देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलकुद क्षेत्र कुनै पनि सरकारको प्राथमिकतामा परेको छैन ।
नेपाल भ्युज
काठमाडौं। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दा सधैँ देशको प्रतिष्ठासँग जोड्ने गरिन्छ । खेलाडीलाई देशको गहना भनिन्छ, खेलकुदलाई गर्व गर्न मिल्ने क्षेत्र मानिन्छ । तर, यही खेलकुद सधैँ उपेक्षित हुँदै आएको छ ।
त्यसको उदाहरण खोज्न कतै जानैपर्दैन, बिहीबार त्रिवि क्रिकेट रङ्गशालामा छरपस्टै देखियो। हजारौँ दर्शक स्टेडियममा ओइरिए। दर्शकले चिसो भुइँमा थच्किन पनि पाएनन् । वरिपरि रूखमा चढ्न बाध्य भए।
रूखमा चढेर क्रिकेट हेरिएको पहिलोपटक भने होइन। हरेक खेलमा दर्शक यसरी नै खेल हेर्न बाध्य छन् । तर सरोकारवाला निकायको चासो भने यसतर्फ देखिँदैन ।
‘न्युट्रल भेन्यु’ अर्थात् ‘निष्पक्ष मैदान’को परिकल्पनामा तयार भएको हो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यही मैदानमा हुँदैगर्दा क्रिकेटलाई माया गर्ने दर्शक भने चिसो भुइँमा या वरिपरि रूखमा चढेर नै आफ्नो टोलीको उत्साह बढाउन बाध्य छन् ।
सन् १९९८ बाट अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको यो मैदानले अहिलेसम्म आफ्नो रूप फेर्न सकेको छैन । एसीसी ट्रफीअन्तर्गत पपुवा न्युगिनी र बङगलादेशबीचको खेलबाट यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिताको रेकर्ड राख्न सुरु गरिएको थियो।
‘आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–टु’ मा नेपाललाई ऐतिहासिक सफलता पनि यही मैदानबाटै प्राप्त भएको छ। नेपालले पछिल्ला १२ मध्ये ११ मा जित निकाल्यो, जुन उपलब्धि अद्वितीय हो।
यसअघि, टीयू मैदानमा खेलेको २ सीरिजमा नेपालले क्लिन स्विप गरेको थियो । हालै सम्पन्न सिरिजमा यूएईविरुद्ध २ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ७७ रनको जित हासिल गरेको थियो। घरेलु मैदानमा नेपालले निकालेको सबैभन्दा फराकिलो अन्तरको जित हो।
यस्तै, पीएनजीविरुद्ध ९६ रनको लक्ष्य पछ्याउने क्रममा २ सय ५४ बल बाँकी रहँदा १ विकेट गुमाएर नेपालले जित हात पारेको थियो। यो पनि नेपालको लागि कीर्तिमानी जित हो।
३० वर्षअघि जस्तो थियो, अझै उस्तै
बिहीबार विश्वकप लिग २ अन्तर्गत नेपाल र यूएईको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाला पुगे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। खेलाडीहरूलाई हौसला दिएर विशिष्ट अतिथि कक्षतर्फ पुग्दै गर्दा दर्शकतर्फबाट चर्को नारा गुञ्जियो ‘रङ्गशाला चाहियो, रङ्गशाला चाहियो।’
सहजसँग क्रिकेट हेर्न नपाएका दर्शकले आक्रोश पोखे । आयोजकका अनुसार ११ हजार भन्दा बढी टिकट अघिल्लो दिन नै बिक्री भएको थियो । खेलकै दिन पनि हजारौं टिकट बिक्यो । तर, टिकट किन्नेमध्ये धेरैले भित्र पस्न पाएनन् । टिकट खरिदकर्ता र सञ्चार माध्यमलाई प्रवेशका लागि तोकिएको ६ नम्बर गेट खेल सुरु नहुँदै बन्द भयो ।
अत्यधिक चाप भएपछि प्रहरीले पहिल्यै बद गर्न बाध्य भयो। भिड बढ्दै गएपछि हेर्न नपाएका दर्शकले नाराबाजी गरे। धेरै क्रिकेटप्रेमी रङ्गशाला वरिपरिका अग्ला स्थान र रूखमा समेत चढ्न बाध्य भए।
क्रिकेटको विकासका लागि भनेपछि कीर्तिपुरस्थित टीयू प्रशासन, स्ववियु र विद्यार्थी सङ्गठनले उदारता देखाएपछि मैदान निर्माण भएको थियो । तर, रङ्गशालाभित्र हुनुपर्ने भौतिक सुविधा भने केही थपिएको छैन । न त पार्किङ छ न त शौचालय नै बनेको छ ।
न्यून बजेट, त्यो पनि ‘मुखमा’
देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलकुद क्षेत्र कुनै पनि सरकारको प्राथमिकतामा परेको छैन । आर्थिक वर्ष २०७९\८० का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट दिइएको छ, जुन अघिल्लो वर्षभन्दा २८ करोड कम हो।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दा सधैँ देशको प्रतिष्ठासँग जोड्ने गरिए पनि सरकारको बजेटमा भने खेलकुद सधैँ उपेक्षित हुँदै आएको छ । त्यही थोरै बजेट पनि सदुपयोग नभएको गुनासो आइरहन्छ।
बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन भए पनि काम अघि बढ्न सकेको छैन।
बजेटमा खेलकुद विकासका लागि २० वर्षे गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहन गर्ने र विदेशी क्लबलाई नेपालमा फ्रेन्चाइज लिग आयोजना गर्न अनुकूल वातावरण निर्माण गर्ने उल्लेख गरिएको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण पूरा गर्न नसकेको चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालाको निर्माण कार्य प्रदेश र स्थानीय तहसँग सहकार्य गर्दै पूरा गर्ने जनाइएपनि अलपत्र छ।
महोत्तरीको मटिहानी, चितवनको कठार र पूर्वी नवलपरासीको मध्यविन्दुमा स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रिएसन सेन्टर स्थापना गर्ने नयाँ योजना ल्याइएको छ। तर, काम अघि बढेको छैन।
त्यस्तै, कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला (त्रिवि मैदान) लाई रात्रिकालीन खेल खेल्न सकिने गरी स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ । दिउँसै सजिलै खेल हेर्न सकिने अवस्था छैन । रातिको के कुरा भयो र । काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला यही वर्ष पूरा गर्ने भनिए पनि सम्भव देखिँदैन।
अलपत्र परेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान
आश्वासन मात्रै, हुँदैन काम
बिहीबारको खेलमा नेपाली टोली विजय हुँदै विश्वकप छनोटमा पुग्यो। सोही टोलीलाई शुक्रबार बिहान प्रधानमन्त्री निवासमा भेट्दै प्रचण्ड र शितलनिवासमा भेट्दै राष्ट्रपतिले आश्वासन दिए।
प्रधानमन्त्रीले कीर्तिपुरको क्रिकेट मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए। अन्य क्रिकेट मैदानको निर्माण सम्पन्न गर्न सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे।
मूलपानी क्रिकेट मैदान
प्रधानमन्त्रीले भने, ‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशित गर्दछु।’
मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत जनाए।
तर यस्ता निर्देशन र प्रतिवद्धता कार्यान्वयन नहुने रोग भने नेपालमा पहिलेदेखि नै चलिरहेको छ । यस पटक पनि काम नभएसम्म विश्वास गरिहाल्न गाह्रो छ ।