एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको सरकारद्वारा खण्डन

'विश्वविद्यालय खोल्ने कुनै निर्णय भएको छैन'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा सरकारले भारतलाई विश्वविद्यालय खोल्न दिई चीनप्रति गद्दारी गरेको भन्ने अभिव्यक्तिको नेपाल सरकारले खण्डन गरेको छ ।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीको अभिव्यक्तिको सरकारद्वारा खण्डन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुस्ताङमा सरकारले भारतलाई विश्वविद्यालय खोल्न दिई चीनप्रति गद्दारी गरेको भन्ने अभिव्यक्तिको नेपाल सरकारले खण्डन गरेको छ ।

आइतबार सरकारका प्रवक्ता रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै ओलीको उक्त अभिव्यक्तिको खण्डन गरेकी हुन् ।

‘पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।’

भारतको सहयोगमा मुस्ताङमा खोल्न लागिएको बौद्ध कलेज विवादमा

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।’

प्रवक्ता शर्माले प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद रहेको बताएकी छन् । ‘परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन,’ उनले भनेकी छन् ।

मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको उनको जिकिर छ । ‘नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ,’  तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved