‘राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेल नै हुन्’

अन्तत: नेपाली कांग्रेसको ढोक्सामा माछा परेको छ; उसले राष्ट्रपति पाएको छ । 

नेपालभ्युज

‘राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेल नै हुन्’

काठमाडौं । अन्तत: नेपाली कांग्रेसको ढोक्सामा माछा परेको छ; उसले राष्ट्रपति पाएको छ ।

फागुन १२ गते बनेको नयाँ गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अब कांग्रेसले उम्मेदवारी दर्ता गराउनेछ । राष्ट्रपतिका उम्मेदवार टुङ्ग्याउने कार्यसूचीसहित कार्यसम्पादन समितिको बैठक बस्दैछ । उक्त बैठकले आधिकारिक उम्मेदवारको नाम टुङ्ग्याउने कांग्रेस नेताहरूले बताएका छन् ।

यद्यपि कांग्रेस नेताहरू राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल नै भएको बताउँछन् । उनको नाम ‘निश्चितजस्तै’ भएको उनीहरूको भनाइ छ ।

कांग्रेसका एक पदाधिकारीले नेपालभ्यूजसँग भने, ‘अरुजनाको पनि दाबी त छ । तर, स्वाभाविक उम्मेदवारचाहिँ रामचन्द्र दाइ नै हुनुहुन्छ ।’

त्यसो त राष्ट्रपतिमा रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला, गोपालमान श्रेष्ठलगायतका नेताहरूको पनि दाबी छ । त्यसमा मानबहादुर विश्वकर्मालगायतका नेताहरू पनि दाबी गर्नेहरूमा जोडिएका छन् । तर, सभापति शेरबहादुर देउवाले पनि रामचन्द्रलाई नै बनाउन खोजेको ती पदाधिकारी बताउँछन् ।

उसो त खासगरी संस्थापनइतर समूहले भने शेरबहादुर देउवालाई नै राष्ट्रपति बनाउनुपर्ने जोड गरेको थियो । तर, त्यसलाई सभापति देउवाले सहजरूपमा लिएका छन् । ‘उहाँ (शेरबहादुर देउवा) को नाम पनि साथीहरूले लिनुभएको थियो । तर, उहाँ जाने कुराचाहिँ सत्य होइन । तर, रामचन्द्र दाइको नामचाहिँ टुङ्गिएजस्तै हो,’ उनले भनेका छन् ।

नेता मीनबहादुर विश्वकर्मा पनि उम्मेदवारको सशक्त उम्मेदवार रामचन्द्र पौडेल नै रहेको खुलस्त बताउँछन् । ‘अरुको पनि दाबी त ५ । तर, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ,’ उनले भने ।

सहज अंकगणित

सत्तारूढ दल माओवादी केन्द्रसहितका दलको समर्थन पाएपछि राष्ट्रपतिको चुनावमा कांग्रेसको जित पक्काप्राय: छ ।

संघीय र प्रदेश सभाका सांसदको मतदानबाट राष्ट्रपति हुन कूल ५२ हजार ६२८ मत भारमा ५० प्रतिशत बढी अर्थात् २६ हजार ३१५ मतभार पुर्‍याउनुपर्छ ।

कांग्रेससँग १६ हजार १४२, माओवादीसँग ७ हजार ७४५, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादीसँग २ हजार १४५ मतभार छ । यस्तै पौडेललाई जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाको पनि समर्थन रहनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved