ए डिभिजन लिग फुटबल आजदेखि, कस्तो छ त क्लबहरूको तयारी ?

नेपालभ्युज

ए डिभिजन लिग फुटबल आजदेखि, कस्तो छ त क्लबहरूको तयारी ?

काठमाडौं। शुक्रबारदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिग प्रतियोगिताको उद्घाटन खेलमा खुमल्टार यूथ क्लब र फ्रेण्ड्स क्लब आमनेसामने हुनेछन्। दशरथ रङ्गशालामा हुने खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा क्लबहरूको तयारी  यस्तो  छ।

चर्च ब्वाईज यूनाईटेड


प्रशिक्षक प्रदिप हुमागाईंले आफ्नो टोलीका लिगको लागि तयार रहेको जानकारी गराए। ‘ हामी पहिलो खेलको लागि तयार छौँ। नयाँ तथा अनुभवी खेलाडीहरुबीचको संयोजन राम्रो देखिएको छ ’, प्रशिक्षक हुमागाईंले भने।

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहेका हुमागाईंले क्लबस्तरको प्रशिक्षणमा सुधार आएको बताए।

‘नेपालका अधिकांश क्लबले आधुनिक र वैज्ञानिक प्रशिक्षण शैली अपनाईरहेको छ। यसले लिगलाई थप प्रतिस्पर्धात्मक भएको महशुश भएको छ’ प्रशिक्षक हुमागाईंले बताए।

कप्तान अन्नत तामाङले भने, ‘हाम्रो टोली करिब ७० प्रतिशत युवा खेलाडीले भरिपूर्ण छ। विगत २ महिनाको तयारीमा टोलीको स्वरुप बलियो भएको छ।’

राष्ट्रिय टोलीका डिफेन्डरसमेत रहेका अन्नतले टोलीले उत्कृष्ट ४ मा पर्नको लागि खेल्ने बताए।

खुमल्टार यूथ क्लब

ए डिभिजन लिगमा डेब्यू गर्न लागेको खुमल्टार युथ क्लब पनि लिगको लागि तयार भएको छ। खुमल्टारको कार्यकारी निर्देशक विदुर श्रेष्ठले भने, ‘ए डिभिजनको लागि हाम्रो टोली नयाँ भएपनि उपाधि जित्नको लागि नै खेल्नेछौँ।’

‘बी डिभिजन लिगमा खेल्दा जोश मात्रले पनि पुग्छ जस्तो लागथ्यो। तर, ए डिभिजनमा भने ठुलो बजेट आवश्यक पर्ने रहेछ। तथापि, टोलीलाई स्तरिय प्रशिक्षण, डाईट, खानेबस्ने गुणस्तरिया सेवा प्रदान गर्दै आएका छौँ।’, श्रेष्ठले बताए।

कप्तान रोजिन सुब्बाले भने, ‘युवा तथा विदेशी खेलाडीको बाक्लो सहभागीता छ। कसरी हुन्छ जितको लागि नै खेल्ने लक्ष्य लिएर अगाडि बढि रहेका छौँ।’

फ्रेन्ड्स क्लब


फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जेन श्रेष्ठले टोलीमा प्रयोग गर्दै सुधार ल्याइरहेको जानकारी गराए। ‘टोलीले पहिलो खेलमा सोचेजस्तो प्रस्तुति नदिए पनि, मनाङ मस्र्याङ्दीसँगको खेलमा भने सुधार देखियो। हाम्रो टोलीमा अनुभवी खेलाडी बलियो पक्ष हो’, श्रेष्ठले बताए ।

कप्तान प्रकाश बुडाथोकीले भने, ‘तयारी राम्रो भइरहेको छ। रणनीतिअनुरुप नतिजा आइरहेको छ। भोलिको खेलको लागि तयार छौँ।’ यो प्रकाशको लगातारको इन्ज्यूरीपश्चातको पहिलो लिग पनि हो।

एपीएफ


एपीएफका प्रशिक्षक रत्न महर्जनले टोलीले सुधार गरिरहेको जानकारी गराएका छन्।

‘हामीले च्याम्पियन बन्ने तयारी गरेका छौँ। सन्तुलित टोली निर्माण भएको छ। फिनिसिङमा देखिरहेको सानो समस्याहरुमा सुधार गर्ने क्रममा छौँ।’, प्रशिक्षक महर्जनले बताए।

लिगमा उत्कृष्ट ३ मा पुग्ने लक्ष्यसहित अगाडि तयारी भएको महर्जनले बताए।

शंकटा क्लब


विगत ४५ दिनको तयारी फलदायिक रहेको शंकटाको प्रशिक्षक सल्यान खड्गीले जानकारी गराए।

‘अहिले सम्मको तयारी राम्रो भएको छ। आफ्नै रणनीतिले अघि बढिरहेका छौँ। हाम्रो खेल्ने शैलीलाई हेर्न भने मैदानमा आइदिनस आग्रह गर्दछु।’, खड्गीले बताए।

कप्तान सुनिल बल भने, ‘टोलीले विगतको खेलहरुमा सोचे जस्तो प्रस्तुति गर्न नसके पनि सिक्दैँ बुझ्दैँ अघि बढिरहेको छ।’

सुनिलले उपाधि जित्नको लागि खेल्न नै टोली तयार रहेको जानकारी गराए।

नेपाल पुलिस क्लब

विगतमा जस्तो बलियो टोली नभए पनि अहिले युवा खेलाडीको साथ नयाँ टोली निर्माण गरेको प्रशिक्षक चेतन घिमिरेले जानकारी गराए।

पहिलो पटक प्रशिक्षकको जिम्मेवारी सम्हालेको चेतनले भने, ‘टोलीमा युवा खेलाडी भएपनि रणनैतिक हिसाबले बलियो बनाएर लैजादैँछौँ।’

युवा खेलाडीबीचको सहकार्यले सकारात्मक नतिजा दिइरहेको कप्तान राम चन्द्र वाजीले बताए।

सातदोबाटो युथ क्लब


सातदोबाटो युथ क्लबका प्रशिक्षक सनोज श्रेष्ठले टोली सहि दिशामा अघि बढि रहेको जनाएका छन्।

‘सम्रगमा हाम्रो टोली सन्तुलित छ। खेलाडीहरुले गर्ने सानो गल्तीहरुलाई भने सुधार गर्नु पर्ने अवाश्यकता देखिएको छ। उत्कृष्ट ४ मा पुग्ने लक्ष्य रहेको छ।’, प्रशिक्षक श्रेष्ठले बताए।

खेलाडीहरुले आफ्नो शतप्रतिशत दिएर तयारी गरिरहेकोे कप्तान सुदीप गुरुङले बताए।

त्रिभुवन आर्मी फुटबल क्लब


सहायक प्रशिक्षक राजु तामाङले खेलाडी लिगको लागि तयार रहेको जानकारी गराए।

तामाङले भने, ‘पछिल्लो प्रस्तुति हेर्दा टोली राम्रो लयमा देखिएको छ। खेलाडीको मनोबल उच्च छ। च्याम्पियनको दाबेदारको रुपमा नै खेल्नेछौँ। ’

कप्तान भरत खवासले पनि सबै खेलाडी खेल्नको लागि स्वस्थ भएको बताए। ‘अधिकांश खेलाडी मानसिक र शारीरिक रुपमा स्वस्थ छन्। प्रतिस्पर्धाको लागि तयार छौँ।’, खवासले बताए।

विगतको लिगमा भएको कमीकमजोरीलाई सुधार्दै प्रस्तुत हुने आर्मीको योजना रहेको छ। साथै अनुभवी खेलाडीको अभावमा पनि विदेशी खेलाडीको विकल्पमा नेपली युवालाई अवसर दिने हेतुले आर्मी अघि बढेको कप्तान खवासले बताए।

न्यू रोड टीम (एनआरटी)


एनआरटीका सहायक प्रशिक्षक राकेश लामाले युवा औशतमा २०–२५ वर्षको उमेर समुहको खेलाडीको जमातले तयारी बलियो देखिएको जानकारी गराए।

उनले टोलीमा क्यामेरुनबाट ३ र २ भारतीय खेलाडी पनि समावेश भएको जानकारी गराएका छन्। एनआरटी पनि लिगमा उत्कृष्ट ३ मा को लागि भिड्ने योजनामा रहेको छ।

जावलाखेल यूथ क्लब

टोलीको तयारी राम्रो भइरहे पनि विदेशी तथा स्वदेशी खेलाडीबीचको टीमवर्कमा काम गर्नु पर्ने देखिएको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले जानकारी गराए।

जावलाखेलले विगतको लिगमा जितिसकेको खेल पनि हारेको जस्तो अवस्था फेरि नदोहोरिने पनि दाबी गरे।

मनाङ मस्र्याङ्दी क्लब


मनाङ मस्र्याङ्दीका प्रशिक्षक किरण श्रेष्ठले टोली सुधारउन्मुख रहेको जानकारी गराए।

‘पोखरामा भएको बन्द प्रशिक्षणबाट प्रदर्शनमा सुधार आएको छ। लिगमा प्रतिस्पर्धा गर्नको लागि टोली तयार छ। खेलाडीहरुमा जित्ने मनोसय आइसकेको छ’, प्रशिक्षक राईले बताए।

मनाङ स्टार प्लेयरको कमी भएपनि नयाँ खेलाडीको साथ अघि लिने शैली अपनाईरहेको प्रशिक्षक श्रेष्ठले बताए। टोलीले उत्कृष्ट ४ मा पुग्दै विजेता हुने लक्ष्य लिएको छ।

कप्तान दीप कार्कीले भने टोलीलाई मिलाएर अघि लैजाने प्रयास गरिरहेको बताए। उनले भने, ‘कप्तानको जिम्मेवारीले केहि दबाब भएपनि यसलाई सामान्य रुपमा लिएको छु। टोलीमा सबै खेलाडीलाई मिलाएर अगाडि बढाइ रहेको छु ।’

थ्री स्टार क्लब

विगत एकमहिनमा टोलीको युवा खेलाडीलाई केन्द्रित गरेर तयारी गरिरहेको र उपाधि पछ्याउने दौडमा रहेको थ्री स्टारका एक प्रतिनिधिले बताए।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved