भरतपुर रङ्गशालाको हिसाब- ३९ करोड संकलन, ५७ करोड खर्च, १८ करोड उधारो (भिडिओ)

तपाईँहरूले गर्नुभएको सहयोग खेर गएको छैन। सबै यही खर्च भएको छ। सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस्। ५७ करोड ९२ लाख रुपैयाँ खर्च छ भने ३९ करोड ८० लाख संकलन भएको छ। १८ करोड ४३ करोड रुपैयाँ उधारो छ।

नेपालभ्युज

भरतपुर रङ्गशालाको हिसाब- ३९ करोड संकलन, ५७ करोड खर्च, १८ करोड उधारो (भिडिओ)

काठमाडौं। सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका विषयमा लामो समयपछि मौनता तोडेका छन्। आफूहरूमाथि लागेका आरोपबारे जवाफ दिन उनले अलपत्र रङ्गशालामै बसेर भिडिओ बनाउँदै जवाफ दिए।

३० मिनेटको भिडिओमा उनले रङ्गशाला अलपत्र पर्नुका कारण तथा रङ्गशाला बनाउनुअघिदेखि हालसम्मका घटनाक्रमहरू वर्णन गरे। राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरूले मानसिक यातना भोग्नुपरेको गुनासो गरे।

केही आक्रोशित र केही भावुक देखिएका धुर्मुसले आफूले एक रुपैयाँ पनि हिनामिना गरेको भेटिए रङ्गशालामै गाड्न चुनौती दिए। जुनसुकै सजाय खेप्न तयार रहेको उनले उल्लेख गरे।

आफूले र अहिलेकै अवस्थामा रङ्गशाला सरकारलाई हस्तान्तरण गर्न तयार भए पनि राज्यको कुनै पनि निकाय लिन तयार नभएको बताए। जसकारण आफू थप पीडामा रहेको सुनाए।

सहयोग रकम उठाएर काम नगरेको भन्नेहरूलाई धुर्मुसले ‘सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस्’ समेत भने।

रंशगलाामा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको र ३९ करोड ८० लाख संकलन भएको उनले बताए। १८ करोड ४३ करोड रुपैयाँ उधारो सामानको पैसा तिर्न बाँकी रहेको धुर्मुसले उल्लेख गरे।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला : परिबन्धको चक्रव्यूहमा धुर्मुस-सुन्तली

धुर्मुसले फेसबुक लाइभमार्फत बोलेका कुराहरूको मुख्य अंश:

सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस्

म विगत डेढ वर्षदेखि यही रङ्गशालाका कारण मानसिक यातना भोगिरहेको छु। मेरो निजी र पारिवारिक जीवन बिथोलिएको छ। आखिर मैले गरेको अपराध के हो? देशका लागि एउटा गर्विलो संरचना निर्माण गर्न खोज्नु नै मेरो अपराध हो ?

तपाईँहरूले गर्नुभएको सहयोग खेर गएको छैन। सबै यही खर्च भएको छ। हामी निमित्त मात्र हौँ। स्वयम्सेवी हौँ। यो राज्यको सम्पत्ति हो। सामाजिक सञ्जालका भित्ता रंगाउनुअघि यहाँ हेर्न आइदिनुस्।

आज नेपाली क्रिकेट जहाँ पुगेको छ, रङ्गशाला आवश्यक रहेछ कि रहेनछ? टीयू ग्राउन्डको प्रतियोगिता भुईँमा बसीबसी हजारौँले हेरिरहँदा, भुईँमा पनि नअटाएर रुखमा झुन्डिएर हेरिरहँदा रङ्गशालाको आवश्यकता महसुस भयो कि भएन?

कहाँ भागेका छौँ ? फिल्डमा रुँघेर बसेका छौँ

हामी कहाँ लुकेका छौँ? कहाँ भागेका छौँ? अहिले पनि फिल्डमा रुँघेर बसेका छौँ। डेढ वर्षदेखि सिंहदरबारका ढोकाढोका चहारेर लौन निकास निकाल्नुपर्‍यो भनेर अनुनय गरेँ। हो, हामीले नसकेकै हौँ। अरू कुनै कारणले नभएर आर्थिक अभावले।

एक वर्षअघि पुस २ गते स्वामित्व लिइदिन अनुरोध पत्र महानगरमा पठायौं। आम्दानी खर्चको मूल्याङ्कन गरियो। भौतिक संरचनाको चेकजाँच गरियो। त्यसको प्रतिवेदन सार्वजनिक भएपछि म आफ्ना कुरा राख्छु भन्दै थिएँ। तर, प्रतिवेदन सार्वजनिक गरिएन।

दोस्रो पटक कोरोना भएर बेडमा सुतिरहेको बेला अख्तियारमा उजुरी परेको भनेर सनसनी समाचार फैलियो। परियोजनाको जम्मा खर्च ५७ करोड छ। ५७ करोड नै भ्रष्टाचार भएको भनेर उजुरी हालियो। यही रङ्गशालामा मेयर कप आयोजना गरेर नमुना खेलमैदानको पैसा २ लाख १० हजार नतिर्नेहरू उजुरी हाल्न पुग्नुभएछ।

क्रिकेटका दर्शक रूखमा, खेलकुदको बजेट मुखमा

मूल्याङ्कन सकिएपछि हिसाब देखिन्छ भनेर चुप बसेको हुँ

म चाहिँ मूल्याङ्कन सकिएपछि वास्तविक कुरा बाहिर आइहाल्छ भनेर पर्खिबसेँ। महानगरपालिकाले बोलाएको सीएको टीमले महानगरलाई प्रतिवेदन बुझायो। तर, हिसाब सार्वजनिक भएन। ती रिपोर्टहरू फागुनमा खेलकुद मन्त्रालयमा पुगे।
५ गते खेलकुद मन्त्रालयले अर्को समिति बनायो एक हप्तामा सुझाव दिन भनेर।

तर, एक हप्तासम्म समितिका पदाधिकारीको चिठी पनि पुगेको थिएन। म आफैँ चिठी बोकेर हिँडे। बैठक बस्यो। अब त सुझाव देला, टुङ्गिएला भन्यो छैन।

फेरि अर्को मूल्याङ्कन सुरु भयो। जागिर छोडेका इन्जिनियर र एकाउन्टेन्ट बोकेर सिंहदरबार धाइरहें। एक दिन होइन, दुई दिन होइन। यो चाहियो, त्यो चाहियो भनियो। मन्त्रीकहाँ गयो, रिपोर्ट दिएको छैन भन्छन्।

सचिवकहाँ गयो पर्खिनुस् न भन्छन्। साढे पाँच महिना बित्यो खेलकुद मन्त्रालयमा। तर, रिपोर्ट आएन। मौखिक रूपमा समितिका सदस्यले भन्न थाल्नुभयो, नेपाल सरकारसँग यो परियोजनामा कुनै लेनादेना छैन। यो रिपोर्ट त महान्यायाधिवक्ताकहाँ पठाउनुपर्छ।

महानगरपालिकाले नै भुक्तानी गरेर सल्टाउनुपर्ने थियो। महानगरपालिकालाई सोध्यौँ। केन्द्रीय सरकारले सकार्नुपर्छ भनियो। महानगर र केन्द्रीय सरकारको चक्कर लगाउँदालगाउँदै दिन बिते।

हरहिसाब अडिट रिपोर्टमा छ

राज्यले जग्गा उपलब्ध गराएको ठाउँमा राज्यकै सम्पत्ति बनेको छ। उधारो तिर्नुपर्ने सबै हरहिसाब अडिट रिपोर्टमा देखिएको छ। कानुनले छेक्यो उधारो तिर्नलाई।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूकहाँ पुगे, लौन टुंगाइदिनुपर्यो‍ भनेर। गैर आवासीय नेपाली संघ, क्रिकेट संघ, खेलकुद परिषद् कहाँ मात्र धाइनँ। अब अगाडि बढाइदिनुस् भनेर अनुरोध गरेँ। मुख्यसचिवकहाँ पुगियो। म त मर्ने अवस्थामा पुगिसकें, कि खोट देखाइदिनुपर्‍यो होइन भने म यसरी नसक्ने भएँ भनेँ। आत्मदाह गर्ने अवस्थामा पुगेको बताएँ।

अब टुङ्गिन्छ भन्दाभन्दै साउन ९ गते मन्त्रिपरिषद्बाट अर्को समिति बन्यो, सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा। त्यसले एक महिनाभित्र रिपोर्ट दिनुपर्ने थियो। रिपोर्ट त पेस भयो स्वामित्व लिने भनेर। तर, निर्णय गर्ने बुँदाहरू लेखेनछ भनियो। अब दसैँ सकेपछि टुङ्गिन्छ भनियो। दसैँ सकियो, तिहार सकियो। फेरि चुनाव आउने बेला भयो, अहिले मिल्दैन भनियो।

हरेक मन्त्रीलाई अनुरोध गरेँ। क्वाटरमा पुगे। टुङ्ग्याइदिनुस्, न्याय दिलाइदिनुस् भनेँ। चुनावको आचारसंहिताले दिँदैन भनियो। चुनाव सकिएर प्रधानमन्त्री, मन्त्रीकहाँ धाएँ। टुङ्ग्याइदिनुस् भनेँ। तर त्यो सरकार पनि गयो।

अहिले नयाँ सरकार आएको छ। अनुरोध गरिरहेका छौंं। अझै आशावादी भइरहँदा कहींकतैबाट टुङ्गिएको अवस्था छैन। हरहिसाब सार्वजनिक गरिएला भनेर सास्ती खेप्दै आइयो। मैले गरेको काम सही छैन भने खोट देखाइदिनुर्यो‍।

सञ्चारमाध्यममा प्रतिवेदन सार्वजनिक भएका छन्। ५७ करोड ९२ लाख रुपैयाँ खर्च छ भने ३९ करोड ८० लाख संकलन भएको छ। १८ करोड ४३ करोड रुपैयाँ उधारो छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्न, प्राविधिक समिति गठन

३० करोड दिन्छु भन्नेले ३ करोड दिए

हामी परिबन्दमा फस्दै गयौँ। महत्त्वाकाङ्क्षी काम भनियो। राज्यले गर्ने काम व्यक्तिले किन गरेको भनियो। घाँटी हेरेर हाड निल्नुपर्ने भनियो। हामीले यो परियोजना हचुवामा अघि बढाएका थिएनौँ। उधारोमा सामान झारीझारी राज्यको सम्पत्ति बनाउने मलाई त सम्मान गर्नुपर्ने होइन?

चितवनमा महायज्ञ लाग्यो। आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्नुभयो। जजसले बोल्नुभएको थियो। तर, बोलेकामध्ये अधिकांश रकम आएनन्।

७९ करोडमध्ये ९ करोड ४१ लाख आयो। कबोल भएको पैसा आउला भन्ने आशले उधारोमा सामान झारिएको थियो। बाग्मती प्रदेश सरकारका मुख्यमन्त्रीले ३० करोड दिने भन्नुभएकोमा ३ करोड आयो, बाँकी २७ करोड आएन।

आँसुको स्विमिङ पुल बनेको छ

हामीलाई यसरी बदनामी, आलोचना र चरित्रहत्या गरियो कि मानौँ करोडौँ रुपैयाँ भ्रष्टाचार गरेर भागेको जस्तो। गाडी जोडे, स्विमिङ पुलसहितको घर बनाए अरे ! हो, आँसुको स्विमिङ पुल बनेको छ।

हामीले कलाकारिता गरेर नै पैसा कमाएका थियौँ। २०६७ सालमै घर–गाडी जोडिएको हो। सात वटा कम्पनीका सद्भावना दूत थियौँ। अभाव थिएन।

आम्दानी कसैलाई भाग लगाउनु पर्दैनथ्यो। तर, यस्तो बनाइयो कि मङ्गल ग्रहबाट टुप्लुक्क झुल्कियौँ र रङ्गशालाबाट भ्रष्टाचार गरेर विलासिताको लाइफ बाँचिरहेका छौँ।

गडबडी भएको भए हातमा हतकडी हुन्थे

जग्गाको विषयमा पनि अफवाह फैलाइएको छ। हामी कृषि विश्वविद्यालयको जग्गा हडप्न आएका थिएनौँ। जग्गामा हाम्रो के दोष छ ? जग्गा उपलब्ध गराएको सरकारले होइन?

यो ठाउँमा बना भनेर दिइयो। डेढ वर्षपछि एक्कासि यस्ता कुराहरू आए। किसानको छोरो हुँ। हलो जोतेर पढेको। कृषिप्रति मोह छैन होला ?

हामी आउँदा यो जमिन कस्तो थियो ? तीन–चार फिटमा पानी आउँथ्यो। सिमसार हो। १७ फिट पुरेर जग हालिएको थियो।

डेढ वर्ष बिताइसकेँ। अझै पनि कहाँ–कहाँ हिसाब देखाउनुपर्ने हो देखाउन तयार छु। अझै चेकजाँच गरियोस्। चार वटा समिति गठन भइसके। कतै गडबडी भएको भए मेरो हातमा हतकडी हुन्थे होला।

अडिट रिपोर्ट चित्त नबुझे रङ्गशालामा आएर हेर्नुस्

सरकार त सबैको अभिभावक हो नि ! अभिभावकले सन्तानलाई माया र संरक्षण दिन्छ होला भनेको रुँदै हिँड्नुपरेको छ। मेरो खोट कतै देखिन्छ भने तुरुन्तै निर्णय होस्।

यदि कोही कसैलाई हाम्रा हिसाबहरू, अडिट रिपोर्ट चित्त बुझ्दैन भने एक चोटि रङ्गशालामा आएर हेर्नुस्। तपाईँले गरेको सहयोग बराबरको छैन भने मलाई यही गाडिदिनुस्। तर, यसरी पलपल नमारिदिनुस्।

मेरो परिवार पलपल मरिरहेको छ। हरेक दिन घर फर्किँदा परिवारले सोध्छन्– आज टुङ्गियो? श्रीमती सुन्तलीले महायज्ञको अन्तिममा बोलेको कुरालाई बङ्ग्याएर महारानी भनियो।

तथानाम गालीगलौज गरियो। बरु मलाई गाली गर्नुस्। मेरो परिवारका सदस्यलाई, अभियन्ता कसैलाई गाली नगरिइदिनुस्। दोष सबै म जिम्मा लिन्छु। मेरो परिवारमा कसले कति वेला आत्मदाह गर्ने हुन् भन्ने अवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved