जसपाले केन्द्रीय सदस्य घटाउने, संघीय परिषद् हटाउने

अशोक राईको पद धरापमा,७० बर्ष पुगेका पदाधिकारी हुन नपाईने

नेपालभ्युज

जसपाले केन्द्रीय सदस्य घटाउने, संघीय परिषद् हटाउने

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समिति सदस्यको संख्या घटाउने र संघीय परिषद् हटाउने भएको छ।

यही चैत २६, २७ र २८ गतेका लागि बोलाइएको विधान अधिवेशनमा सो प्रस्ताव लैजाने तयारी भएको सो पार्टीले जनाएको छ । विधानको संशोधित मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ ।

हाल जसपाको विधानमा ७०१ सदस्यीय कार्य समिति रहने भनिएको छ । विधान मस्यौदामा सो संख्या घटाएर घटाएर १५१ कायम गर्ने प्रस्ताव गरिएको भए पनि यो पारित हुने सम्भावना भने कम भएको एक नेताले बताए ।

‘पदमा रहेका साथीहरूलाई जिम्मेवारीबाट हटाउँदा वा पद घटाउँदा पार्टीमा समस्या र असन्तुष्टि बढ्न सक्छ’ उनले भने–‘विधान अधिवेशनले सबैलाई मान्यहुने प्रस्ताव नै पारित गर्छ।’

पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान तयारी समितिले मस्यौदा अध्ययनका लागि मातहतका निकायलाई पठाइसकेको जनाएको छ । मस्यौदामा नेताहरूको उमेरसमेत निश्चित गरिएको छ ।

मस्यौदाअनुसार केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने प्रस्ताव गरिएको छ भने ७० वर्ष पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।

केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुनेगरी पार्टी सदस्य संख्याको अनुपातमा मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसंख्यक समुदाय हुनुपर्ने र सामाजिक समूहहरूबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्यहरू निर्वाचित हुने मस्यौदामा उल्लेख छ ।

विधानबाट राष्ट्रिय समिति पनि हटाइने भएको छ । हाल जसपामा मधेस, लिम्बुवान, किराँत, शेर्पालुङ, खसान, तमुवान, ताम्सालिङ, थारुवान, नेवा, मगरात र शिल्पी दलित राष्ट्रिय समिति रहेका छन्।

त्यस्तै, संघीय परिषद्को व्यवस्था पनि हटाउने प्रस्ताव गरिएको छ । हाल संघीय परिषद्को अध्यक्षमा अशोक राई छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved