भारतको सहयोगमा मुस्ताङमा खोल्न लागिएको बौद्ध कलेज विवादमा

नेपाल सरकारले परम्परागत बौद्ध दर्शन पढाउन भन्दै मुस्ताङमा खोल्न अनुमति दिएको ‘मुस्ताङ बौद्ध कलेज’ विवादमा परेको छ। निर्माण पक्षले भने परियोजनामा भारत सरकारको सहयोग हुने भए पनि कुनै कूटनैतिक र रणनीतिक स्वार्थ नरहेको जिकिर गरेको छ।

नेपालभ्युज

भारतको सहयोगमा मुस्ताङमा खोल्न लागिएको बौद्ध कलेज विवादमा

काठमाडौं। नेपाल सरकारले परम्परागत बौद्ध दर्शन पढाउन भन्दै  मुस्ताङमा खोल्न अनुमति दिएको ‘मुस्ताङ बौद्ध कलेज’ विवादमा परेको छ ।

विदेशीलाई हिँडडुल गर्न निषेध गरेको क्षेत्र नजिक फल्याक क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेपछि विवादमा परेको हो । कलेज ‘मुस्ताङ शाक्या बौद्ध संघ’ ले बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका ५ मा बनाउन लागेको हो।

तिब्बती खम्पाले माथिल्लो मुस्ताङमा चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेका थिए । त्यही नजिकै संवेदनशील मानिने फल्याक क्षेत्रमा अहिले कलेज बनाउन लागिएको छ। त्यही क्षेत्रमा कलेज खोल्न भन्दै भारत सरकारले ७० करोड ३३ लाख नेपाली रुपैयाँ अनुदान दिँदैछ। पुरा मुस्ताङको जनसङ्ख्या १४ हजार हाराहारी छ।

माथिल्लो मुस्ताङमा पर्ने फल्याक क्षेत्रमा अत्यन्तै थोरै बस्ती छन् । न्यून मानिसको बसोबास छ । तर सोही क्षेत्रमा कलेज बनाउन भन्दै सरकार अग्रसर हुनुलाई आशंकाको दृष्टिले हेरिएको छ। मूलतः तिब्बती शरणार्थीका लागि कलेज सञ्चालन गर्न लागिएको हुनसक्ने कतिपयको आशंका छ ।

एमाले अध्यक्ष ओलीकाे अभिव्यक्तिको सरकारद्वारा खण्डन

‘तिब्बती र अन्य विदेशी विद्यार्थी जम्मा गर्ने परियोजना’ हुनसक्ने भन्दै उत्तरी छिमेकी राष्ट्र चीनले समेत चासो राखेको छ ।

कतिपयले भने विशुद्ध बौद्ध शिक्षा अध्ययन गराउने पवित्र उद्देश्यले स्थापना गर्न खोजिएको दाबी गरेका छन् । निर्माण पक्षले भने परियोजनामा भारत सरकारको सहयोग हुने भए पनि कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थ नरहेको जिकिर गरेको छ।

वारागुङ मुक्ति क्षेत्रको प्रस्टोक्ति- ‘फल्याक’ गाउँ निषेधित र खम्पा विद्रोहीको क्षेत्र होइन

उनीहरूले परम्परागत बौद्ध दर्शन पढाउने कलेज नजिक नहुँदा उच्च शिक्षा हाँसिल गर्न वञ्चित हुनुपरेको अवस्था ख्याल गर्दै मुस्ताङमै कलेज खोलिएको बताएका छन्।

मुस्ताङ बौद्ध कलेज खोल्न लागिएको उपल्लो मुस्ताङको नक्सा

पालिका भन्छ- सिफारिस मात्र दिएका हौँ

कलेज निर्माणका लागि ‘मुस्ताङ शाक्या बौद्ध संघ’ ले सिफारिस मागेको कारण आफूले दिएको तर आफ्नो संलग्नता नरहेको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ।

पालीका अध्यक्ष रिङजीन नामगेल गुरुङले नेपाल भ्युजसँग भने ‘‘कलेज निर्माणमा हाम्रो कुनै संलग्नता छैन । सामाजिक संस्था ‘मुस्ताङ साक्या बौद्ध संघ’ले खोल्न लागेको हो। यसले कलेजको संरचना बनाउन भन्दै भारत सरकारसँग सहयोग माग्न सिफारिस लिएर गएको हो । हामीले सिफारिस दिएका हौँ।’’

निर्माण पक्षले भने परियोजनामा भारत सरकारको सहयोग हुने भए पनि कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थ नरहेको जिकिर गरेको छ।

कलेज बनाउन बजेटदेखि जग्गासम्म केहीमा पनि गाउँपालिकाको सहयोग नदिएको र आफ्नै खर्च र दानमा बौद्ध संघले जग्गा किनिसकेको उनले बताए।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको पालिका सदरमुकाम कागबेनी, अहिले त्यहीको एक होटेलमा भाडामा कलेज सञ्चालन गरिएको छ। त्यहाँ नजिकै क्षेत्रमा नयाँ भवन बनाउन लागिएको हो।

कूटनैतिक र रणनीतिक स्वार्थनिहित छैन- बौद्ध संघ

मुस्ताङ शाक्या बौद्ध संघले भने त्यहाँ नजिक बैद्धसम्बन्धि उच्च शिक्षा हासिलको लागि कुनै कलेज नभएकाले खोल्न लागेको दाबी गरेको छ।

वारागुङ मुक्तिक्षेत्र –४, कागवेनीस्थित होटेल अन्नपूर्णको भवन ३ वर्षका लागि भाडामा लिई बौद्ध कलेज स्थापना गरेर सञ्चालन गरिरहेको र अब आफ्नै भवन बनाउन पहल भईरहेकाे संघका अध्यक्ष खेन्पो तेन्जिङ साङ्वोले बताए।

खेन्पो तेन्जिङ साङ्वो, अध्यक्ष, मुस्ताङ शाक्या बौद्ध संघ

कलेज कुनै पनि विदेशी विद्यार्थीको अध्ययनलाई लक्षित नगरी मुस्ताङ क्षेत्र र नेपालको जुनसुकै स्थानबाट बौद्ध दर्शन अध्ययन गर्न इच्छुक बौद्ध भिक्षु र भिक्षुणी विद्यार्थीका लागि लक्षित रहेको उनले बताए।

उनले नेपालभ्यूजसँग भने ‘‘अहिले कलेजको भवन निर्माणस्थल वारागुङ मुक्तिक्षेत्र –५ फल्याक गाउँ नेपालको प्रतिबन्धित क्षेत्र होइन । यसैले कलेज बनाउन भारतीय राजदूतावासमा सहयोगका लागि प्रस्ताव पठाइयो ।

दूतावास आर्थिक सहयोग गर्न तयार छ । स्थानीय ४–५ जना शिक्षाप्रेमी र धर्मानुरागीबाट व्यक्तिगत जग्गा स्वैच्छिक रूपमा दान लिएका छौँ । अब भवन बनाउने तयारी छ।’’

कलेज दुई वर्ष पहिले नै स्थापित भएको र भवन निर्माणका लागि मात्र केन्द्रित रहेको उनले बताए।

अध्यक्ष खेन्पो तेन्जिङ साङ्वोले भने ‘‘यस परियोजनामा भारत सरकारको कुनै पनि कूटनैतिक र रणनीतिक स्वार्थनिहित छैन। अहिले मुस्ताङमा बौद्ध दर्शन पढाउने छ, सातवटा विद्यालय छन् । हरेक विद्यालयमा ८० देखि ९० जना विद्यार्थी छन्। हरेक वर्ष तीस चालिस जना विद्यार्थी कलेज पढ्ने हुन्छन् । कलेज पढ्न काठमाडौं कि भारत जानुपर्छ। यसैले उनीहरूलाई गाउँमै परम्परागत बौद्ध दर्शन पढाउन कलेजको भवन बनाउन लागेका हौँ।’’

‘मुस्ताङ साक्या बौद्ध संघ’ले भन्यो- उच्च शिक्षाको लागि भारत जान बाध्य भएपछि गाउँमै कलेज

अहिले भाडाको भवनमा सञ्चालित कलेजमा २८ जना विद्यार्थी छन् । मुस्ताङ शाक्या बौद्ध संघले अनुयायीबाट सहयोग दानको आधारमा, कलेज चलाइरहेको बताएको छ।

कलेज खोलेपछि उपल्लो डोल्पा, डोल्पा, मनाङका समेत विद्यार्थी आउन सक्ने संघका अध्यक्ष खेन्पो तेन्जिङ साङ्वोले बताए।

हरेक वर्ष तीस चालिस जना विद्यार्थी कलेज पढ्ने हुन्छन्। कलेज पढ्न काठमाडौं कि भारत जानुपर्छ। यसैले उनीहरूलाई गाउँमै परम्परागत बौद्ध दर्शन पढाउनको लागि कलेजको भवन बनाउन लागेका हौँ।

चीनविरुद्ध प्रयोग हुने आशंका

बौद्ध संघले कूटनीति विषय नभएको बताए पनि केहीले भने माथिल्लो मुस्ताङजस्तो संवेदनशील क्षेत्रमा विदेशी सहयोगमा परियोजना सञ्चालन गरेर विदेशी विद्यार्थीसमेत जम्मा गर्दा नेपालको भूराजनीतिमा जटिलता बढाउने तर्क गर्छन्।

सीपी मैनाली, महासचिव, नेकपा माले

नेकपा मालेले महासचिव सीपी मैनाली भन्छन् ‘‘‘सिधै भन्न सकिन्छ : हिन्द–प्रशान्त रणनीति अन्तर्गत रही विभिन्न शक्तिहरू नेपाली भूमिबाट चीनलाई द्वन्द्वमा फसाउन कथित “स्वतन्त्र तिब्बत” अभियानलाई सहयोग पुर्‍याउने गरी विभिन्न कार्य गर्न चाहन्छन्। चीनसँग सिमाना जोडिएको नेपालको उत्तरी संवेदनशील क्षेत्रमा उल्लेखित उद्देश्यका साथ उपरोक्त “मुस्ताङ बौद्ध कलेज” सञ्चालन गर्दा चीनको सुरक्षा चासोमा खलल पुग्ने सच्चाइलाई भूराजनीतिको महत्त्वबारे जानकार नेपाली जनताले सहजै बुझेका छन्।’’

शनिबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपल्लो मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्ने तयारी भएको र विदेशीको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको भन्दै आलोचना गरेका थिए।

सरकारले भने ओलीका अभिव्यक्ति खण्डन गर्दै कुनै विश्वविद्यालय खोल्न अनुमति नदिएको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved