वर्ट
सी स्क्वर्ट अत्यन्तै सरल बनावट भएका समुद्री जीव हुन्, जसले आफ्नो जीवनको अधिकांश समय चट्टान वा अन्य सतहमा टाँसिएर बिताउँछ । तिनीहरू पानी चुस्ने र फिल्टर गर्ने माध्यमबाट खाना लिन्छन् ।
Sea-squirt
अचम्मको कुरा त के भने प्रारम्भिक जीवनमा यिनीहरूसँग मस्तिष्कजस्तो संरचना हुन्छ, तर स्थायी रूपमा बसेपछि त्यसलाई नै अवशोषित गर्छन् र बाँकी जीवन मस्तिष्क बिना बिताउँछन् ।
स्लाइम मोल्ड्स
स्लाइम मोल्ड्स न जनावर हुन्, न बिरुवा, न ढुसी यिनीहरू एककोषीय जेल जस्ता संरचना भएका जीव हुन् ।
Slime-molds
मस्तिष्क नभए पनि यिनीहरू बाटोहरू सम्झन सक्ने, निर्णय गर्न सक्ने र समस्याहरू समाधान गर्न सक्ने क्षमताका लागि प्रसिद्ध छन् । कतिपय प्रयोगहरूमा यिनीहरूले जटिल भुलभुलैयाबाट सबैभन्दा छोटो मार्ग पत्ता लगाएका छन् ।
Facebook Comment
Comment