स्पेनी प्रधानमन्त्रीद्वारा फेरोभियलको कदमको निन्दा

नेपालभ्युज

स्पेनी प्रधानमन्त्रीद्वारा फेरोभियलको कदमको निन्दा

हेलसिंकी । स्पेनका प्रधानमन्त्रीले शुक्रबार निर्माण कम्पनी फेरोभियलले आफ्नो मुख्यालय नेदरल्यान्ड्समा सार्ने योजनाको निन्दा गर्दै करको आवश्यक हिस्सा तिर्न नचाहेको आरोप लगाएका छन् । स्पेनको सबैभन्दा ठूलो कम्पनीमध्ये एक फेरोभियलको सो निर्णयले मे महिनामा हुन गइरहेको क्षेत्रीय चुनाव र यस वर्षको अन्त्यमा हुने आम चुनाव अघि स्पेनमा ठूलै राजनीतिक तुफान ल्याएको टिप्पणी भएको छ ।

कम्पनीले यस्तो कदमले सस्तो क्रेडिटमा पहुँच दिने र संयुक्त राज्य अमेरिकामा योजनाबद्ध स्टक सूचीकरण अघि इक्विटी लगानीकर्ताहरूलाई थप आकर्षक बनाउने भन्दै यसबाट स्पेन वा अन्य ठाउँमा यसको सञ्चालनलाई कुनै असर नपर्ने जनाएको छ । यद्यपि स्पेनी सरकारले कर्पोरेट आय र लाभांशमा फाइदा लिन फेरोभियलले यस्तो गरेको बताउँदै आएको छ । उता फेरोभियलका अर्बपति अध्यक्ष राफेल डेल पिनोले समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेज र उनको वामपन्थी गठबन्धनको आलोचना गरेका छन् ।

सान्चेजको सरकारले ठूला बैंकहरू र ऊर्जा फर्महरूको ‘असाधारण’ नाफामा बढेको सार्वजनिक कोषमा विन्डफल कर लगाएर केही व्यापारी नेताहरूलाई तर्साएको टिप्पणी हुने गरेको छ ।

करिब २० प्रतिशत फेरोभियलमा नियन्त्रण भएका ६४ वर्षीय डेल पिनो स्पेनका तेस्रो धनी व्यक्ति हुन् । फोब्र्सका अनुसार उनको ४.५ अर्ब डलर सम्पत्ति छ । सन् १९५२ मा म्याड्रिडमा स्थापित, फेरोभियलले लन्डनको हीथ्रो एयरपोर्टसमेत सञ्चालन गर्दछ । यसको टोल रोड डिभिजनले अष्ट्रेलिया, क्यानडा र संयुक्त राज्य अमेरिकामा विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved