युद्धकालमा जापानबाट पीडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियाको घोषणा, अमेरिकाद्वारा स्वागत

नेपालभ्युज

युद्धकालमा जापानबाट पीडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियाको घोषणा, अमेरिकाद्वारा स्वागत

वासिङ्टन । युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’ को संज्ञा दिएका छन् ।

सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको थियो ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनले सन् १९६५ मा टोकियोसँग भएको क्षतिपूर्ति सम्झौताबाट लाभान्वित भएका प्रमुख दक्षिण कोरियाली कम्पनीहरूबाट रकम लिने र त्यसलाई पीडितलाई क्षतिपूर्ति दिन प्रयोग गर्ने सियोलको योजना रहेको बताएका छन् ।

यद्यपि, पीडितहरूले यो प्रस्तावको आलोचना गरेका छन् किनभने यो टोकियोबाट पूर्ण माफी माग्ने र यसमा संलग्न जापानी कम्पनीहरूबाट प्रत्यक्ष क्षतिपूर्तिको मागभन्दा धेरै कम छ ।

सियोलले आणविक शक्ति सम्पन्न उत्तर कोरियाको सामना गर्ने उपायको रूपमा टोकियोसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेको छ र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानसँगको त्रिपक्षीय सम्बन्धलाई इन्डो–प्यासिफिक क्षेत्रीय स्थिरताको लागि महत्वपूर्ण कदमको रूपमा वर्णन गरेको छ ।

बाइडेनले ट्वीटरमा लेखेका छन्, ‘हाम्रा दुई निकटतम सहयोगी जापान र गणतन्त्र कोरिया ऐतिहासिक सफलतामा पुगेका छन् ।’

उनले लेखेका छन्, ‘हामी सबै सुरक्षित र समृद्ध भविष्यतर्फ अघि बढिरहेका बेला संयुक्त राज्य अमेरिका दुवै देशका जनताको साथमा उभिएको छ ।’

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनले सियोल र टोकियोको साहस र दूरदृष्टिको प्रशंसा गरेको र यस महत्वपूर्ण उपलब्धिको प्रशंसामा सहभागी हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved