उपराष्ट्रपति चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार

को‍ -को छन् दावेदार ?

नेपालभ्युज

उपराष्ट्रपति चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार

काठमाडौं। चैत ३ गते उपराष्ट्रपति निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

पुस १० को गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि हाल प्रधानमन्त्री प्रचण्डसँग १६ मन्त्रालयको जिम्मेवारी छ।

नयाँ गठबन्धनमा नेपाली काङ्ग्रेससहित आम जनता पार्टी र नेपाल समाजवादी पार्टीसमेत १० दल छन् । यसअघिको गठबन्धनमा भएर पनि सरकार छाडेको रवि लामिछाने नेतृत्वको रास्वपा पनि यो सरकारमा सहभागी हुने स्रोतको भनाइ छ।

रास्वपाले हाल २ मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको बुझिएको छ।’चितवन २ को उपनिर्वाचन अगाडि रास्वपा दुई मन्त्रालय लिएर सरकारमा जान तयार छ’ गठबन्धन स्रोतले भन्यो-‘उपनिर्वाचनमा सभापति लामिछाने निर्वाचित भएमा पुन:उनको लागि महत्त्वपूर्ण मन्त्रालय सुरक्षीत हुनुपर्ने उहाँहरुको माग छ।’

यसैगरी, गठबन्धनमा १० दल भएकोले मन्त्रालय बाँडफाडमा सबैले हिस्सा खोज्दा मन्त्रिपरिषद् बिस्तार गर्दा सत्ताको नेतृत्व गरिरहेको माओवादीको हिस्सा घट्ने छ। काङ्ग्रेसले पनि एमालेले यसअघि पाएको मन्त्रालय सबै दाबी गरेको स्रोतको भनाइ छ ।

तर, सरकार विस्तारमा काङ्ग्रेसले ७ मन्त्रालय पाउने मोटामोटी सहमति छ। त्यसमा थप एक राज्यमन्त्री पनि हुनेछ। गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार र ऊर्जामध्ये मुख्य तीन मन्त्रालयसहित काङ्ग्रेसले सरकारमा सहभागी हुने स्रोतले बतायो ।

गृहमन्त्रीमा काङ्ग्रेसको दाबी भए पनि प्रधानमन्त्री प्रचण्ड गृह माओवादीले नै राख्नेमा अडिग छन् । काङ्ग्रेसलाई रक्षा, अर्थ र स्वास्थ दिन भने प्रधानमन्त्री प्रचण्ड राजी भएको एक नेताले बताए ।

परराष्ट्र, ऊर्जा र सञ्चारमध्ये एकमा नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमत पार्टीको पनि दाबी छ। उनीहरूले २/२ मन्त्रालय पाउनेछन् । यता नेसपा र आनेपाले पनि एक/एक मन्त्रालयमा दाबी गरेका छन् । आजपाका अध्यक्ष प्रभु शाह र नेसपा अध्यक्ष महेन्द्र राय यादव मन्त्रीका लागि दाबी गरिरहेका छन् ।

नेपाली काङ्ग्रेसले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निर्णय गर्न सकेको छैन। पार्टी उपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रवक्ता डा.प्रकाशशरण महत, विमलेन्द्र निधि, डा.शशांक कोइरालामध्ये एकजनाले नेतृत्व गर्ने भनिए पनि टुंगो नलागेको काङ्ग्रेस स्रोतको भनाइ छ।

बढीमा ७ मन्त्रालय पाउने काङ्ग्रेसमा मन्त्री हुने लाइनमा ५० जनाभन्दा बढी छन् । काङ्ग्रेसबाट सीता गुरुङको मन्त्री हुने सम्भावना लगभग पक्का छ। त्यसैगरी, एनपी साउत, धनराज गुरुङ, डा.शशांक कोइराला, बद्री पाण्डे, आरजु राणा, मोहन बस्नेत, प्रदीप पौडेल मध्येबाट बढी सम्भावना रहेको छ।

सत्ता नेतृत्व गरिरहेको माओवादीले भने अहिलेकै मन्त्रीको संख्या घटाउनुपर्ने अवस्थामा थप कसैले मौका पाउने सम्भावना नभएको एक नेताले बताए । माओवादी कोटामा नेसपा अध्यक्ष महेन्द्र यादवको मात्रै सम्भावना हुनसक्ने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved